वित्तीय प्रणालीमा ४२ अर्बभन्दा बढी रकम शंकास्पद कारोबारमा

काठमाडौं । नेपालको वित्तीय प्रणालीमा शंकास्पद कारोबारको दर बढेको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार शंकास्पद दर अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बढेको हो  । नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा नेपाल सम्पति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा रहेकाले शंकास्पद वित्तीय कारोबार बढ्नु सकारात्मक नरहेको जनाएको छ । यो अवस्थामा वित्तीय प्रणालीमा शंकास्पद कारोबारको दर बढ्नु थप चुनौतीका रुपमा देखिएको छ ।  प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा शंकास्पद कारोबार र गतिविधि रिपोर्ट ३०.३५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यसको संख्या ७ हजार ३ सय ३८ रहेकोमा हाल ९ हजार ५ सय ६५ पुगेको छ । वित्तीय जानकारी इकाइको ‘गो एएमएल’ प्रणालीमार्फत प्राप्त भएका रिपोर्टहरूमध्ये ९ सय ४५ वटा वित्तीय सूचना प्रतिवेदनहरू अनुसन्धान र अभियोजनका लागि नेपाल प्रहरी तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको छ । रकमका आधारमा शंकास्पद कारोबारको सूचना ८२.७५ प्रतिशतले बढेको छ । अघिल्लो आव ०८०/८१ मा २३ अर्ब २६ करोड २२ लाख रुपैयाँबराबरको सात हजार तीन सय ३८ वटा उजुरी परेका छन् । गत आवमा भने ४२ अर्ब ५१ करोड १९ लाख रुपैयाँबराबरको नौ हजार पाँच सय ६५ वटा उजुरी परेका छन् । वार्षिक प्रतिवेदनले नेपालमा सम्पती शुद्धीकरण निवारण, आतंककारी कार्य तथा आमविनाशका हातहतियार निर्माण र विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी नीतिगत र सञ्चालनगत प्रगतिलाई समेटेको छ ।  वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ का दौरान इकाईले सम्पन्न गरेका नीतिगत तथा प्राविधिक कार्यहरूको विवरण पनि समेटिएको छ । यस अवधिमा सूचनाको सुरक्षा, गोपनीयता तथा प्रयोगसम्बन्धी मार्गदर्शन तयार,  शंकास्पद कारोबार र सीमा कारोबारसम्बन्धी मार्गदर्शन अद्यावधिक गरिएको छ । त्यस्तै, वर्षभर नै सूचक संस्था, नियामकीय निकाय, कानून कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवाला संस्थाका लागि लक्षित क्षमता विकास, अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । प्रतिवेदनअनुसार गत आवमा सबैभन्दा धेरै सूचना वाणिज्य बैंकहरूबाट ३८ अर्ब ८८ करोडबराबरका सात हजार तीन सय तीनवटा प्राप्त भएका छन् । यसैगरी, विकास बैंकबाट सात सय ८० वटा सूचनामार्फत ७५ करोड ९६ लाख, सेयर ब्रोकर कम्पनीबाट चार सय ९१ वटा सूचनामार्फत एक अर्ब ९१ लाख रुपैयाँबराबरको सूचना प्राप्त भएको छ ।  यस्तै, वित्त कम्पनीबाट ८३ करोड ९२ लाख रुपैयाँबराबरको ३५५, भुक्तानी सेवाप्रदायकबाट १६ करोड ५७ लाख रुपैयाँबराबरको दुई सय ५२, बिमा कम्पनीबाट ४९ करोड ८८ लाख रुपैयाँबराबरको २४४, रेमिट्यान्स कम्पनीबाट २८ करोड ५६ लाख रुपैयाँबराबरको १०० वटा सूचना प्राप्त भएका छन् । यस्तै सहकारीबाट ६ करोड ५६ लाख रुपैयाँबराबरका ३६, क्यासिनोबाट ६१ लाख रुपैयाँबराबरका दुई, हायर पर्चेचबाट तीन लाख ९० हजार रुपैयाँबराबरको एक र लुघवित्तबाट ११ लाख रुपैयाँबराबरको एउटा कारोबार शंकास्पद भएको भन्दै इकाइमा रिपोर्टिङ भएको छ । अन्तर्राष्ट्रिय सहकार्यतर्फ पनि इकाईले प्रगति गरेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ मा इकाईले विदेशी वित्तीय जानकारी इकाईसँग ६४ वटा सूचना आदानप्रदान गर्दै सीमापार वित्तीय कारोबारबाट हुने जोखिम, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी तथा नयाँ प्रकृतिका अपराध प्रवृत्तिविरुद्धको सहकार्यलाई थप मजबुत बनाएको छ । प्रतिवेदनले आगामी दिनमा जोखिममा आधारित दृष्टिकोण, प्रविधिमा आधारित विश्लेषण, अन्तरनिकाय समन्वय र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सुधारका प्रयासलाई इकाईको प्रमुख प्राथमिकताका क्षेत्रका रूपमा अघि सारेको छ । वित्तीय जानकारी विश्लेषणको गुणस्तर सुदृढ गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने इकाईको आगामी कार्यदिशा रहने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।   

