इमाडोलमा श्री इन्भेष्टमेन्टको १२ औँ शाखा बिस्तार

काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं. लिमिटेडले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्वर ४ इमाडोलमा बाह्रौं शाखा सञ्चालनमा ल्याएको छ । देशभरीका विभिन्न १२ स्थानबाट बैकिङ्ग सुविधा प्रदान गरिरहेको कम्पनीले काठमाडौंमा १ स्थानबाट बैकिङ्ग सुविधा दिने तयारी भइरहेको जनाएको छ । हाल कम्पनीको चुक्तापूँजी रु. ८१ करोड, निक्षेप ४ अर्व ३५ करोड तथा कर्जा लगानी करिव ४ अर्ब रहेको कम्पनीले जनाएको छ ।

रिलायन्सले ६३ लाख कित्ता आइपीओ निष्काशन गर्ने, सानिमा क्यापिटल बिक्री प्रवन्धकमा नियुक्त

काठमाडौँ । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले साधारण शेयर(आइपीओ) निष्काशनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । रु.१००/– दरको ६३ लाख कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमालाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशी र रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

घान्द्रुकमा पोखरा फाइनान्स लिमिटेडको एक्सटेन्सन काउन्टर सञ्चालन

काठमाडौँ । कास्कीको पर्यटकीयस्थल घान्द्रुकमा पोखरा फाइनान्स लिमिटेडले आजदेखि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।पदयात्रा पर्यटन एवं हिमाली दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा परेको घान्द्रुकमा पर्यटक, स्थानीयवासी एवं पर्यटन व्यवसायीलाई लक्षित गरी काउन्टर सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिए । हालसम्म १९ वटा शाखा सञ्चालनमा ल्याएको संस्थाको निक्षेप सङ्कलन पाँच अर्ब ९५ करोड रहेको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार चाँडै नै काठमाडौँको गोंगबु र ललितपुरको मानभवनमा दुई वटा शाखा थप गर्न लागेको सो फाइनान्सको चुक्ता पूँजी रु ८५ करोड ७२ लाख रहेको छ । फाइनान्सको कर्जा प्रवाह रु पाँच अर्ब ४५ करोड रहेको उनले जानकारी दिए । काउन्टर उद्घाटन कार्यक्रममा घान्द्रुक रोधी क्लबका अध्यक्ष पूर्णप्रसाद गुरुङ, अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना घान्द्रुकका कार्यालय प्रमुख विदुर कुइँकेल, मेश्रम बराह माध्यमिक विद्यालयका प्रधानाध्यापक रामेश्वर सुवेदी लगायतले काउन्टर सञ्चालनसँगै स्थानीय पर्यटन व्यवसायी एवं पर्यटक लाभान्वित बन्ने विश्वास व्यक्त गरे ।