आइएमई पे र आइसीएफसी फाइनान्सबीच सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र आइसीएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइसीएफसी फाइनान्सका खाताबाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा आइएमई पे का तर्फबाट सञ्चालक खिलेन्द्र पौडेल र आइसीएफसी फाइनान्सका तर्फबाट सामान्य सेवा विभाग प्रमुख सञ्जय थपलियाले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा नरेश शाक्य चयन

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सञ्चालक समितिको अध्यक्षमा नरेश शाक्य चयन भएका छन् । शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग अफिसमा कार्यकारी निर्देशक रहेका छन् । त्यसैगरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजिजकी निर्देशक कुशुम लामालाई निर्देशकको रुपमा नियुक्त गरेको छ । नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीनजना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट एक-एक जनाप्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।

बीओके क्यापिटलले शुरु गर्यो पोर्टफोलियो ब्यवस्थापन सेवा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त बीओके क्यापिटल मार्केट लिमिटेडले सेवाग्राहीको लगानीलाई व्यवस्थापन गर्नको लागि पोर्टफोलियो ब्यवस्थापन(पीएमएस) सम्बन्धी कार्य शुरु गरेको छ । मंगलबारबाट सञ्चालन गरेको पीएमएसबाट आफूसँग भएको पूँजी लगानी गर्न पर्याप्त समय तथा पूर्ण दक्षताको कमी महशुस भएको कारण कम्पनीका दक्ष अनुभवी व्यक्तिहरुबाट सेवाग्राहीले सहजै सेवा लिन सक्ने छन् । लगानीकर्ताको आवश्यकतालाई मध्य नजर गरी पोर्टफोलियो व्यवस्थापन(पीएमएस) अन्तरगत स्वेच्छिक लगानी व्यवस्थापन सेवा तथा गैर स्वच्छिक लगानी व्यवस्थापन सेवा गरी २ प्रकारका सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीले धितोपत्र बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार, निक्षेप सदस्य र सेयर प्रत्याभूतिकर्ताका सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।