काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि तालिम तथा मनोरञ्जनात्मक कार्यक्रम चितवनको नारायणगढमा सम्पन्न भएको छ । वैशाख ६, ७ र ८ गतेसम्म तीन दिन सञ्चालन गरिएको उक्त कार्यक्रममा विविध तालिम र मनोरञ्जनात्मक गतिविधि समावेश गरिएको थियो ।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले व्यवसायिक जीवनमा सफल अभिकर्ताहरूलाई अझ प्रखर बनाउन यस्ता क्षमता अभिवृद्धि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । उनले ज्ञान र मनोरञ्जनलाई सँगसँगै अघि बढाउँदै आएको कम्पनीको अभ्यासले अभिकर्ताहरूलाई ऊर्जा प्रदान गर्ने बताए ।
कार्यक्रममा कम्पनीसँग आबद्ध १५० भन्दा बढी अभिकर्ता लिडरहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका लाइफ इन्स्योरेन्स कोच काजिम रजाद्वारा बीमा बिक्री कला तथा व्यवसायिक क्षमता अभिवृद्धिसम्बन्धी विशेष सत्र सञ्चालन गरिएको थियो । व्यवहारिक बिक्री कलासम्बन्धी उक्त सत्रले सहभागीहरूमा थप उत्साह र ऊर्जा थपेको बताइएको छ ।
कार्यक्रमको अर्को आकर्षणका रूपमा कलाकारहरू चक्र दवाडी, सुबोध गौतम र सीता न्यौपानेको प्रस्तुति रहेको थियो । उनीहरूले सहभागी अभिकर्ता लिडरहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
कम्पनीले अभिकर्ताहरूको दक्षता अभिवृद्धि गर्न निरन्तर रूपमा मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ ।