कृषि विकास बैंकको १९औँ साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १९औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । बैंकको साधारण सभाले १३ प्रतिशत लाभांश पारित गरेको छ । बैंकका सञ्चालक समिति अध्यक्ष डिमप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीलाई चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभामा पारित प्रस्तावअनुसार लाभांश यथाशीघ्र सेयरधनीलाई उपलब्ध गराइने प्रतिबद्धता बैंकले जनाएको छ । सभामा बैंकको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पनि अनुमोदन गरिएको छ । सभामा बैंकले हाल देशभर २८५ वटा कार्यालयमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको जानकारी गराएको छ । बैंकले दुर्गमदेखि सुगम क्षेत्रसम्म आफ्नो बृहत कार्यसञ्जाल विस्तार गर्दै आएको र वाणिज्य बैंकहरूमध्ये कृषिमा सबैभन्दा बढी लगानी गर्ने बैंकको रूपमा आफूलाई स्थापित गरेको दाबी गरेको छ । साधारण सभामा नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधि मुक्तीरमण पराजुलीसहित ९ जना वक्ताले आफ्ना धारणा राखेका थिए भने केही सेयरधनीले लिखित मन्तव्यसमेत प्रस्तुत गरेका थिए । सेयरधनीहरूले उठाएका जिज्ञासाबारे अध्यक्ष पौडेलले स्पष्ट पार्दै प्राप्त सुझावहरूलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । सेयरधनीहरूको उल्लेख्य उपस्थिति रहेको सभामा विभिन्न निकाय तथा संस्थाका प्रतिनिधि, बैंकका उच्च व्यवस्थापन, कर्मचारी र सञ्चालक समिति सदस्यहरू सेवन्तक पोखरेल, डा. हरिबहादुर केसी, गोविन्दप्रसाद भट्टराई, संजीव पौडेल, विनोदकुमार गुरागाईं, रीता सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिति रहेको थियो । साधारण सभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।
मेटलाइफ नेपालले मनायो २४औँ वार्षिकोत्सव
काठमाडौं । मेटलाइफ नेपालले यस महिना आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ । यो अवसरले देशभरका लाखौँ मानिसहरूको जीवन र भविष्यको संरक्षणप्रति कम्पनीको निरन्तर प्रतिबद्धता र दीर्घकालीन विकासलाई अझ सुदृढ बनाएको कम्पनीले जनाएको छ । विगत वर्षहरूमा मेटलाइफ नेपालले जीवनका सुख–दुःख, परिवर्तन र चुनौतीपूर्ण क्षणहरूमा नेपाली परिवारको साथ दिँदै आएको छ । आफ्नो यात्राको क्रममा कम्पनीले डिजिटल प्रविधि र सरलीकृत प्रक्रियामार्फत ग्राहक पहुँच र सुविधा विस्तारमा उल्लेखनीय लगानी गरेको छ। यसै क्रममा मेटलाइफ नेपालले ‘३६० हेल्थ सेवा’ र ‘वान बाइ मेटलाइफ’ मोबाइल एपमार्फत स्वास्थ्य व्यवस्थापन सेवा सुरु गर्ने नेपालकै पहिलो बीमा कम्पनीको रूपमा आफूलाई स्थापित गरेको छ । वैश्विक अनुभव र स्थानीय आवश्यकताको गहिरो बुझाइलाई संयोजन गर्दै मेटलाइफ नेपालले नेपाली परिवारलाई प्रदान गर्दै आएको मार्गदर्शन र सहयोगलाई निरन्तर सुदृढ बनाइरहेको जनाएको छ । मेटलाइफ बंगलादेश, मलेसिया, नेपाल तथा भियतनामका प्रमुख (हेड) इलेना बुटारोभाले आगामी वर्षहरूलाई लिएर उत्साह व्यक्त गर्दै भनिन्, 'नेपालसँगै अघि बढ्दै हाम्रा ग्राहकहरूको भविष्यप्रति थप आत्मविश्वास निर्माण गर्ने हाम्रो उद्देश्य पूरा गर्न हामी प्रतिबद्ध छौँ।' यस वर्ष ‘ग्रेट प्लेस टु वर्क’ मान्यता प्राप्त गर्न सफल भएकोमा मेटलाइफ नेपालले आफ्ना सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरेको छ । साथै, स्वास्थ्य, वित्तीय साक्षरता, शिक्षा, वातावरणीय सचेतना र सामुदायिक उत्थानजस्ता सामाजिक तथा कल्याणकारी पहलहरूमा कर्मचारीहरूको निरन्तर समर्पणप्रति कम्पनीले प्रशंसा व्यक्त गरेको छ । मेटलाइफ नेपालले सुरक्षा जीवनका सबै आयाममा फैलिनुपर्ने अवधारणालाई आत्मसात् गर्दै अघि बढिरहेको जनाएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारण सभाबाट १९ प्रतिशत लाभांश पारित
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश ३९औँ वार्षिक साधारण सभाबाट पारित गरेको छ । सोमबार काठमाडौंको आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले बैंकको हाल कायम चुक्तापूँजीको १९ प्रतिशत दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरू पनि पारित गर्यो । सभामा सम्बोधन गर्दै बैंकका अध्यक्ष वेणुगोपाल रंगनाथनले लगानीकर्ता, ग्राहक, नियामक निकाय, कर्मचारी तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरे । उनले नेपालमा एकमात्र अन्तर्राष्ट्रिय बैंकको रूपमा स्ट्यान्डर्ड चार्टर्ड बैंक विविधताको माध्यमबाट व्यापार र समृद्धि प्रवर्द्धन गर्ने उद्देश्यमा दृढ रहेको बताए । हाल बैंकमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकले नेपालमा आर्थिक वृद्धिमा योगदान पुर्याउँदै उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।