तिनाउ विकास बैंक जेठ १७ गते विशेष साधारणसभा बस्दै

काठमाडौं । तिनाउ विकास बैंक लिमिटेड आगामी जेठ १७  गते विशेष साधारणसभा बस्दै छ । वैशाख ३० गते बिहान बसेको विकास बैंकको संचालक समितिको बैठकले उक्त दिन विशेष साधारणसभा गर्ने निणर्य गरेको हो । उक्त सभा सो दिन बिहान ८ बजे रुपन्देहीस्थित कालिकानगरको क्लब डेनोभो प्रा.लिको सभा हलमा बस्ने छ । बुटवलमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हाल ४६ करोड रुपैयाँ बराबर चुक्ता पुँजी रहेको छ । पछिल्लो समय संस्थाको सेयर मूल्य प्रतिकित्ता १६६ रुपैयाँ रहेको छ ।

शिवम् सिमेन्टसले कमायाे एक अर्ब नाफा, गत वर्षको भन्दा १३ प्रतिशत बढी

काठमाडौं । शिवम् सिमेन्टस् कम्पनीले चालु आवको ९ महिनामा एक अर्ब पाँच करोड रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तुलनामा १३.०६ प्रतिशत बढी हो । कम्पनीले गत आवको सोही अवधिमा कूल ९३ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । त्यस्तै, सेयर प्रिमियम ९४ करोड रुपैयाँ र रिर्टेन्ड अर्निङ ३ अर्ब ४४ रुपैयाँ रहेको छ । चैत मसान्तसम्म कम्पनीले ८ अर्ब ३७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन पुस मसान्तको तुलनामा ३ अर्ब रुपैयाँले बढी हो । त्यस्तै, बिक्री लागत ५ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३२.०९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११९.८८ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर कूल सम्पत्तिको मूल्य ३०२.८७ रुपैयाँ र तरलता अनुपात १.७४ रहेको छ ।

जनसेवी र स्वाभिमान लघुवित्तको आइपीओ खुला, कति कित्ता भर्न पाइने ?

काठमाडौं । जनसेवी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण शेयर(आइपीओ) आजदेखि खुल्ला भएको छ । जनसेवीको ४ करोड ६३ लाख ३० हजार रुपैंया बराबरका ४ लाख ६३ हजार ३०० कित्ता शेयर  खुला भएको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । उक्त शेयरमध्ये ५ प्रतिशतले हुने २३ हजार १६५ कित्ता शेयर म्युचुअल फण्ड र ७ हजार १४५ कित्ता कर्मचारीलाई वितरण गरी बाँकी ४ लाख ३२ हजार ९९० कित्ता शेयर सर्वसाधारणका लागि खुला हुने भएको हो । उक्त शेयरका लागि न्यूनतम १० देखि अधिकतम १००० कित्ताका लागि आवेदन दिन सकिन्छ । सर्बसाधारणलाई वितरण हुने शेयर कुल ४३ हजार २९९ जनाले १०-१० कित्ता शेयर प्राप्त गर्नेछन् । यसैगरी, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको एक लाख ९८ हजार ६१० कित्ता शेयर खुला भएको छ । सर्वसाधारण शेयर (आईपिओ) मध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९३० कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याएको जनाएको छ । बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणले आवदन गर्न सक्ने सक्नेछन् । आईपिओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्ने सकिने सिद्धार्थ क्यापिटलले जनाएको छ । बैशाख २७ गतेदेखि ३१ गतेसम्म दुबै लघुवित्तको शेयर आवेदन दिन सकिने जनाइएको छ ।