सानिमा बैंकको क्रेडिट कार्डमा ० प्रतिशत ब्याजदरमा १२ महिनासम्म ईएमआई सुविधा

काठमाडौं । सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताका लागि ० प्रतिशत ब्याजदरमा ईएमआई सुविधा उपलब्ध गराउने उद्देश्यले फिनतारा सोलुसन्स प्रा.लि.सँग सहकार्य गरेको छ ।

बैंकका अनुसार यस सहकार्यअन्तर्गत ग्राहकहरूले फिनतारासँग आबद्ध मर्चेन्ट स्टोरहरूमा सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा अधिकतम १२ महिनासम्म ० प्रतिशत ब्याजमा ईएमआई सुविधा उपभोग गर्न सक्नेछन् ।

यो सुविधा इलेक्ट्रोनिक्स, मोबाइल सेट, ल्यापटप, फर्निचर, माउन्टेन बाइक, घरेलु उपकरणलगायतका सामग्री खरिदमा लागू हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस पहलले उच्च मूल्यका सामग्रीहरूलाई थप सहज र पहुँचयोग्य बनाउँदै ग्राहकहरूलाई बिना ब्याज किस्ताबन्दीमार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।

सानिमा बैंकले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गर्दै डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ । छुटसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको बैंकले उल्लेख गरेको छ ।

हाल सानिमा बैंकले देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share News