यातायात व्यवस्था मन्त्रालयद्वारा तीन अर्ब ४७ करोड राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश, श्रम तथा यातायात व्यवस्था मन्त्रालय जनकपुरधामले आर्थिक वर्ष २०८१/८२ मा रु तीन अर्ब ४७ करोड ९३ लाख ३३ हजार ८५९ कुल राजस्व सङ्कलन गरेको छ । सवारीसाधनको नवीकरणलगायत विभिन्न शीर्षकमा मन्त्रालयअन्तर्गतको आठ जिल्लाको कार्यालयबाट उक्त राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २०८१ को साउनदेखि २०८२ को असारसम्ममा सो कार्यालयले चालक अनुमतिपत्र वितरण, नवीकरण, नयाँ सवारीसाधनको दर्ता, सवारीसाधन नवीकरण तथा रुटपरमिट, नामसारी र पटकेकरलगायत विभिन्न शीर्षकबाट सो राजस्व सङ्कलन भएको जनाइएको छ । सो मन्त्रालयअन्तर्गत यातायात व्यवस्था कार्यालय राजविराजबाट रु ११ करोड ७५ लाख ९२ हजार ६६४, यातायात व्यवस्था कार्यालय लहानबाट रु ४९ करोड ७५ लाख ९७ हजार ७७७, यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट रु ६६ करोड ४३ लाख ९८०, यातायात व्यवस्था कार्यालय बर्दिबास कार्यालयबाट रु २६ करोड ५१ लाख ५७ हजार राजस्व सङ्कलन भएको विवरणमा उल्लेख गरिएको छ । त्यस्तै यातायात व्यवस्थाका कार्यालय मलङ्गवाबाट रु ११ करोड ९४ लाख ४६ हजार १८६, यातायात व्यवस्था कार्यालय गौरबाट रु आठ करोड ९१ लाख ७० हजार ३६४, यातायात व्यवस्थाका कार्यालय कलैयाबाट रु नौ करोड ९३ लाख ८४ हजार ४१६ तथा यातायात व्यवस्था कार्यालय वीरगञ्जबाट रु एक अर्ब ६२ करोड ४० लाख ४१ हजार ३८४ राजस्व सङ्कलन भएको छ । श्रम तथा यातायात व्यवस्थामन्त्री कौशलकिशोर रायले यातायतको विभिन्न शीर्षकमा लाग्ने करको जरिवानामा शतप्रतिशत यस वर्ष छुटको व्यवस्था भएको तथा कार्यालयहरुबाट विद्युत् समस्या हटाउनका लागि सोलार सिस्टम जडान गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउनेतर्फ जोड दिएको बताए। गत आवमा मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालयले सवारीसाधनको करको जरिवानामा लाग्ने शुल्कलाई शतप्रतिशत छुट दिने व्यवस्था गरेको तथा सो व्यवस्था आउँदो मङ्सिर १७ गतेसम्म कायम रहने बताउँदै मधेस प्रदेश सरकारको सबैभन्दा बढी आम्दानीको स्रोत आफ्नो मन्त्रालय रहेको मन्त्री रायको भनाइ थियो । मधेस प्रदेशको सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ मा छुटसम्बन्धी व्यवस्था गत मङ्सिर १९ गते मधेस प्रदेशको राजपत्रमा समेत प्रकाशित सो कार्यालयले जनाएको छ । सोे ऐनअन्तर्गत सवारीसाधनको करमा लाग्ने जरिवानामा शतप्रतिशत छुट दिने व्यवस्था भएको हो । उक्त ऐनले सवारीसाधनको एकमुष्ट १५ वर्षका लागि नवीकरण गराउने व्यवस्थासमेत भएको तथा त्यसका लागि सवारीसाधनको मूल्यको पाँच प्रतिशत शुल्क लाग्ने व्यवस्था रहेको छ । कार्यालय सञ्चालन, व्यवस्थापन तथा ऐनमा देखिएको समस्या तथा समाधानका विषयमा सो अवधिमा छलफलसमेत भएको मन्त्रीले जानकारी दिए। उक्त अवधिमा मन्त्रालयको चालु खर्च ४८ प्रतिशत तथा पुँजीगत खर्च ३४.४१ प्रतिशत रहेको छ । रासस

एनआईसी एशिया बैंकका ग्राहकलाई 'लेट मेइन' मा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरू अब कोरियन स्किन हस्पिटल 'लेट मेइन' मा विभिन्न सेवा तथा उत्पादनमा छुट सुविधा पाउने भएका छन् । बैंक र लेट मेइनबीच काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्ज तथा पोखराको चिप्लेढुंगामा सञ्चालित स्किन हस्पिटलका लागि सहकार्य सम्झौता भएको हो । सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले लेट मेइनमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशतसम्म छुट पाउनेछन् । यसबाहेक, लेट मेइनमा उपलब्ध कोरियन सौन्दर्य उत्पादनहरूमा ग्राहकहरूले ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाको लाभ लिन ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नु पर्नेछ । बैंकले यो सहकार्यले ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउने मात्र नभई डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास लिएको जनाएको छ । यस विशेष छुट योजनाबाट सौन्दर्य तथा छाला सम्बन्धी सेवा लिने ग्राहकहरू लाभान्वित हुने बैंकको अपेक्षा छ ।

२९१५ बिन्दुमा झर्‍यो नेप्से, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले घटेर २९१५ बिन्दुमा झरेको छ ।  आज ४३ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३१८ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९० करोड रुपेयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्योरेन्सको भएको छ । हिमालयनको १ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको ७१ करोड, हिमालयन डिस्टिलरीको ६८ करोड, शिवभ् सिमेन्टको ६५ करोड र लुम्बिनी विकास बैंकको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक, ट्रेड टावर र नेपाल फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।