मंगलम इन्डष्ट्रिजमा अवसर इक्विटी डाइभर्सिफाइड फण्डले ३८ करोड लगानी गर्ने
काठमाडौं । मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल) ले निजी इक्विटी फण्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबाट झन्डै ३८ करोड रुपैयाँ बराबरको रणनीतिक लगानी हासिल गरेको छ । मंगलबार जारी प्रेस विज्ञप्तिमा कम्पनीले नेपालको उच्च वृद्धिसम्भावना भएका व्यवसायहरूलाई सशक्त बनाउन प्रतिबद्ध सो फण्डबाट प्राप्त लगानीलाई भविष्यप्रतिको लगानीकर्ताको गहिरो विश्वास र कम्पनीको विकास यात्राप्रति ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरिएको छ । कम्पनीका अनुसार यो लगानीले कार्यसंचालन प्रक्रियाको सुदृढीकरण, उत्पादनमा नवप्रवर्तन ल्याउने तथा नेपाल र अन्तर्राष्ट्रिय बजारमा उपस्थितिको विस्तार गर्ने दिशामा मद्दत गर्नेछ । मंगलम इन्डष्ट्रिजले उक्त लगानी मुख्यतः वित्तीय अवस्था मजबुत पार्न, दिगोपन र उत्कृष्टता हासिल गर्न प्रयोग गरिने जनाएको छ । साथै, अवसर इक्विटी डाइभर्सिफाइड फण्डसँगको सहकार्यले कम्पनीलाई नयाँ व्यवसायिक अवसरको खोज, गुणस्तरीय उत्पादन, र नवप्रवर्तनका नयाँ मापदण्ड तय गर्न प्रेरित गर्ने विश्वास पनि व्यक्त गरिएको छ ।
मौद्रिक नीतिले आर्थिक गतिविधि विस्तार गर्ने अपेक्षा : सीएनआई
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई समग्रमा सकारात्मक ठहर गर्दै आर्थिक गतिविधि विस्तार हुने अपेक्षा व्यक्त गरेको छ । परिसंघका अनुसार चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई उद्योग व्यवसायको प्रकृति र कर्जा भुक्तानी-आम्दानी चक्रका आधारमा परिमार्जन गर्ने घोषणा सराहनीय छ । तथापि, उत्पादनमुखी उद्योग, निर्माण क्षेत्रलगायतलाई समेट्ने गरी थप स्पष्टता आवश्यक रहेको बताइएको छ । कर्जाको वर्गीकरण र नोक्सानी व्यवस्थालाई पुनरावलोकन गर्ने र क्रेडिट स्कोरको आधारमा कर्जा प्रवाह गर्न दिने निर्णयलाई परिसंघले सकारात्मक संकेतका रूपमा स्वागत गरेको छ । साना तथा मझौला उद्यमलाई लक्षित गर्दै हुलाकी तथा मध्यपहाडी लोकमार्ग आसपासका उद्योगले लिने ३ करोडसम्मको कर्जामा ब्याजमा २५ प्रिमियम रहने व्यवस्था, विपन्न वर्गका महिला र वैदेशिक रोजगारमा जाने युवाका लागि कर्जा सीमा निर्धारणजस्ता उपायहरूले पुँजी प्रवाहमा सहजता ल्याउने विश्वास परिसंघको छ । पूर्वाधारमा लगानी प्रवर्द्धन गर्ने संस्थाहरूले जारी गर्ने डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न सक्ने व्यवस्था, लघुवित्तमा लाभांश सीमा पुनरावलोकन, आवासीय कर्जाको सीमा वृद्धिलगायत उपायहरूलाई पनि परिसंघले स्वागत गरेको छ । ब्याजदर करिडोर घटाइएको, नीतिगत दर समायोजन गरिएको, र ऋणपत्र निष्कासनका उपायहरूमार्फत बैंकिङ प्रणालीमा संरचनागत तरलता व्यवस्थापनमा सहयोग पुग्ने विश्वास परिसंघको छ । त्यस्तै, बैंकहरूलाई स्वनियमनमा रही कर्जा प्रवाह गर्न दिने व्यवस्था, निजी क्षेत्रको पूँजी निर्माणमा ध्यान दिने नीति, र सेयर धितोमा कर्जा सीमा २५ करोडसम्म पुर्याउने घोषणाले पुँजीबजारलाई टेवा पुग्ने धारणा परिसंघले राखेको छ । राष्ट्र बैंकले आगामी वर्ष १२ प्रतिशत कर्जा विस्तार र ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको सन्दर्भमा, त्यसलाई प्राप्त गर्न थप नीतिगत हस्तक्षेप आवश्यक पर्ने परिसंघको धारणा छ । साथै, परिसंघले एमसीएलआर र ईबीएलआरमा प्रणालीतर्फ जानुपर्ने, र निर्देशित क्षेत्रको कर्जा सीमा यथोचित रूपमा घटाउँदै लैजानुपर्ने जस्ता सुझावहरू आगामी निर्देशन वा समीक्षामा सम्बोधन हुने अपेक्षा व्यक्त गरेको छ ।
सिटी एक्सप्रेसको १९औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले असार २७ गते १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको अवसरमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। 'रक्तदान जीवनदान - हामी सबैको योगदान' भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रम कम्पनीको कमलादीस्थित केन्द्रिय कार्यालय प्रांगणमा सम्पन्न भयो । कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो। त्यसै अवसरमा कम्पनीले वार्षिकोत्सवका अवसरमा वर्षका उत्कृष्ट कर्मचारीहरूलाई सम्मान र पुरस्कार समेत प्रदान गर्यो । कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर तथा चर्चित हास्यकलाकार जितु नेपालको पनि विशेष उपस्थिती रहेको थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत १८ वर्षदेखि विश्वभरबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ । हालै कम्पनीले आफ्नै डिजिटल भुक्तानी प्लेटफर्म ‘सिटी पे’ वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुरु गरेको छ । सोही वालेटबाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिने व्यवस्था गरिएको छ ।