नोबेल कलेजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट
काठमाडौं । काठमाडौंको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीको जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ र करिब २८.५७ प्रतिशत सेयर आईपीओमार्फत सर्वसाधारणलाई उपलब्ध गराइनेछ । संस्थापक समूहसँग करिब ७१.४३ प्रतिशत सेयर कायम रहनेछ । नोबेल कलेज, फ्रन्टलाइन ब्राण्ड अन्तर्गत काठमाण्डौंको पुरानो बानेश्वरमा संचालित छ । हालको अस्पतालको क्षमता १०० शैया रहेको छ र विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आएको छ । थप सेवा विस्तारका लागि निर्माणको चरणमा रहेको २०० शैया क्षमताको नयाँ अस्पताल, जनरल र क्यान्सर रोगलाई मध्यनजर गर्दै बनाइने छ । कम्पनी अध्यक्ष नवराज पाण्डेका अनुसार यसका लागि थप पूँजी आवश्यक भएकाले आईपीओमा जाने निर्णय गरिएको हो । अस्पतालले स्नातक तहका विद्यार्थीका लागि नर्सिङ र फार्मेसी लगायतका शैक्षिक कार्यक्रम पनि संचालन गर्दै आएको छ । सोमबार भएको सम्झौतामा नोबेल कलेजको तर्फबाट अध्यक्ष नवराज पाण्डे र नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपालपे कार्डको कमर्शियल रोलआउट सुरु
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपालको नेशनल कार्ड स्किम ‘नेपालपे कार्ड’ को कमर्शियल रोलआउट सुरु गरिएको घोषणा गरेको छ । नेशनल पेमेन्ट स्विच (एनपीएस) परियोजनाअन्तर्गत नेशनल कार्ड स्विच र नेपालपे कार्डलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो । यससँगै अब बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरूले जारी गर्ने नेपालपे कार्डहरू नेपालभरका एटीएम र पीओएस टर्मिनलमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि प्रयोग गर्न सकिने भएको छ । डिस्कभर नेटवर्क तथा डाइनर्स क्लब इन्टरनेशनलसँगको सहकार्यपछि नेपालपे कार्ड प्रयोगकर्ताहरूले विश्वभरका १९० भन्दा बढी देश तथा क्षेत्रहरूमा उक्त कार्ड प्रयोग गर्न सक्नेछन् । यस्तै, नेपालका मर्चेन्टहरूले ३० भन्दा बढी नेटवर्क एलायन्स र डाइनर्स कार्डमा आबद्ध विश्वभरका ३७८ मिलियनभन्दा बढी कार्डधारकबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् । हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूले एनपीएस नेशनल कार्ड स्विच र नेपालपे कार्डको प्रिन्सिपल सदस्यताका लागि सम्झौता गरिसकेका छन् । अन्य संस्थाहरू पनि क्रमशः जोडिँदै जाने एनसीएचएलले जनाएको छ । एनपीएस एनसीएनमा कार्ड कारोबारको अन्तरआवद्धता, राउटिङ, सेटलमेन्ट, डिस्प्युट ह्यान्डलिङ तथा एकीकृत रिपोर्टिङ जस्ता सुविधाहरू उपलब्ध छन् । नेपालको भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्ने उद्देश्यसहित सुरु गरिएको एनपीएस परियोजनाअन्तर्गत रिटेल पेमेन्ट स्विच (आरपीएस) तथा क्रस–बोर्डर इन्टरफेस सन् २०२१ नोभेम्बरदेखि नै कार्यान्वयनमा आइसकेका छन् । एनसीएचएल र नेपालपे कार्डमार्फत स्वदेशी कार्ड कारोबारको लागत घटाउने, डाटा लोकलाइजेसन कार्यान्वयन गर्ने तथा डिजिटल इकोसिस्टममा नवप्रवर्तन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले नेशनल पेमेन्ट स्विचको स्थापना र नेपालपे कार्डको कमर्शियल रोलआउटले नेपालको डिजिटल यात्रामा महत्वपूर्ण रूपान्तरण ल्याएको बताए । 'यस पहलले अन्तरआवद्ध भुक्तानी इकोसिस्टम निर्माण गर्नुका साथै नवप्रवर्तनका लागि बलियो आधार तयार पार्नेछ,' उनले भने । डिस्कभर नेटवर्कसँगको साझेदारीले विश्वव्यापी स्वीकार्यता सहित सुरक्षित, भरपर्दो र अन्तर्राष्ट्रिय स्तरको भुक्तानी कार्ड स्किम प्रदान गर्ने प्रतिबद्धता झल्काउने प्रधानको भनाइ छ । त्यसैगरी, डिस्कभर इन्टरनेशनल मार्केटका भाइस प्रेसिडेन्ट शुभ्रजित बसुले नेपालपेसँगको रणनीतिक सहकार्यले एसिया–प्रशान्त क्षेत्रमा डिस्कभरको उपस्थिति विस्तार गर्न सहयोग पुग्ने बताए । 'यस सहकार्यबाट मर्चेन्ट र कार्ड प्रयोगकर्ताहरूले सुरक्षित र गुणस्तरीय भुक्तानी सेवामा पहुँच पाउनेछन्,' उनले भने ।
सात बुँदे घोषणापत्रसहित बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न
काठमाडौं । सात बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ । 'स्वस्थ लघुवित्त, समृद्ध सदस्य' भन्ने मूल नाराका साथ शुक्रबार कार्की ब्याँक्वेट, काठमाडौंमा आयोजित सम्मेलनको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले गरेका थिए । बागमती प्रदेशका २४ वटा लघुवित्त तथा सहकारी संस्थाका प्रतिनिधि र ३०० भन्दा बढी सदस्यहरूको सहभागिता रहेको सम्मेलन मानुषी लघुवित्त, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, सूर्योदय वोमी लघुवित्त तथा महिला सहयोगी बचत तथा ऋण सहकारीको संयुक्त आयोजनामा सम्पन्न भएको हो । सम्मेलनका विभिन्न सत्रमा नेपालका प्रतिष्ठित लघुवित्त विज्ञहरूले लघुवित्त क्षेत्रको वर्तमान अवस्था, यसको आवश्यकता, सामाजिक–आर्थिक योगदान तथा सुधारका सम्भावनाबारे आ–आफ्ना धारणा राखेका थिए । सम्मेलनले लघुवित्त कार्यक्रमलाई अझ सदस्य–मुखी, प्रभावकारी र दिगो बनाउने लक्ष्य लिएको आयोजकले जनाएका छन् । घोषणापत्रमार्फत सम्मेलनले युवा सदस्यलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने, सरोकारवालाहरूलाई थप जिम्मेवार र उत्तरदायी बनाउने तथा जिम्मेवार लघुवित्त अभ्यासको प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सम्मेलनको समापन सत्रमा प्रमुख अतिथि पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, स्वावलम्बन विकास केन्द्रका अध्यक्ष एवं लघुवित्त विज्ञ शंकरमान श्रेष्ठ, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए ।