नेपालको आर्थिक विकासमा सहयोग गर्ने -अमेरिकी राजदूत एलैना बि टेप्लिज
काठमाडौं, ४ कात्तिक । उद्योगमन्त्री नवीन्द्रराज जोशी र नेपालका लागि अमेरिकी राजदूत एलैना बि टेप्लिजले बिहिबार उद्योग मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरुबीच भएको भेटवार्तामा उद्योगमन्त्री जोशीले संविधान निर्माण पछिको वर्तमान अवस्थामा आर्थिक समृद्धि हासिल गर्न उद्योग मन्त्रालय लगानीको वातावरण बनाउन क्रियाशील रहेको बताए । सो अवसरमा उनले लगानीकर्तालाई आश्वस्त बनाउन मन्त्रालयले नीतिगत सुधार र उद्योगमैत्री वातावरण बनाउन लागि परेको मन्त्रालयले प्रयास गरिरहेको जानकारी दिए । उद्योगमन्त्री जोशीले नीतिगत सुधारका क्रममा अहिले विशेष आर्थिक क्षेत्र(सेज) र औद्योगिक व्यावसाय प्रवद्र्धन ऐन संसद्बाट पास भइसकेको र कम्पनी ऐन, वैदेशीक लगानीसम्बन्धी कानुन र बौद्धिक सम्पत्तिसम्बन्धी कानुन पास हुने क्रममा रहेको जानकारी दिए । भेटका अवसरमा उनले विदेशी लगानीसम्बन्धी कानुनले विदेशी लगानीका स्वरुपलाई स्पष्टरुपमा परिभाषित गरेको, प्रविधि हस्तान्तरणका स्वरुप र विदेशी लगानी प्रवद्र्धनका लागि लगानी प्रवद्र्धन बोर्डको स्थापना गरेको उल्लेख गरे । त्यसैगरी गैरआवासीय नेपालीको लगानीमा थप सहजता, विदेशी लगानीको प्रवेश र बहिर्गमनका सम्बन्धमा स्पष्ट व्यवस्था गरिएको तथा जग्गा प्राप्तिलाई सहजीकरण गरिएको जस्ता विशेषता प्रस्तावित नीतिमा उल्लेख भएको मन्त्री जोशीले बताए । औद्योगिक वातावरणका लागि आवश्यक नीतिहरुको तर्जुमापछि आगामी मार्च महिनामा उद्योग मन्त्रालयले विदेशी लगानीकर्ता सम्मेलन गर्ने तयारी गरिएको भन्दै त्यसमा अमेरिकी लगानीकर्ताको समेत उल्लेख्य सहभागिताका लागि अनुरोध गरेका थिए । भेटमा अमेरिकी राजदूत टेप्लिजले उद्योग मन्त्रालयको अहिलेको कार्यप्रति सन्तोष व्यक्त गर्दैै नेपालको आर्थिक विकासमा सहयोग गर्न आफूहरु तयार रहेको बताए । नेपालले बौद्धिक सम्पत्तिसम्बन्धी नीति तयार गर्दा आफ्नो मुलुकको साथै वैदेशीक लगानीकर्ताको हितलाई समेत सम्बोधन गर्न सक्नुपर्ने सुझाव उनको थियो । नेपालमा उद्योग विकासको प्रशस्त सम्भावना रहेको भन्दै राजदूत टेप्लिजले आर्थिक विकासका लागि व्यावसायिक वतावरण बन्न जरुरी रहेको बताए ।
भाेलि उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा हुने, उच्च अदालतद्धारा हिजाेकाे अन्तरिम आदेश खारेज
काठमाडौं, ३ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघले कात्तिक ४ गतेको लागि आह्वान गरेको विशेष साधारणसभा हुने भएको छ । पाटन उच्च अदालतले कात्तिक २ गते जारी गरेको अन्तरिम आदेश कात्तिक ३ गते (आज) खारेज गर्दै पूर्व घोषित विशेष साधारणसभा आयोजना गर्न बैधानिक बाटो खुला गरिदिएको छ । महासंघको विधान संसोधन गर्नको लागि बोलाइएको उक्त विशेष साधारणासभा विधिसम्मत नभएको भन्दै महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकार र महासंघका कार्यकारिणी सदस्य गोविन्द घिमिरेले विशेषसाधारणसभा रोक्न अन्तरिम आदेशको माग गर्दै अदालत उजुरी दर्ता गराएका थिए । उक्त उजुरी माथि सुनुवाई गर्दै उच्च अदालत, पाटन ललितपुरले विशेष साधारणसभाको प्रक्रिया यथास्थितिमा राख्न कात्तिक २ गते आदेश दिएको थियो । उच्च अदालतले हिजोको अन्तरिम आदेश खारेज गर्ने निर्णय गरको महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । ‘अन्तरिम आदेश खारेज भएको छ । भोली (४गते)को विशेष साभारणसभा हुन्छ’ उच्च अदालत परिसरमा विकासन्युजसँग कुरागर्दै मुरारकाले भने । याे पनि पढ्नुहाेस् : महासंघलार्इ चुनाव लाग्याे, भवानी राणालाई अध्यक्ष बनाईदै, उपाध्यक्षमा कडा प्रतिस्प्रर्धा हुने
नेपालको पूर्वाधार निर्माणमा लगानी गर्न चिनीया लगानीकर्ता इच्छुक
काठमाडौं, ३ कात्तिक । उद्योग मन्त्री नवीन्द्रराज जोशी र चिन सरकारका उद्योग वाणिज्यको प्रशासन हेर्ने मन्त्री झाङ माओबीच बुधबार उद्योग मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा उनीहरुबीच नेपाल चीन सम्बन्ध र नेपालको समग्र आर्थिक विकासमा चिनीया सहयोगका विषयमा छलफल भएको उद्योगमन्त्री जोशीले जानकारी दिए । भेटका असरमा उद्योगमन्त्री जोशीले संविधान निर्माणपछिको अहिलेको अवस्थामा नेपालका सबै राजनीतिक दलहरुको ध्यान आर्थिक समृद्धितर्फ गएको भन्दै नेपालमा लगानीको वातारण तयार भएको बताए । लगानीलाई संरक्षण गर्न उद्योग मन्त्रालयले अहिले कानुनीरुपमा नै प्रत्याभूति दिने तरिकारले अगाडि बढीरहेको जानकारी दिँदै उद्योगमन्त्री जोशीले यस क्रममा आफ्नो मन्त्रालयले विशेष आर्थिक क्षेत्र(सेज)सम्बन्धी ऐन, औद्योगिक व्यावसाय प्रवद्र्धनसम्बन्धी ऐन संसद्बाट पारित गरि कार्यान्वयमा ल्याउने चरणमा रहेको बताए । उनले कम्पनी ऐन, वैदेशीक लगानीसम्बन्धी ऐन र बौद्धिकसम्बन्धी ऐन छिट्टै संसद्बाट पारित गराउने प्रकृयामा उद्योग मन्त्रालय लागिरहेको उल्लेख गरेका छन् । उद्योगमन्त्री जोशीले नेपालले निर्माण गर्न लागेको विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माणमा चिनीया सहयोगका लागि आग्रह गरेका छन् । भेटमा चिनीया मन्त्री झाङले नेपालमा लगानी गर्न चिनीया लगानीकर्ता इच्छुक रहेको बताइका छन् । त्यसैगरी उनले नेपालको साना तथा घरेलु उद्योगका क्षेत्रमा चिनीया प्रविधिलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा सहयोग गर्न तयार रहेको बताए । चीनले गरेको आर्थिक उन्नतीबाट नेपालले पनि प्रशस्तै फाइदा लिन सक्ने भन्दै मन्त्री झाङले औद्योगिक क्षेत्रमा चीनले हासिल गरेको विज्ञतालाई नेपाले उपयोग गर्न सक्ने बताएका छन् । उनीहरुबीच दुई देशका युवा तथा महिलाको सिर्जशीलता एवम् नविनतम् उद्यमशीलताको विकासका लागि द्विपक्षीय सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको थियो ।