निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्वाचित
काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघको नवाैं र दशौं संयुक्त वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा सम्पन्न सभाले विभिन्न प्रस्तावहरू पारित गरेको छ । सभाले प्रगति विवरण, आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को आयव्यय विवरण पारित गर्नुका साथै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कार्यक्रममा बीमा क्षेत्रका विद्यमान समस्या, हालैको बजेटमा समेटिएका बीमासम्बन्धी व्यवस्थाहरू तथा आगामी कार्यदिशाबारे सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए । साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसअनुसार अध्यक्षमा मनोहर दास मुल (सगरमाथा लुम्बिनी इन्स्योरेन्स), उपाध्यक्षमा आजाद श्रेष्ठ (युनाइटेड अजोड इन्स्योरेन्स), महासचिवमा महेन्द्र कृष्ण श्रेष्ठ (हिमालयन एभरेष्ट इन्स्योरेन्स) र कोषाध्यक्षमा रमेश कुमार निरौला (नेको इन्स्योरेन्स) चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा कुनाल कयाल (सानिमा जिआईसी इन्स्योरेन्स) र पवन अग्रवाल (सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) रहेका छन् । निवर्तमान अध्यक्ष राजेन्द्र मल्लको योगदानको कदर गर्दै उनलाई कार्यसमितिमा आमन्त्रित गर्ने निर्णय पनि गरिएको छ । सभामा राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष निर्मल ढकाल, एनएलजी इन्स्योरेन्सका अध्यक्ष विमल प्रसाद वाग्ले, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक कृष्ण प्रसाद शर्मा तथा हिमालयन एभरेष्ट इन्स्योरेन्सका सञ्चालक अजय स्थापितलगायतको उपस्थिति रहेको थियो ।
आईएमई लाइफ बीबीबी पल्सबाट केयर एनपीए माइनसमा उक्लियो
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इश्युअर रेटिङमा उल्लेखनीय सुधार हासिल गरेको छ । केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीको मूल्याङ्कन ‘केयर एनपी बीबीबी पल्स’ बाट स्तरोन्नति गर्दै ‘केयर एनपी ए माइनस’ प्रदान गरेको हो । कम्पनीका अनुसार उक्त स्तरोन्नति सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, सुधारोन्मुख व्यावसायिक कार्यसम्पादन तथा सुशासनप्रतिको प्रतिबद्धताको प्रतिफल हो । साथै बीमित तथा सरोकारवालाबीच कायम विश्वासले पनि यस उपलब्धिमा योगदान पुर्याएको जनाइएको छ । ‘केयर एनपी ए माइनस’ रेटिङले कम्पनीसँग आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको संकेत गर्दछ । अघिल्लो मूल्याङ्कनको तुलनामा कम्पनी अझ मजबुत र विश्वसनीय संस्थाका रूपमा स्थापित भएको पनि रेटिङले देखाएको छ । कम्पनी व्यवस्थापनले उक्त उपलब्धिलाई सरोकारवालाको विश्वास, सहयोग र प्रतिबद्धताको परिणाम भएको बताउँदै आगामी दिनमा ग्राहक सेवा, संस्थागत सुशासन, नवप्रवर्तन र दीर्घकालीन वित्तीय स्थायित्वलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ । ‘इन्स्योरिङ फ्युचर’ भन्ने मूल नारासहित सञ्चालनमा रहेको आईएमई लाइफ इन्स्योरेन्सले जीवन बीमामार्फत व्यक्तिहरू र परिवारहरूको आर्थिक सुरक्षा तथा भविष्य सुनिश्चित गर्ने उद्देश्य राख्दै विभिन्न बीमा योजनाहरू उपलब्ध गराउँदै आएको छ । देशव्यापी शाखा सञ्जाल, उपशाखा र हजारौं अभिकर्तामार्फत सेवा विस्तार गर्दै आएको कम्पनीले जीवन बीमाको पहुँच समुदायस्तरसम्म पुर्याएको जनाएको छ । यसका साथै कम्पनीले स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामुदायिक विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । कम्पनीले ‘केयर एनपी ए माइनस’ रेटिङलाई केवल उपलब्धि मात्र नभई अझ उत्कृष्ट सेवा र उच्च व्यावसायिक मापदण्डतर्फ अघि बढ्ने प्रेरणाका रूपमा लिएको जनाएको छ ।
माछापुच्छ्रे बैंकको नयाँ सेवा : मोबाइल एपबाटै नेपाल–भारत रियल टाइम रकम पठाउन सकिने
काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल–भारतबीच रियल टाइम क्रस बोर्डर रकम स्थानान्तरण (ट्रान्सफर) सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘एमबीएल एम स्मार्ट’मार्फत उक्त सेवा सुरु गरेको जनाएको छ । नयाँ सेवामार्फत नेपाल र भारतबीच सुरक्षित, सहज र तत्काल व्यक्ति–देखि–व्यक्ति (पीटूपी) रकम पठाउन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । यसले दुई छिमेकी मुलुकबीच डिजिटल वित्तीय पहुँच थप सुदृढ हुने अपेक्षा गरिएको छ । बैंकका अनुसार भारतमा बसोबास, अध्ययन वा रोजगारी गरिरहेका नेपालीहरूले त्यहाँ उपलब्ध युपीआई (UPI) प्रणालीसँग आबद्ध डिजिटल भुक्तानी एप प्रयोग गरी नेपालस्थित आफ्ना परिवारजन वा अन्य लाभग्राहीको बैंक खातामा सजिलै रकम पठाउन सक्नेछन् । पठाइएको रकम लाभग्राहीको खातामा तत्कालै जम्मा हुने भएकाले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध हुने बैंकको दाबी छ । त्यसैगरी नेपालमा रहेका भारतीय नागरिकले पनि एमबीएल एम स्मार्ट एपमा उपलब्ध क्रस बोर्डर ट्रान्सफर सुविधामार्फत भारतमा रकम पठाउन सक्ने व्यवस्था गरिएको छ । बैंकले सेवा सञ्चालनमा सुरक्षा, पारदर्शिता र नियामकीय अनुपालनका उच्च मापदण्डलाई प्राथमिकता दिएको जनाएको छ । यस पहलले नेपाल–भारतबीचको डिजिटल भुक्तानी तथा रेमिट्यान्स प्रणालीलाई थप प्रवर्द्धन गर्नुका साथै ग्राहकलाई आधुनिक, सुरक्षित र सहज बैंकिङ सेवा प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ । साथै बैंकले आगामी दिनमा थप प्रविधिमैत्री तथा ग्राहककेन्द्रित वित्तीय सेवा विस्तार गर्दै डिजिटल बैंकिङ क्षेत्रमा नवीन सेवा ल्याउने प्रतिबद्धता जनाएको छ ।