विजय लघुवित्तका सीईओ लम्सालको राजीनामा, घिमिरेलाई जिम्मेवारी

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बसन्तराज लम्सालले पदबाट राजीनामा दिएका छन् । लम्सालले गत वैशाख २८ गते दिएको राजीनामालाई संस्थाको सञ्चालक समितिले स्वीकृत गरेको हो ।   संस्थाको वैशाख ३१ गते बसेको ४३औँ सञ्चालक समितिको बैठकले उक्त राजीनामा आगामी जेठ ८ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हाे ।   सीईओ लम्सालको बहिर्गमनसँगै संस्थाको दैनिक कार्य सञ्चालनलाई निरन्तरता दिन सञ्चालक समितिले नयाँ जिम्मेवारी बाँडफाँट गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि संस्थाका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेलाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको छ ।   घिमिरेले अब संस्थाको प्रमुख कार्यकारी अधिकृतको सम्पूर्ण अधिकार र जिम्मेवारी सम्हाल्नेछन् । काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालय रहेको यो संस्था नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो ।  

विजय लघुवित्तले लाभांश नबाँड्ने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाको सञ्चालक समितिको वैशाख ३१ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणअनुसार कायम रहेको सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको हो । संस्थाले उक्त वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष पेश गरी स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेश गर्ने निर्णयसमेत गरेको जनाएको छ । 

सिप्रदी र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीच नगदरहित बीमा दावी सम्झौता

काठमाडौं । टाटा मोटर्सका लागि नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगदरहित बीमा दावी सेवासम्बन्धी सम्झौता भएको छ । काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित विशेष समारोहमा दुवै कम्पनीका प्रतिनिधिबीच उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतामा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ राज थपलिया र हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार अब टाटा गाडीका ग्राहकहरूले सवारी दुर्घटनाको अवस्थामा बीमा दावी प्रक्रिया सहज र छिटो रूपमा गर्न सक्नेछन् । यसले ग्राहकलाई नगद भुक्तानीको झन्झटबाट मुक्त गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यसअघि पनि सिप्रदीले शिखर, सगरमाथा लुम्बिनी (सलिको), एनएलजी, नेको, सानिमा तथा ओरियन्टल इन्स्योरेन्स कम्पनीहरूसँग यस्तै प्रकारका नगदरहित बीमा दावी सम्झौता गरिसकेको छ । कम्पनीका अनुसार, हालसम्म ३ हजारभन्दा बढी ग्राहकले यस सेवामार्फत छिटो र सहज दावी सुविधा प्राप्त गरिसकेका छन् । आगामी दिनमा थप ग्राहकलाई यस्तो सेवा विस्तार गर्ने योजना सिप्रदीले बनाएको छ । यस सहकार्यबाट ग्राहकलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान हुने विश्वास दुवै कम्पनीले व्यक्त गरेका छन् ।