२ अर्ब ९२ करोड लगानी गर्दै राष्ट्र बैंक : प्रस्ताव पठाउन बैंक तथा वित्तीय संस्थालाई आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ९२ करोड विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा राख्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभागले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका लागि कुल  अर्ब ९२ करोड बराबरको लगानी प्रस्ताव खुला गरेको हो ।  उक्त प्रस्ताव अन्तर्गत, वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक, तथा राष्ट्रियस्तरका वित्त कम्पनीहरूले तोकिएको रकमको लागि प्रतिष्पर्धात्मक प्रश्ताव पेश गर्न सक्नेछन् । राष्ट्र बैंकले लगानीका लागि  'क' वर्गका वाणिज्य बैंकलाई २ अर्ब ३४ करोड तोकेको छ भने  'ख' वर्गका राष्ट्रियस्तरका विकास बैंक ४३ करोड ६७ लाख र  “ग” वर्गका राष्ट्रियस्तरका वित्त कम्पनी १४ करोड ६२ लाख मुद्दति निक्षेपका रुपमा लिन सक्नेछन् ।  लगानी प्रस्तावका शर्तहरू समेत राष्ट्र बैंकले तोकेको छ । बैंक तथा वित्तीय संस्थाहरूका लागि तोकिएका त्यस्ता सर्तहरुमा प्रस्ताव पेश गर्न चाहने बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको वेबसाइटमा प्रकाशित सूचना तथा यसमा उल्लेख गरिएका सम्पूर्ण शर्तहरू पूरा गर्नुपर्ने उल्लेख छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको कायम पूँजी न्यूनतम पूँजीको अनुपात  बर्फरसहित कायम गरिएको हुनुपर्ने, निष्क्रिय कर्जा (एन.पी.एल) अनुपात ८ प्रतिशत र खुद निष्कृय कर्जा (खुद एन.पी.एल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ । खुद तरल सम्पति अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, कर्जा निक्षेपको अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसावअनुसार खुद मुनाफामा रहेको, बैंक तथा वित्तीय संस्था शिघ्र सुधारात्मक कारवाहीमा परेको भए यस्तो कारवाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ (ख) बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएको भए यस्तो कारवाही फुकुवा भएको ६ महिना अवधि पूरा भएको, सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको हुनुपर्नेछ ।  राष्ट्र बैंककाअनुसार साउन ११ गतेसम्म विभिन्न कोषहरूमा उपलब्ध रकमलाई राष्ट्र बैंकले लगानी गर्न चाहेको हो । प्रस्ताव पेश गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको ढाँचामा आवश्यक विवरणहरू भरेर इमेलमार्फत पठाउनु पर्नेछ ।  राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार प्रस्ताव पेश गर्ने अन्तिम म्याद साउन १५ गते राति १२ बजेसम्मलाई तोकिएको छ । यो लगानी सन् २०२५ अगस्ट ११ देखि २०२६ अगस्ट ११ सम्म ३६६ दिनका लागि हुनेछ ।

फोनपे र सामाजिक सुरक्षा कोषबीच सम्झौता, विदेशबाटै मोबाइल बैंकिङमार्फत् योगदान गर्न सकिने

काठमाडौं । अब विदेशमा रहेका नेपाली श्रमिकले पनि मोबाइल बैंकिङमार्फत सामाजिक सुरक्षा कोषमा सजिलै योगदान गर्न सक्ने भएका छन् । डिजिटल भुक्तानी नेटवर्क फोनपे र सामाजिक सुरक्षा कोषबीच प्रवासी श्रमिकलाई लक्षित गर्दै डिजिटल योगदान प्रणाली सञ्चालनका लागि सम्झौता भएको हो । सम्झौतामा फोनपेका प्रमुख सञ्चालन अधिकृत पारस कुँवर र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे। कार्यक्रमका दौरान दुबै संस्थाका उच्च पदाधिकारीहरूको उपस्थिति थियो । फोनपेका सीओओ कुँवरले भने, 'फोनपे नेटवर्कको व्यापक पहुँचले प्रवासी श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सजिलो तरिकाले योगदान गर्न सहयोग पुग्नेछ। यसले रेमिट्यान्स औपचारिक च्यानलबाट पठाउने अभ्यासलाई समेत प्रोत्साहन गर्नेछ ।' यो सेवा हालै फोनपे बिल्स प्लेटफर्ममार्फत सञ्चालनमा आएको छ, जसले नेपालका सबै बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एपमार्फत पहुँचयोग्य भएको छ । यस कदमले प्रवासी श्रमिकहरूको समावेशीकरण मात्र होइन, औपचारिक आर्थिक प्रणालीमा पहुँच पनि विस्तार गर्ने अपेक्षा गरिएको छ ।

सानिमा रिलायन्सको स्टार एजेन्सी मिट सम्पन्न, उत्कृष्ट स्टार एजेन्सीलाई सम्मान

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आव २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूका लागि विशेष कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरिय  प्रोत्साहनको कार्यक्रम  स्टार एजेन्सी मिट २०८२ सम्पन्न  गरेको हो ।  बनेपा, चाबहिल, कौशलटार र पाटन रिजनका अभिकर्तामध्ये प्रथम बिमाशुल्क सङ्कलन, बिमालेख सङ्ख्या र टिम व्यवसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो ।   कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले जीवन बिमा व्यवसायमा बिमा सल्लाहकारहरूको महत्त्व र  अपरिहार्यता माथि प्रकाश पार्दै कार्यक्रमबाट सिकेका कुराहरूलाई व्यवहारमा उतारेर यस वर्ष कम्पनिलाई अझै नयाँ उचाईमा पुर्याउनु पर्ने बताए ।  साथै कम्पनीले आव २०८१/८२ मा रु ७०० करोडको बिमाशुल्क सङ्कलन गर्न सफल भएकोमा  सम्पूर्ण अभिकर्ताहरूलाई धन्यवाद ज्ञापन पनि  गरे।  कम्पनीका प्रमुख व्यवसाय अधिकृतहरूले बोल्दै अभिकर्ताहरूलाई आवश्यक सिप र कलाको बारेमा प्रस्ट परेका थिए ।   कार्यक्रममा क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र  शाखा प्रमुख सहित ७०० भन्दा बढी अभिकर्ताहरूको उपस्थिति रहेको थियो ।    त्यस्तै कौशलटार रिजनका उत्कृष्ट एजेन्सी म्यानेजर नमिता न्यौपाने, चाबहिल रिजनका रणबहादुर तामाङ्ग, बनेपा रिजनका नारायण बहादुर गुरुङ्ग र पाटन रिजनका योगेन्द्र महर्जनले आफूहरू उत्कृष्ट १ मा पर्न गरेको  मेहनतको चर्चा गर्दै यस वर्ष पनि उक्त पदलाई यथावत राख्ने लक्ष्य रहेको र त्यसै अनुरुप योजनासहित काममा परिचालित भएको बताए ।  कार्यक्रम ज्ञानबर्द्धक बनाउनको लागि नेपालका प्रख्यात स्पिकर सुदिप बस्नेतलाई  आमन्त्रित गरिएको थियो ।  उनले बिक्री कलाको लागि अति उपयोगी बानीको आवश्यकता र महत्त्वको बारेमा चर्चा गरेका थिए ।