सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै, कात्तिक २० गते निष्काशन
काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको छ । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ४ वर्षका लागि १० अर्ब रुपैयाँको ‘विकास ऋणपत्र-२०८६’ बिक्री गर्न लागेको हो । कार्यालयले कात्तिक १९ गते बोलकबोल मार्फत बिक्री गरी कात्तिक २० गते निष्काशन गर्ने जनाएको छ । इच्छुक खरिदकर्ताले बोलकबोल पेस गर्न सक्ने छन् । उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन सक्नेछन् ।
सन नेपाल लाइफ इन्स्योरेन्स ‘बीबीबी पल्स’ रेटिङमा
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘बीबीबी प्लस (BBB+)’ रेटिङ प्राप्त गरेको छ । कम्पनीले वित्तीय सुदृढता, दायित्व पूरा गर्ने क्षमता र समग्र संस्थागत व्यवस्थापनमा सुधार गर्दै यो रेटिङ हासिल गरेको हो । यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम, सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियो झल्काउँछ । ‘बीबीबी प्लस’ श्रेणीका कम्पनीहरूलाई आफ्नो दायित्व समयमै पूरा गर्न सक्षम र अपेक्षाकृत स्थिर वित्तीय स्थिति भएको मानिन्छ । कम्पनीले ग्राहक, अभिकर्ता र सेयरधनीहरूको निरन्तर विश्वासका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ जिम्मेवारीपूर्ण र सुदृढ बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । हाल कम्पनीले देशभरका १४८ शाखा तथा उपशाखामार्फत सेवा सञ्चालन गरिरहेको छ ।
लक्ष्य, चुनौती र आगामी योजना समेटेर एनआईसी एशिया लघुवित्तको प्रदेश समीक्षा गोष्ठी सम्पन्न
काठमाडौं । एनआईसी एशिया लघुवित्तले प्रथम त्रैमासको प्रदेशस्तरीय बजेट समिक्षा गोष्ठी सफलतापूर्वक सम्पन्न गरेको छ । कार्तिक १२ देखि १४ गतेसम्म बाँकेको कोहलपुरमा सम्पन्न गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका शाखा कार्यालयहरूबाट १२१ जना प्रतिनिधिहरूको सहभागिता थियो । गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले उत्कृष्ट प्रदर्शन गर्न सफल कर्मचारीहरूको प्रशंसा गर्दै आगामी दिनमा अझ उच्च मनोबलका साथ कार्य गर्न प्रेरित गरेका थिए । सो अवसरमा नायब प्रमुख कार्यकारी अधिकृत मेषबहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने लगायतले लक्ष्य प्राप्तिका लागि कार्यगत एकता, प्रतिबद्धता र दक्षताको आवश्यकता औंल्याउँदै अगाडि बढ्नुपर्ने बताएका थिए । विभागीय प्रमुखहरू राकेश श्रेष्ठ, विमल चौधरी, आशिष गौतम र मुक्तिनाथ लौडारीले पहिलो त्रैमासिक अवधिमा आफ्ना विभागहरूले हासिल गरेका उपलब्धि प्रस्तुत गर्दै चालु त्रैमासका लागि कार्ययोजना सार्वजनिक गरेका थिए । गोष्ठीमा पहिली त्रैमासिक उपलब्धि, देखिएका चुनौती, सुधारका सम्भावित क्षेत्रहरूबारे विस्तृत समीक्षा गरिएको थियो । साथै, दोस्रो त्रैमासका लागि बजेट तर्जुमा, आगामी कार्ययोजना निर्माण, सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका रणनीतिहरूमा गहन छलफल गरिएको संस्थाले जनाएको छ । गोष्ठीले कर्मचारीहरूलाई थप उत्प्रेरणा, उत्साह र जिम्मेवारीका साथ काम गर्न प्रोत्साहित गर्ने र शाखा सञ्चालन सुधार तथा सेवा गुणस्तर वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास संस्थाले व्यक्त गरेको छ ।