सिद्धार्थ प्रिमियरको दाबी भुक्तानी ४ अर्ब ५० करोड नाघ्यो

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार भदौ महिनाको अन्तिम साता ‘जेनजी आन्दोलन’ का क्रममा देशका विभिन्न स्थानमा भएको हुलदंगा, तोडफोड र आगजनीबाट पूर्वाधार, उद्योग, व्यापार तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिबापत मात्रै २ अर्ब ४२ करोड रुपैयाँ भुक्तानी गरिएको हो । यस अवधिमा जेनजी आन्दोलन बाहेकका अन्य विभिन्न घटनाबाट आएका दाबीहरूमा समेत कम्पनीले २ अर्ब ८ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको जनाएको छ । कम्पनीमा चालु आवको १० महिनामा कुल १४ हजार ७५६ वटा दाबी दर्ता भएका छन् भने तीमध्ये १३ हजार ५०८ वटा दाबी फछ्र्यौट भइसकेका छन् । गत वर्षको बाढी–पहिरोबाट सिर्जित दाबीमा पनि सबैभन्दा बढी भुक्तानी गरेको कम्पनीले जनाएको छ । कम्पनीले राष्ट्रभर रहेका उद्योग, व्यापार तथा निजी सम्पत्तिमा भएको क्षतिअन्तर्गत बीमित सम्पत्तिको दाबी छिटो फछ्र्यौट गरी बीमितहरूको संरक्षण गर्न आफू प्रतिबद्ध रहेको जनाएको  छ। साथै, बाँकी दाबी भुक्तानीका लागि आवश्यक कागजात छिटो उपलब्ध गराई सहयोग गर्न दावीकर्ताहरूलाई आग्रह गरेको छ ।   

विजय लघुवित्तका सीईओ लम्सालको राजीनामा, घिमिरेलाई जिम्मेवारी

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बसन्तराज लम्सालले पदबाट राजीनामा दिएका छन् । लम्सालले गत वैशाख २८ गते दिएको राजीनामालाई संस्थाको सञ्चालक समितिले स्वीकृत गरेको हो ।   संस्थाको वैशाख ३१ गते बसेको ४३औँ सञ्चालक समितिको बैठकले उक्त राजीनामा आगामी जेठ ८ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हाे ।   सीईओ लम्सालको बहिर्गमनसँगै संस्थाको दैनिक कार्य सञ्चालनलाई निरन्तरता दिन सञ्चालक समितिले नयाँ जिम्मेवारी बाँडफाँट गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि संस्थाका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेलाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको छ ।   घिमिरेले अब संस्थाको प्रमुख कार्यकारी अधिकृतको सम्पूर्ण अधिकार र जिम्मेवारी सम्हाल्नेछन् । काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालय रहेको यो संस्था नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो ।  

विजय लघुवित्तले लाभांश नबाँड्ने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाको सञ्चालक समितिको वैशाख ३१ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणअनुसार कायम रहेको सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको हो । संस्थाले उक्त वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष पेश गरी स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेश गर्ने निर्णयसमेत गरेको जनाएको छ ।