प्रभु महालक्ष्मी लाइफको बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई ८ लाख सहयोग

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुढानिलकण्ठ मोडल कम्युनिटी एकेडेमीलाई विद्यालय सञ्चालनका लागि ८ लाख २१ हजार २ सय ५० रुपैयाँ सहयोग प्रदान गरेको छ ।

विद्यालयमा पठनपाठन कार्यलाई सहज बनाउन तथा विद्यार्थीहरूको अध्ययन वातावरण सुधार गर्न आवश्यक फर्निचर सामग्री खरिदका लागि उक्त रकम सहयोग गरिएको कम्पनीले जनाएको छ ।

शुक्रबार बुढानिलकण्ठ मोडल कम्युनिटी एकेडेमीको कार्यालयमा आयोजित कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सञ्चालक समितिका अध्यक्ष सम्झना अर्यालले विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद भट्टलाई ८ लाख २१ हजार २ सय ५० रुपैयाँको चेक हस्तान्तरण गरिन् ।

चेक हस्तान्तरणपछि कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले विशुद्ध सामाजिक कार्य गर्ने संस्थाहरूलाई सहयोग गर्न पाउँदा कम्पनीलाई खुसी लागेको बताइन् । उनले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक क्षेत्रको पहिचान गरी सहयोग तथा सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

त्यसैगरी, प्रधानाध्यापक मोहनप्रसाद भट्टले सामुदायिक विद्यालयका विद्यार्थीहरूको पठनपाठनलाई सहज र स्तरीय बनाउन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गरेको सहयोग उल्लेखनीय रहेको भन्दै धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सञ्चालक समिति सदस्यहरू भावना बलायर, वीरेन्द्रजंग पाण्डे, प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने, ब्रान्डिङ विभाग प्रमुख विनोद घिमिरे तथा बुढानिलकण्ठ मोडल कम्युनिटी एकेडेमीका सहायक प्रधानाध्यापक अनिता लामा, शिक्षकहरू र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।  

Share News