नेप्से परिसूचक तीन महिना यताकै उच्च अंकमा, ८२ करोडको सेयर कारोबार
काठमाडौं । बुधबारको नेप्से परिसूचक तीन महिना यताकै उच्च अंकमा पुगेको छ । सो दिन नेप्से ४.९९ अंकले बढेर १२१७.०४ अंकमा पुगेको छ । गत पुस ११ गते बुधबार नेप्से १२१६ अंकमा रहेको थियो । त्यसपछि उतारचढाव स्थितिमा देखिएको नेप्से आज(बैशाख ४ गते) सो भन्दा एक अंकले बढेर उच्च अंकमा पुगेको छ । त्यस्तै, कारोबार रकममा पनि उल्लेख्य सुधार भइरहेको छ । बुधबारको बजारमा कूल ८२ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब ८ करोड रुपैयाँ बढी हो । मंगलबारको बजारमा नेप्से ७४ करोड २७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बजारमा स्थायी लेखा नम्बर(प्यान) लागु भएदेखि सेयर कारोबारमा वृद्धि भइरहेको छ । साथै, नयाँ वर्ष लागेसँगै सेयर बजारले पनि नयाँ गति लिँदै गइरहेको छ । बुधबार पनि मंगलबारको जस्तै वाणिज्य बैंकको बढी कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी एनएमबि बैंकको ७ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मंगलबार अधिकांश वाणिज्य बैंकको बढी कारोबार, १५२ कम्पनीको सेयर मूल्य वृद्धि
मंगलबार कारोबार बढी भएका १० कम्पनीहरु काठमाडौं । मंगलबारको बजारमा अधिकांश वाणिज्य बैंकहरुको बढी सेयर कारोबार भएको छ । सो दिन उल्लेख्य कारोबार गर्ने १० कम्पनीहरु मध्ये ८ वटा वाणिज्य बैंक देखिएका छन् । सो दिन एनएमबि, एनआईसी एशिया, प्रभु, सिभिल, नेपाल, कुमारी, नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) र प्राइम कमर्सियल बैंकको बढी कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी एनएमबि बैंकको ६ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार बैंकको सेयर मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ रहेको छ । एनआईसी एशियाको ४ करोड ९८ लाख, प्रभुको ४ करोड ५८ लाख, सिभिलको ३ करोड ३२ लाख र नेपाल बैंकको ३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य क्रमशः ४९५, २६३, १६८ र २९९ रुपैयाँ रहेको छ । त्यस्तै, कुमारी बैंकको २ करोड ७५ लाख, एनसीसीको २ करोड ३० लाख र प्राइम कमर्सियल बैंकको एक करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार कुमारी बैंकको प्रतिकित्ता २६०, एनसीसीको २२९ र प्राइमको प्रतिकित्ता ३३९ रुपैयाँ रहेको छ । बजारमा तरलताको समस्या कम हुँदै गएको र बैंकको ब्याजदर घटिरहेकोले सेयर वाणिज्य बैंकको बढी कारोबार भएको हो । त्यस्तै, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको रिपोर्ट अनुसार कम्पनीहरुको प्रतिसेयर आम्दानी पनि बढ्दै गएकाले त्यसको असर सेयर बजारमा देखिएको हो । सो दिन बजारमा कुल १७० कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी १८ कम्पनीको मूल्यमा गिरावट देखिएको छ । सबैभन्दा बढी श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६.६७ प्रतिशतले बढेको छ । यूनिभर्सल पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३.२२ प्रतिशतले घटेको छ । जसको सेयर मूल्य अंकित मूल्य भन्दा तल घटेको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९० रुपैयाँ रहेको छ ।
सेयर बजारमा प्यानको त्रास हट्यो, लागू भएको दोश्रो दिनमै उच्च कारोबार
काठमाडौं । सेयर बजारमा स्थायी लेखा नम्बर (प्यान) लागू भएको दोश्रो दिन उच्च रकमको कारोबार भएको छ । मंगलबारको बजारमा कूल ७४ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसले प्यान सम्बन्धी लगानीकर्तामा देखिएको डर/त्रास घटेको छ । सोमबारको तुलनामा मंगलबार मात्रै ४३ करोड ८२ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सोमबार जम्मा ३० करोड रुपैयाँ कारोबार भएको थियो । कारोबारको साथ साथै नेप्से परिसूचकमा पनि उच्च वृद्धि देखिएको छ । परिसूचक २३.३३ अंकले बढेर १२१२.०५ अंकमा पुगेको छ । जुन सोमबारको तुलनामा १.९६ प्रतिशत बढी हो । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले मंगलबारकाे सेयर बजारमा उल्लेख्य वृद्धि हुनुले लगानीकर्तामा प्यानप्रति जति डर जति थियो त्यो अब हट्ने बताएका छन् । साथै, बजारमा तरलताको समस्या कम हुँदै गएको र बैंक ब्याजदर घटिरहेकोले सेयर बजार बढेको उनले जनाए । त्यस्तै, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको कमाइ र कम्पनीहरुको प्रतिसेयर आम्दानी बढ्दै गएकाले नेप्सेमा थप सुधार हुने अध्यक्ष रौनियारले बताए । त्यसैगरी, मंगलबार कारोबारमा आएका सबै समूहहरु हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ८० अंकले उकालो लागेको छ । त्यस्तै, जलविद्युत्, उत्पादनमूलक र अन्य समूह सामान्य अंकले उकालो लागेका छन् भने बाँकी समूह दोहोरो अंकले बढेका छन् ।