कास्कीका सामुदायिक विद्यालयमा मेटलाइफ नेपालको सहयोग, फुटबलमार्फत शिक्षा र नेतृत्व विकासमा टेवा
काठमाडौं । विश्वभर फुटबलले समुदायलाई एकताबद्ध गरिरहेको सन्दर्भमा मेटलाइफ नेपालले कास्की जिल्लाका सामुदायिक विद्यालयहरूमा खेलकुद तथा शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ कार्यक्रम सुरु गरेको छ । 'शिक्षा र खेलकुदमार्फत नयाँ पुस्तालाई सशक्त बनाउने' लक्ष्यसहित सुरु गरिएको यस पहलअन्तर्गत कास्कीका पाँच विद्यालयमा फुटबल सामग्री वितरण गरिएको छ । यस कार्यक्रमबाट शहरी तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । कार्यक्रम कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन भइरहेको छ, जसले पहुँचबाट वञ्चित युवायुवतीहरूलाई खेलकुद र शिक्षामा अवसर विस्तार गर्दै आएको छ । कार्यक्रममार्फत करिब १६० वटा फुटबलका साथै प्रशिक्षणका लागि आवश्यक सामग्रीहरू कोन, गोलपोस्ट नेट, एयर पम्प लगायतका उपकरणहरू उपलब्ध गराइनेछ । साथै, छनोट भएका विद्यार्थीहरूलाई जर्सी पनि प्रदान गरिनेछ, जसले विद्यालयमा व्यवस्थित खेल गतिविधि सञ्चालन गर्न सहयोग पुर्याउनेछ । यो पहल मेटलाइफ नेपालको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो । यसले कक्षाकोठाको शिक्षासँगै खेलकुदमार्फत सिकिने टोली भावना, निष्पक्षता, धैर्यता र आपसी सम्मानजस्ता मूल्यहरूको विकासमा सहयोग पुर्याउने विश्वास गरिएको छ । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठका अनुसार, 'अवसर सीमित भएका सामुदायिक विद्यालयहरूमा खेलकुदले बालबालिकालाई एकताबद्ध गर्ने अद्वितीय शक्ति राख्छ। फुटबलमार्फत विद्यार्थीहरूमा आत्मविश्वास, सिकाइप्रतिको रुचि र चुनौती सामना गर्ने क्षमता विकास गर्न हामी प्रतिबद्ध छौँ ।'
कामना सेवा विकास बैंकद्वारा पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित श्री पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ । बैंकको सालझण्डी शाखामार्फत सम्पन्न कार्यक्रममा बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक हरि प्रसाद थापालाई १२ थान डस्टबिन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै प्रधानाध्यापक थापाले स्वच्छ विद्यालय, स्वस्थ विद्यार्थी र सफा समाज निर्माणका लागि फोहोर व्यवस्थापन महत्वपूर्ण पक्ष भएको उल्लेख गरे । उनले वितरण गरिएका डस्टबिनले विद्यार्थीमा सरसफाइको बानी विकास गर्नुका साथै वातावरणीय सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । त्यसैगरी, बैंकका बुटवल प्रदेश प्रमुख आचार्यले आर्थिक रूपमा कमजोर तथा विपन्न समुदायका विद्यार्थी अध्ययनरत विद्यालयमा यस्ता आधारभूत सरसफाइ सामग्रीको अभाव हुने उल्लेख गर्दै डस्टबिन वितरणले विद्यालयको सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने बताए । स्वच्छ र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसरले विद्यार्थीको सिकाइ उपलब्धि, अनुशासन र आत्मविश्वासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै प्रधानाध्यापक थापाले बैंकप्रति आभार व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा समेत सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
न्यूरो डेभलपमेन्टल उपचारका लागि आईएमई लाइफले दियो ३ लाख रुपैयाँ
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रालिलाई आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले उपलब्ध गराएको सहयोग न्यूरो विकाससम्बन्धी समस्या भएका बालबालिकाको उपचार तथा पुनर्स्थापना सेवामा उपयोग गरिने जनाएको छ । यसअन्तर्गत आईएमई लाइफले ३ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । उक्त रकमबाट प्रभावित बालबालिकाले आवश्यक उपचार, थेरापी तथा विशेष हेरचाह सेवा प्राप्त गर्ने विश्वास लिइएको छ । कम्पनीका अनुसार यस्ता बालबालिकालाई समयमै आवश्यक उपचार तथा थेरापी उपलब्ध गराउन सके उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्नेछ । साथै आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका परिवारलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ । बालक्ष्य डेभलपमेन्ट एण्ड केयरले विशेष आवश्यकता भएका बालबालिकाका लागि मूल्यांकन, परामर्श, थेरापी तथा पुनर्स्थापना सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको विशेषज्ञता र आईएमई लाइफको सामाजिक उत्तरदायित्वले बालबालिकाको जीवनस्तर सुधारमा टेवा पुग्ने विश्वास गरिएको छ । आईएमई लाइफले ‘इन्स्योरिङ फ्युचर’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको जनाएको छ ।