‘मौद्रिक नीति छिटो ल्याएका छौं, अब बैंकलाई आगामी वर्षका कार्यक्रम बनाउन सहज हुनेछ’
काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूले पर्याप्त विश्लेषण गरेर कार्यान्वयन मुखी आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याइएको बताएका छन् । मौद्रिक नीति सार्वजनिक पछि राष्ट्र बैंकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले धेरै पहिल्यैदेखि तयारी गरेर मौद्रिक नीति ल्याइएको बताए । उनका अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने दिनको गोपनीयता राखिएको हो । खरेलले भने, ‘राष्ट्र बैंक ऐनले पनि आगामी बर्षको मौद्रिक नीति तर्जुमा गर्ने भनेको छ । यही महिनामै ल्याउनुपर्ने हो । कहिले यही महिनाको अन्त्यमा त कहिले साउनको पहिलो साता मौद्रिक नीति ल्याउने गरिएको छ । विगतमा बजेट आउन ढिलो हुँदा मौद्रिक नीति आउन समय लाग्ने गरेको थियो । १/२ गते नै सर्कुलर गरेर मौद्रिक नीतिलाई कार्यान्वयनमा लैजानेछौँ । नयाँ आर्थिक वर्ष सुरु भए लगत्तै कार्यान्वयनको गति बढ्नेछ ।’ नेपाल राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले आगामी दिनमा पनि आर्थिक वर्ष शुरु हुनु अगावै मौद्रिक नीति ल्याउन कोसिस गरिने बताए । आगामी आवको मौद्रिक नीतिलाई केही दिनअघि नै ल्याइँदा आवश्यक तयारी पुरा गर्न सहज हुने उनको विश्वास छ । पौडेलले भने, ‘यो मौद्रिक नीतिको ठूलो स्टेक होल्डर बैंक वित्त संस्था हो । बैंक तथा वित्तीय संस्थाले आगामी वर्षमा गर्नुपर्ने कार्यक्रमहरू, योजनाहरू बजेटहरुलाई पनि यो मौद्रिक नीतिले दिशा निर्देश गरेअनुसार कार्यान्वयन गर्न सहज हुनेछ । अब आगामी आवको योजनाहरू बैंक तथा वित्तीय संस्थाहरूले मौद्रिक नीतिलाई आधार बनाएर बनाउन सक्नेछन् ।’ उनले रामेश्वर खनाल नेतृत्वको आर्थिक सुधार आयोगको प्रतिवेदन, मौद्रिक नीति सुझाव समितिका प्रतिवेदनहरूलाई मौद्रिक नीतिले समेटेको बताए ।
सेयर बजारमा छायो हरियाली, १६१ कम्पनीको मूल्य बढ्यो
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५ अंकले बढेर २७ सय ३१ बिन्दुमा पुगेको हो । आज १६१ कम्पनीको मूल्य बढ्दा ८७ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३१२ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेण्टको भएको छ । एनआरएनको ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ३२ करोड, सानिमा बैंकको २६ करोड, सप्तकोशी डेभलपमेन्ट बैंकको १९ करोड र सीइडीबी होल्डीङसको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा मकर खोला हाइड्रोको ८.१५ प्रतिशत, मान्दु हाइड्रोको ६.७६ प्रतिशत, समता घरेलु लघुवित्तको ६.५७, भगवती हाइड्रोको ६.५२ प्रतिशत र सनिमा बैंकको ४.८० प्रतिशतले सेयर मूल्य बढेको छ ।
२५ खर्ब ६९ अर्ब रुपैयाँ पुग्यो विदेशी मुद्रा सञ्चिति, १७.६ महिनाको आयात धान्ने
काठमाडौं । चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा विदेशी मुद्रा सञ्चिति (विदेशी विनिमय) २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशत अर्थात् ५ खर्ब २८ अर्ब २८ करोड रुपैयाँ वृद्धि भएको हो । २०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति जेठसम्ममा २२.२ प्रतिशतले वृद्धि भई १८ अर्ब ६५ करोड पुगेको छ । जबकी २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड मात्रै विदेशी मुद्रा सञ्चिति थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा २३ प्रतिशतले वृद्धि भई २२ खर्ब ७४ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । गत वर्षको असारमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । यस्तै, बैंक तथा वित्तीय संस्थासँग २०८१ असारमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ जेठमा ५३.२ प्रतिशतले वद्धि भई २ खर्ब ९४ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । जेठसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.५ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ जेठमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४२.१ प्रतिशत, १२२.९ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।