सूर्यज्योति लाइफ इन्स्योरेन्सले १३ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । निर्णयअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँ ४६ पैसाको कुल १३ प्रतिशत अर्थात् ६५ करोड १५ लाख ५३ हजार २१३ रुपैयाँ ६७ पैसा बराबरको नगद लाभांश (करसहित) वितरण गर्नेछ । घोषित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

ग्लोबल आइएमई लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले  सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ६१ करोड ८९ लाख ४५ हजार रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअन्तर्गत ४.७५ प्रतिशत अर्थात् २ करोड ९३ लाख ९७ हजार ७५२ रुपैयाँ १४ पैसा बराबरको बोनस सेयर तथा कर प्रयोजनार्थ ०.२५ प्रतिशत अर्थात् १५ लाख ४७ हजार २५० रुपैयाँ ११ पैसा बराबरको नगद लाभांश समावेश छ । घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।  

राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।      केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी आफूले लिन चाहेको मुद्दती निक्षेप बराबरको रकम र ब्याजदरसमेत प्रस्ताव गरी यही पुस ७ गतेभित्र आवेदन दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।      सूचनाअनुसार, क वर्गका वाणिज्य बैंकमा रु ९६ करोड, ख वर्गका विकास बैंकमा रु १८ करोड र ग वर्गका वित्त कम्पनीमा रु छ करोड बराबरको रकम लगानी गर्न लागेको हो ।     बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम कूल पूँजीकोष कायम रहेको, कूल कर्जा सापटीको आठ प्रतिशत र खुद् निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्नेलगायतका शर्त पूरा गरेको हुनुपर्नेछ ।