ओमस्टोन होटेल्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौं । ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिर्सोट) ले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बुधबार एक समारोहबीच ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिर्सोट) र सिटिजन्स क्यापिटलबीच आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हाे । उक्त सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रबन्ध निर्देशक रमेश कुमार हमाल र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार सिटिजन्स क्यापिटलले दुसित थानी हिमालयन रिर्सोट (ओमस्टोन होटेल्स लिमिटेड) को आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । समारोहमा संस्थापकको तर्फबाट प्रमुख विदेशी लगानीकर्ता विष्णु मोरको उपस्थिती रहेको थियो ।
नेप्सेले अप्पर स्याङ्गे हाइड्रोको सेयर कारोबार फुकुवा गर्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ । वार्षिक साधारण सभा सम्बन्धी सञ्चालक समितिको निर्णय ढिलो पठाएको कारण नेप्सेले गत सोमबारदेखि कम्पनीको सेयर कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । नेप्सेले कानुनको पालना गर्ने प्रतिबद्धतासहित कम्पनीले चित्तबुझ्दो स्पष्टीकरण पेश गरेपछि कारोबार फुकुवा गरेको जनाएको छ । कम्पनी सञ्चालक समितिले भदौ ११ गते बसेको बैठकले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित नवौँ वार्षिक साधारण सभा असोज ९ गते आयोजना गर्ने निर्णय गरेको थियो। तर उक्त निर्णय नेप्सेमा भदौ १६ गते मात्र पठाइएको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना वा निर्णय भएमा कम्पनीले सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।
सिटी एक्सप्रेसको दशैं–तिहार अफर सार्वजनिक, हरेक हप्ता १ जनालाई १ लाख
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । 'यो दशैं–तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख' नामक यो योजना लगातार ९ हप्ता सञ्चालन हुनेछ । योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक हप्ता १ जनाले रु १ लाख प्राप्त गर्नेछन् भने हरेक दिन सबै ग्राहकले सिटी पेबाट क्याशब्याक पाउने व्यवस्था गरिएको छ । भाद्र १६ देखि कात्तिक १५ गतेसम्म लागू हुने यस अफरमा विदेशबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही सहभागी हुनेछन् । उपहार विजेता चयन विद्युतीय प्रणालीमार्फत हुने र यसमा कम्पनीका कर्मचारी सहभागी नहुने सिटी एक्सप्रेसले जनाएको छ । कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपालको उपस्थिती थियो । रेमिट्यान्स क्षेत्रमा १९ वर्षदेखि सेवा दिँदै आएको सिटी एक्सप्रेसले हालै सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुरु गरेको छ । यसबाट रेमिट्यान्स भुक्तानीसमेत गर्न सकिने व्यवस्था गरिएको छ ।