महालक्ष्मी विकास बैंकले ल्यायो परिमार्जित सुनचाँदी धितो कर्जा योजना
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले आकर्षक सुविधासहित परिमार्जित सुनचाँदी धितो कर्जा योजना सार्वजनिक गरेको छ । नयाँ वर्षलाई लक्षित गर्दै तथा नेपाली बजारमा सुन तथा चाँदीप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गरी बैंकले प्रतिस्पर्धी ब्याजदरमा सुनचाँदी धितो कर्जा उपलब्ध गराउने जनाएको हो । बैंकका अनुसार कम ब्याजदर, छरितो प्रक्रिया र सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिबद्धतासहित यो कर्जा सुविधा प्रदान गरिनेछ । यस अन्तर्गत ग्राहकहरूले सुन वा चाँदी धितो राखी कर्जा उपभोग गर्न सक्नेछन् भने कुनै पनि आधिकारिक विक्रेताबाट सुनचाँदी खरिद गर्नसमेत कर्जा सुविधा उपलब्ध हुनेछ । सो योजनाअन्तर्गत कर्जाको अधिकतम सीमा ५० लाख रुपैयाँ तोकिएको छ । ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले हाल यो सेवा न्युरोड (काठमाडौं), न्युरोड (पोखरा), महाराजगञ्ज, हेटौँडा र भैरहवा शाखामार्फत सञ्चालन गरिने बैंकले जनाएको छ । यद्यपि, सुनचाँदी धितो कर्जाको आवेदन भने बैंकका जुनसुकै शाखा कार्यालयमार्फत पेश गर्न सकिनेछ । ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने विश्वास व्यक्त गर्दै बैंकले आगामी दिनमा पनि ग्राहकहितलाई केन्द्रमा राखी विभिन्न अवसर र चाडपर्वमा नवीनतम् सेवा तथा सुविधा ल्याउँदै जाने जनाएको छ । 'सबल बैंक, सफल सहकार्य' भन्ने नाराका साथ विगत ३१ वर्षदेखि निरन्तर गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका देशभर करिब ८ लाखभन्दा बढी ग्राहक रहेका छन् ।
२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, ५ अर्बको कारोबार
काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० अंकले बढेर २६३३ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १६३ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३४२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार ग्रीन भेन्चरको भएको छ । ग्रीन भेन्चरको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै बन्दिपुर केबलकारको १५ करोड, श्रीनगर एग्रीटेकको १३ करोड, हिमालयन रिइन्स्योरेन्सको १२ करोड ९१ लाख र शिवम् सिमेन्टको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । एसवाई प्यानल र न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । बुधबारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह १.६१ प्रतिशतले बढेको छ ।
सामुदायिक लघुवित्तले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । पुस १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको जनाएको छ । गत वर्ष पनि लघुवित्तले लाभांश वितरण गरेको थिएन ।