कामना सेवाले एमफिल र स्नातकोत्तरका विद्यार्थीलाई अनुसन्धान अनुदान दिने

काठमाडौं । कामना सेवा विकास बैंकले एमफिल तथा स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीलाई अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ । बैंकले अर्थशास्त्र र व्यवस्थापन विषयमा एमफिल गर्दै गरेका तथा व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साइन्स र सूचना प्रविधि विषयमा स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीलाई अनुसन्धान कार्यका लागि अनुदान उपलब्ध गराउने जनाएको हो । बैंकिङ, अर्थतन्त्र तथा सूचना–प्रविधिसँग सम्बन्धित विभिन्न क्षेत्रमा गरिने शोध कार्यका लागि एमफिल तहका दुई जना शोधकर्ता विद्यार्थीलाई जनही १ लाख रुपैयाँका दरले तथा स्नातकोत्तर तहका चार जना शोधकर्ता विद्यार्थीलाई जनही ५० हजार रुपैयाँका दरले अनुसन्धान अनुदान प्रदान गरिने बैंकले जनाएको छ । अनुदान प्राप्त गर्न इच्छुक विद्यार्थीले सम्बन्धित कलेजको सिफारिससहित आगामी १४ मार्च २०२६ भित्र बैंकसमक्ष शोध प्रस्तावना पेश गर्नुपर्नेछ । प्राप्त प्रस्तावनाका आधारमा सम्बन्धित विषयका विज्ञसमेत रहेको छनोट समितिले विद्यार्थी छनोट गर्ने बैंकले जनाएको छ। शोध कार्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणले भरपर्दो, प्रमाणित गर्न सकिने तथ्यांकमा आधारित र मौलिक हुनुपर्ने शर्त राखिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले उक्त अनुसन्धान अनुदानले एमफिल र स्नातकोत्तर तहका शोधकर्ता विद्यार्थीलाई अध्ययन र अनुसन्धानमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वविद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई शोध तथा अनुसन्धानका लागि अनुदान प्रदान गर्न सक्ने व्यवस्था गरेसँगै कामना सेवा विकास बैंकले यो कार्यक्रम अघि सारेको हो । नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार अनुसन्धान अनुदान प्रदान गर्ने कामना सेवा विकास बैंक पहिलो वित्तीय संस्था भएको बैंकको दाबी छ । अनुसन्धान अनुदानसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने जनाएको छ ।

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका सहभागीलाई बिदाइ तथा नयाँ सहभागीलाई स्वागत गरेको छ । बैंकले सोमबार आयोजित ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रममा चौथो र पाँचौ समूहका सहभागीलाई बिदाइ गर्दै छैटौँ समूहका सहभागीलाई स्वागत गरेको हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका चौथो र पाँचौ समूहका ४० जना सहभागीहरुलाई कार्यक्रमका सभापति नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल तथा कार्यक्रमका प्रमुख अतिथी त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्क केसीले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा छैटौं समूहका २० सहभागीहरुलाई औपचारिक रूपमा स्वागत गरिएको थियो । सोही अवसरमा फेलोसिपमा सहभागी सामाजिक उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको प्रदर्शनी पनि गरिएको थियो ।  