रोयल टुलिप काठमाडौंलाई आईपीओमा लैजान नबिल इन्भेष्टमेन्टसँग सम्झौता

काठमाडौं । द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाडौं) ले सर्वसाधारणमा सेयर निष्कासन (आईपीओ) गर्ने तयारी थालेको छ । यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँग संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  सम्झौताअनुसार प्राइभेट कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने, आईपीओ निष्काशनका लागि आवश्यक पूर्वतयारी गर्ने तथा ‘रोड टु आईपीओ’ प्रक्रिया अघि बढाउन नबिल इन्भेष्टमेण्टले परामर्श तथा समन्वयकारी भूमिका निर्वाह गर्नेछ । सम्झौतापत्रमा द म्यासिफ होटल प्राइभेट लिमिटेडका अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । ललितपुरको ग्वार्कोमा रहेको रोयल टुलिप काठमाण्डौं अन्तर्राष्ट्रिय चेन ब्रान्डअन्तर्गत सञ्चालित पाँचतारे होटल हो । होटलमा ३०८ कोठा तथा सुइट रहेका छन् भने साना–ठूला गरी १० वटा बैठक हलसमेत उपलब्ध छन् । कोठाहरू आधुनिक सुविधासहित डिजाइन गरिएका छन् र अतिथिहरूलाई उच्चस्तरीय सेवा प्रदान गरिन्छ । होटलमा अत्याधुनिक हेल्थ क्लब, स्पा तथा इन–हाउस रेस्टुरेन्टमार्फत अन्तर्राष्ट्रियस्तरको भोजन सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै, विभिन्न कार्यक्रम आयोजना गर्न मिल्ने सुविधासम्पन्न बैठक हलहरू पनि रहेका छन् । सम्झौताअनुसार नबिल इन्भेष्टमेण्टले होटललाई आईपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण पूर्वतयारीमा सहयोग गर्नेछ । पूर्वतयारी पूरा भएपछि नियामक निकायसमक्ष सार्वजनिक निष्काशनको अनुमति माग गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।    

मञ्जुश्री फाइनान्सले पायो ‘बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी २०२६’ अवार्ड

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडलाई न्यू बिजनेस एजद्वारा आयोजित १०औँ न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड २०२६ समारोहमा 'बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी २०२६' अवार्ड प्रदान गरिएको छ । उत्कृष्ट वित्तीय सूचक, संस्थागत सुशासन, प्रभावकारी व्यवस्थापन, वित्तीय स्थायित्व, ग्राहक सेवा तथा नवप्रवर्तनमा उल्लेखनीय योगदान पुर्‍याएको आधारमा कम्पनी उक्त सम्मानबाट सम्मानित भएको हो । कम्पनीका अनुसार यस अवार्डले पारदर्शी व्यवस्थापन प्रणाली, जोखिम व्यवस्थापन क्षमता, डिजिटल बैंकिङ सेवाको विस्तार तथा दिगो वित्तीय विकासप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ । मञ्जुश्री फाइनान्सले ग्राहक–केन्द्रित सेवा तथा आधुनिक वित्तीय समाधानमार्फत वित्तीय क्षेत्रमा विशिष्ट पहिचान स्थापित गर्दै आएको जनाएको छ । कम्पनीले यो उपलब्धिले आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रवाह र संस्थागत विकासतर्फ अघि बढ्न थप प्रेरणा मिलेको उल्लेख गरेको छ । 

२७ अंकले बढ्यो सेयर बजार, ३ अर्बको कारोबार

काठमाडौं । शुक्रबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ अंकले बढेर २७४५ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार २३५ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको मूल्य भने कुनै परिवर्तन आएको छैन । ३३५ कम्पनीको ७४ लाख कम्पनीको ३ अर्ब २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार होटल फोरेस्ट इनको भएको छ । होटल फोरेस्टको १३ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, रिलाइन्स स्पिीनिङको १३ करोड, सोलु हाइड्रोको १२ करोड, न्यदी गुप्रको ११ करोड र रिडि पावरको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्रिशुली जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेकाे छ ।