फोनपेको साधारण सभा सम्पन्न, १९ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तिय विवरण, लेखापरिक्षक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु पारित गर्ने निर्णय गरेको छ । सभामा फोनपेका सेयरधनीहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने र स्वतन्त्र सञ्चालकमा पुनः सशीन जोशीलाई नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै आव २०८२/८३ का लागि एनबिएसएम एसोसिएटस चार्ट्ड एकाउन्टेन्सलाई पुनः लेखापरिक्षकमा नियुक्त गर्ने निर्णय भएको छ । साथै, विशेष प्रस्ताव अनुरुप फोनपेको प्रबन्धपत्र तथा नियमावलीलाई संशोधन गर्ने तथा सर्वसाधारणहरुलाई सेयर निष्कासन गर्ने समेत निर्णय भएको छ ।
बीमा प्राधिकरण र नबिल बैंकबीच एयरमार्क प्रणाली स्वचालनका लागि सहकार्य
काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि मंगलबार एपीआई (एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस) एकीकरण सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले हस्ताक्षर गरे । कार्यक्रममा कार्यकारी निर्देशक सुवेदीले यो सम्झौताबाट बीमा क्षेत्रको एयरमार्क प्रणाली पूर्ण रूपमा स्वचालनमा रूपान्तरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार यस प्रणालीले बीमकहरूको लगानी प्रक्रिया छिटो, छरितो र त्रुटिरहित बनाउनेछ भने नियमन तथा निरीक्षण कार्यलाई अझ दक्ष र पारदर्शी बनाउन सहयोग पुर्याउनेछ । एपीआई एकीकरण अन्तर्गत बीमकहरूले मुद्दती निक्षेपमा गर्ने लगानीसम्बन्धी एयरमार्क व्यवस्थापनलाई प्रविधिमार्फत सहज, सुरक्षित र विश्वसनीय बनाइनेछ । प्रणालीमार्फत प्राधिकरणबाट बैंकमा पठाइने ब्लक तथा अनब्लक अनुरोधहरू स्वतः प्रमाणीकरण हुनेछन् । सही विवरण भएको अनुरोध मात्र स्वीकृत हुने र त्रुटिपूर्ण विवरण भएमा प्रणालीले त्यसलाई एयरमार्क प्लेटफर्ममार्फत स्वचालित रूपमा बीमकलाई फिर्ता पठाउनेछ । यस एकीकरणका लागि नबिल बैंकले विशेष ‘मिडलवेयर’ प्रणाली विकास गरेको छ, जसले बीमकहरूबाट प्राधिकरण हुँदै प्राप्त मुद्दती निक्षेप सम्बन्धी विवरणहरूलाई बैंकको कोर बैंकिङ प्रणालीसँग प्रत्यक्ष रूपमा जोड्ने सुविधा प्रदान गर्छ । यो सहकार्य नेपाल बीमा प्राधिकरणको डिजिटल रूपान्तरण र प्रविधिमैत्री नियमनतर्फको अर्को महत्वपूर्ण कदमका रूपमा रहेको बताइएको छ । यसले बीमा क्षेत्रको दक्षता, पारदर्शिता र समय–उपयुक्त सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिना, उपनिर्देशक राजेन्द्र महर्जन, उपनिर्देशक रविन्द्र श्रेष्ठ, तथा नबिल बैंकका होलसेल लायबिलिटी प्रमुख लक्ष्मी लामिछाने ढकाललगायतको उपस्थिति रहेको थियो ।
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८० पैसा र बिक्रीदर १०१ रुपैयाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ १० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९६ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ । साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४ रुपैयाँ ९७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९२ पैसा र बिक्रीदर २२ रुपैयाँ ०१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १९ पैसा र बिक्रीदर १८ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ४७ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ४३ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ६९ पैसा तोकिएको छ । ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने जनाइएको छ ।