कार्यक्रमका अध्यक्ष पौडेलले नबिल एसएसईले युवाहरुलाई उद्यमको मार्फत् नेपाल मै केहि गर्न सकिन्छ भन्ने वातावरणका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए । नबिल एसएसईका प्रशिक्षार्थीहरुले देशमा १७ हजार रोजगारी सृजना गरिसकेको बताउँदै उनले यो कार्यक्रम अझ प्रभावकारी बनाउन सबैको महत्वपूर्ण भूमिका रहने बताए ।  कार्यक्रमका प्रमुख अतिथी त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसीले नबिल बैंकले सुरु गरेको यो कार्यक्रम समाजका लागि उदाहरणीय भएको उल्लेख गर्दै यस कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले काम गर्न पाउँदा खुुसी लागेको बताए । उनले आगामी दिनमा पनि यस सहकार्यलाई  अझ सशक्त रुपमा अगाडि बढाउन आफूहरु तयार रहेको बताए । नबिल बैंकका सञ्चालक निर्वाण कुमार चौधरीले बैंकले पाँच वर्ष अघि सुरु गरेको यो कार्यक्रमका सहभागीहरुलाई बधाई दिँदै सफलताको शुभकामना व्यक्त गरे । यो कार्यक्रम सुरु गर्दा नबिल बैंक र त्रिभुवन विश्वविद्यालय मात्रै भए पनि अहिले विभिन्न सरोकारवाला पक्ष जोडिएको उनको भनाइ थियो ।  'पाँच वर्षको निरन्तर यात्रामा हामीले करिब २०० उद्यम स्थापना गरी १७ हजार भन्दा बढीलाई रोजगारी सृजना गरेका छौँ, अहिले यो कार्यक्रम बैंक र विश्वविद्यालयको मात्रै नभइ सबैको साझा कार्यक्रम भएको छ', उनले भने । चौधरीले यो यात्रा अझ लामो रहेको उल्लेख गर्दै कार्यक्रमलाई सफल बनाउनका लागि सहयोग गर्ने सबै सरेकारवालाहरुलाई आभार व्यक्त गरे । त्रिभुवन विश्वविद्यालयका स्कुल अफ म्यानेजमेन्टका निर्देशक डा। गोविन्द तामाङले नबिल एसएसई सुरुवाती दिन देखि अहिलेसम्म कार्यक्रममा सहकार्य गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले नबिल बैंकसँगको यो सहकार्य सन् २०२८ सम्मका लागि सम्झौता भएको बताए । उनले यो कार्यक्रमअन्तर्गतको सिकाइ कक्षाकोठामा मात्रै सीमित नभइ व्यवहारिक र अनुभवमा आधारित भएको उल्लेख गरे । नबिल एसएसई अन्तर्गतको फेलोसिप कार्यक्रम सामाजिक उद्यमी बन्न चाहनेका लागि यो सशक्त माध्यम भएको बताए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले आफ्नो स्वागत मन्तव्य राख्दै नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तगर्त सामाजिक उद्यमशीलतमा जोड दिएको र उद्यमशीलताबाट देश विकासमा टेवा पु¥याउँदै आएको जानकारी दिए ।   नबिल बैंकले मुलुकभर सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०२१ नोभेम्बर २६ गतेदेखि ‘नबिल एसएसई’ सुरु गरेको थियो । उद्यमशीलतामा नविन सोचको विकास तथा उद्यमशीलतामा आधारित समावेशी उद्यमलाई प्रशिक्षण, नेटवर्क र सहायता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।  नबिल बैंकले त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्यमा फेलोसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ । छ महिनासम्म सञ्चालन हुने फेलोसिप कार्यक्रममा सहभागीहरुले छ महिनासम्म प्रत्येक महिना तीन दिन आवासीय प्रशिक्षण लिनेछन् भने बाँकी दिन आफ्नै कार्यस्थलमा काम गर्नेछन् । तालिम अवधि भर सहभागीहरुलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि कार्यक्रम सञ्चालन हुँदै आएको छ । कार्यक्रमले सहभागी उद्यमीलाई व्यवहारमा आधारित प्रशिक्षण दिनुका साथै सञ्जाल विस्तारमा पनि सहयोग गर्छ । फेलोसिप कार्यक्रमअन्तर्गत हालसम्म ९६ जना सामाजिक उद्यमी सहभागी भइसकेका छन् । उनीहरुले हालसम्म ६२ उद्यम सञ्चालन गरी १४ हजार पाँच सयभन्दा बढी रोजगारी सृजना गरिकेका छन् ।   त्यस्तै नबिल बैंकले मुलुकका विभिन्न १० वटा शैक्षिक संस्थामार्फत नबिल एसएसई सर्टिफिकेट कोर्स सञ्चालन गर्दै आएको छ । सात वटै प्रदेशबाट एक हजार ६९ जनाले लाभ लिइसकेका छन् । उनीहरुले हालसम्म विभिन्न १३१ उद्यम सञ्चालन गरी दुई हजार पाँच सयभन्दा बढी रोजगारी सृजना गरेका छन् ।