दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । दरमखोला हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा गोलाप्रथाद्वारा बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो । कम्पनीको आईपीओमा आवेदन दिने दुई लाख ४२ हजार ३१८ जनाले प्रत्येकलाई १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । तीमध्ये ५ जनाले थप एक कित्ता पाई ११ कित्ता सेयर पाएका छन् । कुल २२ लाख ९६ हजार ४६५ आवेदनमध्ये २२ लाख ८३ हजार २२६ आवेदन सदर भएका छन् भने १३ हजार २३९ आवेदन बदर भएका छन् । कम्पनीले गत साउन १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्काशन गरेको थियो । आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

समृद्धि फाइनान्स चौथो त्रैमासमा ३.१९ करोड नाफामा

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले प्रकाशन गरेको वित्तीय विवरणले सुधारको आशा देखाएको छ । लामो समयदेखि नोक्सानीमा रहेको फाइनान्सले चौथो त्रैमासमा ३.१९ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । यस अवधिमा संस्थाको निक्षेप संकलन १३.७२ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी ९.६२ प्रतिशतले वृद्धि भएको छ । उच्च रुपमा रहेको निष्कृय कर्जा एकल अंकमा ल्याउन सफल भएको । अघिल्लो वर्षको सोही अवधिमा १९.९३ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात यस अवधिमा ९.६६ प्रतिशतमा झरेको छ । प्रति सेयर आम्दानी ३.९० रुपैयाँ रहेको छ । सानो व्यवसाकिय आकारले गर्दा सञ्चालन नोक्सानीमा रहनु एवं उच्च मात्रामा निष्कृय कर्जा रहेकोमा क्रमिक रुपमा व्यवसाय वृद्धि गर्दै संस्था सञ्चालन मुनाफामा लैजाने दृढ अठोट संस्थाले लिएको छ । पोखरा फाइनान्स लि.सँग मर्जर सम्झौता गरेको फाइनान्सले आगामी दिनमा अझ दरिलो, विश्वासिलो एवं सुदृढ फाइनान्सको रुपमा स्थापित भई सेयरधनीलाई उच्चतम लाभांश प्रदान गर्ने अठोट लिएको छ ।

स्वावलम्बन विकास केन्द्रको ३४औं वार्षिकोत्सव सम्पन्न, लघुवित्त क्षेत्रमा उत्कृष्ट योगदानकर्तालाई सम्मान

काठमाडौं । स्वावलम्बन विकास केन्द्रले आफ्नो ३४औं वार्षिकोत्सव काठमाडौंमा एक समारोहबीच सम्पन्न गरेको छ । अध्यक्ष शंकर मान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोर्ड सदस्य, संस्थागत तथा गैर–संस्थागत सदस्यका प्रतिनिधि र विभिन्न सरोकारवालासहित ७७ जना अतिथिहरूको उपस्थिति रहेको थियो । समारोहका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरे । मन्त्री गुरुङले चीन र स्विजरल्याण्ड भ्रमणको उदाहरण दिँदै 'स्वावलम्बन विकास केन्द्रको दृष्टिकोण ‘साना चीजहरू सुन्दर छन्’ भन्ने भनाइसँग मेल खान्छ' भन्दै व्यवसाय सुरु गर्न ठूलो लगानी वा आकारको आवश्यक नपर्नेमा जोड दिए । अध्यक्ष श्रेष्ठले केन्द्रले ३४ वर्षदेखि विपन्न समुदायलाई सेवा प्रदान गर्दै आएको र लघुवित्त मात्र होइन, समग्र सामाजिक–आर्थिक रूपान्तरणमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए । उनले नेपालको १५औं सामाजिक व्यवसाय राष्ट्रिय फोरममा सर्वसम्मतिले तयार गरिएको ९ बुँदे कार्ययोजनाबारे जानकारी दिँदै 'सिकाइ र कमाइ कार्यक्रम', फलफूलका बिरुवा रोपण र वातावरणमैत्री स्वावलम्बी गाउँलाई प्राथमिकतामा राखिएको बताए । कार्यक्रममा २०७९ सालमा स्थापित शंकर मान श्रेष्ठ लघुवित्त पुरस्कार २०८०/८१ मोरङ, धनपालथान गाउँपालिका–२ का प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डललाई प्रदान गरियो। यस पुरस्कारमा रु २ लाख नगद र कदरपत्र समावेश छ । साथै, उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कार २०८०/८१ सल्यानकी आशा बुढामगर, सर्लाहीकी जमुना घिमिरे र नवलपरासीकी विमला थारूलाई प्रदान गरियो, जसमा प्रत्येकले ५० हजार र प्रशंसा पत्र प्राप्त गरे । त्यस्तै, लघुउद्यमशीलता विकास पुरस्कार २०८०/८१ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्रदान गरिएको थियो। यस पुरस्कारमा २ लाख नगद र प्रशंसा पत्र समावेश छ । कार्यक्रममा लीला नाथ श्रेष्ठ, भगवती चौधरी, योगेन्द्र मण्डल, पूर्व राष्ट्र बैंक गभर्नर दीपेन्द्र बहादुर क्षेत्री लगायतको सहभागिता थियो।