कर्जा सहज बनाउन ग्लोबल आइएमई बैंकले डीएआई–उदय परियोजनासँग सहकार्य गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक र डीएआई–उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरूलाई वित्तीय पहुँचका लागि सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र राज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरेका हुन् । समझदारीपश्चात कोशी प्रदेशमा सञ्चालित विभिन्न साना तथा लघु व्यवसायहरूलाई सहजरूपमा कर्जा प्रवाह हुने र लगानीको अभावले व्यवसाय विस्तार गर्न असमर्थ उद्यम तथा उद्यमीहरूको व्यवसाय विस्तारसँगै रोजगारी वृद्धि हुने विश्वास बैंकले लिएको छ । यस सम्झौताअनुसार डीएआई–उदय परियोजनाले छनौट गरेका उद्यम तथा व्यवसायहरूले ग्लोबल आइएमई बैंकको कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहजरूपमा कर्जा पाउनेछन् । नेपाल सरकार तथा स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलस्वरूप कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरूमा डीएआई–उदय परियोजनाले कार्य गर्दै आइरहेको छ । डीएआई– उदय परियोजनाले कोशी प्रदेशमा नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, आईटी, पर्यटन तथा उत्पादनमूलक उद्योग लगायतका व्यवसायहरूलाई कर्जाको उपलब्धता तथा व्यवसायिक उन्नतिको लागि वित्तीय स्रोतमा सहज वातावरण बनाइरहेको छ । ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।
नेप्से परिसूचक सामान्य अंकले बढ्यो, ३ अर्बको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक एक दशमलव ३७ अंकले बढेर दुई हजार ५८५ दशमलव ८७ को बिन्दुमा कायम भएको हो । बुधबार ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर ६२ हजार ७६८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ दशमलव ४५ को कारोबार भएको छ । बुधबारको कारोबारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी पाँच पाँच दशमलव ३२ प्रतिशतले बढेको छ । सबैभन्दा बढी ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य चार दशमलव २६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा बढी एसवाई प्यालन नेपाल लिमिटेडको रु १४ करोड ४९ लाख ३५ हजार ३८३ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी तेह्रथुम पावर कम्पनी लिमिटेडको दुई लाख ६२ हजार ५८५ कित्ता सेयर खरिदबिक्री भएको छ ।
होटल पार्क ल्याण्डले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौं । होटल पार्क ल्याण्ड लिमिटेडले साधारण सेयर निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओको बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बुधबार डिल्लीबजार, काठमाडौंमा सम्पन्न एक समारोहमा सिटिजन्स क्यापिटल र होटल पार्क ल्याण्डबीच आईपीओ तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो । होटल पार्क ल्याण्ड लिमिटेडका अध्यक्ष शरद कुमार पाण्डे र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त भएपछि सिटिजन्स क्यापिटल लिमिटेडले होटल पार्क ल्याण्डको सार्वजनिक निष्काशन आईपीओको बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ । चितवनको सौराहमा ३२ कट्ठा क्षेत्रफलमा फैलिएको होटल पार्क ल्याण्ड लिमिटेडले विगत १८ वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएको छ । हाल होटलमा ३२ कोठा छन् र गैडाचोकबाट ३५० मिटरको दूरीमा रहेको छ । कम्पनीले छिट्टै आफ्नो क्षमता बृद्धि गरी ४४ कट्ठा क्षेत्रमा १०५ कोठा सहित चारतारे होटलमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।