एक मिलियन वृक्षरोपण अभियानका लागि सन नेपाल लाइफ र लुम्बिनी वर्ल्ड पीस फोरमबीच सम्झौता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले दीर्घकालीन सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी वर्ल्ड पीस फोरमसँग संयुक्त रूपमा ‘वान मिलियन ट्रीज क्याम्पेन’ सञ्चालन गर्न औपचारिक सम्झौता गरेको छ । प्राकृतिक संरक्षण, वातावरणीय सन्तुलन र हरियाली विस्तारलाई मुख्य उद्देश्य बनाइएको यो अभियानले देशभरका समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ । कम्पनीका अनुसार एक मिलियन रूख रोप्ने यस अभियानले जलवायु परिवर्तनका चुनौतीहरू न्यूनीकरण गर्न, कार्बन उत्सर्जन घटाउन र देशभर हरियाली वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । वातावरणीय सन्तुलन कायम गर्दै भविष्यका पुस्तालाई सुरक्षित र स्वस्थ वातावरण प्रदान गर्नु यस अभियानको मूल लक्ष्य हो । सहकार्यपछि कम्पनीले सबै प्रदेशमा शाखामार्फत अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सले हाल देशभर १४८ वटा शाखा तथा उपशाखाबाट सेवा प्रदान गर्दै आएको छ ।

नबिल बैंकको​​​​​​​ मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

काठमाडौं । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी गरेको छ । बैंकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले काठमाडौंमा आयोजित एक कार्यक्रममा नयाँ डेविट कार्ड जारी गरेको जनाएको छ । कार्यक्रममा नबिल बैंक र मास्टरकार्डका तर्फबाट वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई उच्चस्तरीय सुविधा दिने बैंकको प्रतिबद्धतामा यो नयाँ उपलब्धि भएको बताए । उनले भने, 'बैंकले सुरुआतदेखि नै ग्राहकलाई विश्वस्तरीय सुविधा उपलब्ध गराउँदै आएको छ, यसै यात्रामा नयाँ डेविट कार्ड जारी गरिएको हो ।'  मास्टरकार्ड, दक्षिण एसियाका प्रडक्ट एण्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि दातलाले आफूहरु नयाँ डेविट कार्ड जारी गरी नबिल बैंकसँगको सहकार्यलाई थप बलियो बनाउन पाउँदा खुसी लागेको बताए ।  मास्टरकार्डमार्फत आफूहरु ग्राहकलाई सुरक्षित र सहज भुक्तानीको सुविधा उपलब्ध गराउन प्रतिबद्ध भएको उनको भनाइ छ । नयाँ डेविट कार्डमार्फत ग्राहकहरुले मास्टरकार्डको विश्वस्तरीय सञ्जाल तथा दैनिक जीवनमा नयाँ बैंकिङ सेवाको अनुभव लिन पाउने बैंकले जनाएको छ । बैंकका अनुसार नयाँ डेविट कार्ड आकर्षक डिजाइनमा उपलब्ध हुनेछ । जसमा शालीनता, स्वतन्त्रता र राष्ट्रिय गौरवको प्रतिक मानिने नेपालको राष्ट्रिय चरा डाँफेको चित्र अंकित गरिएको छ ।   मास्टरकार्डको नयाँ डेविट कार्ड प्रयोगकर्ताले प्रिमियम सुविधा पाउनेछन् । जसमा विभिन्न रेष्टुरेन्ट, स्पा, फिटसेन सेन्टर तथा मनोरञ्जनका क्षेत्रमा छुट उपलब्ध हुनेछ ।  ​​​​​​​नबिल बैंक मास्टरकार्डको एक प्रमुख सदस्य हो । नबिल बैंक नेपालमा मास्टरकार्डको क्रेडिट कार्ड जारी गर्ने नेपालको पहिलो बैंक पनि हो । बैंकले मास्टरकार्डको क्रेडिट कार्ड नेपाली रुपैयाँ र अमेरिकी डलरमा कारोबार गर्न मिल्ने गरी उपलब्ध गराउँदै आएको थियो । कार्ड प्राप्त गर्नका लागि ग्राहकले बैंकको कुनै पनि शाखा वा एनबैंक एपमार्फत आवेदन दिनसक्ने जनाइएको छ ।

गरिमा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, १०.५३ प्रतिशत लाभांश पारित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा बिहीबार कास्कीको पोखरा महानगरपालिका–१४ स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । सभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ । साधारणसभाले आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गरेको छ । साथै, आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य सामान्य प्रस्तावहरू पनि सभाले स्वीकृत गरेको छ । सभाले विशेष प्रस्तावहरू पनि पारित गरेको छ । ती अन्तर्गत बैंकको अधिकृत पूँजी ६ अर्ब १० करोड पुर्‍याउने, केन्द्रीय कार्यालयलाई काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने, छाप र लोगो परिवर्तन गर्ने, तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने निर्णय गरिएका छन् । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ ५७ पैसा रहेकोमा, यस साधारणसभाबाट पारित ६ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा पुग्नेछ । देशभर १२६ शाखा कार्यालय र ५१ एटिएम मार्फत सेवा विस्तार गरिरहेको गरिमा विकास बैंकले डिजिटल बैंकिङ प्रणालीमार्फत ग्राहकहरूलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ।