विराटनगर जुटमिल सञ्चालनका लागि गृहकार्य भइरहेको छः प्रम दाहाल

विराटनगर, २६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले देशभरका सबै रुग्ण सरकारी उद्योग सञ्चालनका लागि अध्ययन भइरहेको बताएका छन् । विराटनगरको ऐतिहासिक उद्योग विराटनगर जुटमिलको आज स्थलगत अवलोकन तथा निरीक्षणको क्रममा उनले भने – यस उद्योगलाई सञ्चालनमा ल्याउन सरकारले गृहकार्य गरिरहेको छ । प्रधानमन्त्री दाहालले “नेपालकै औद्योगिक इतिहासमा अग्रेणी भूमिका निर्वाह गरेको यो उद्योग बन्द हुनु लज्जा, हृदय बिदारक छ” भन्दै “बिगतमा निजीकरणको नाममा थुप्रै उद्योग धारासायी भए, मैले सरकारको नेतृत्व सम्हालेपछि जीर्ण उद्योग सञ्चालनका लागि अथक प्रयास गर्दै आएको छु ।” यो उद्योगका साथै हेटौँंडाको कपडा उद्योगलगायत सरकारी उद्योग सञ्चालनका लागि अध्ययन भइरहेको उनले स्पष्ट पारेका छन् । प्रधानमन्त्री दाहालले विराटनगर जुटमिलमा विद्युत् नभएर सञ्चालन नभएको विषयमा ऊर्जा मन्त्रालयमार्फत समाधान गर्ने र जग्गाको विषयमा पनि सम्बन्धित मन्त्रालयलाई समाधान गर्न निर्देशन दिने बताए। आफूले जुटमिललाई के गर्ने भन्ने विषयमा एउटा उद्देश्य लिएरै भ्रमण गरेको बताउँदै उनले जुट उद्योगको समग्र समस्या समाधानका विषयमा भारतको गोवामा हालै भारतीय प्रधानमन्त्रीसँग पनि छलफल भएको जानकारी दिए । रासस

युनाइटेड सिमेन्टद्धारा निर्माणकर्मीलाई भुकम्प प्रतिरोधात्मक निर्माण सम्वन्धी तालिम

काठमाडौं, २६ कात्तिक । यूनाइटेड सिमेन्ट्स उद्योगले निर्माणकर्मीलाई लक्षित गरी भूकम्प प्रतिरोधात्मक निर्माण तथा रेट्रो फिटिङ सम्बन्धी प्राविधिक तालिम दिएको छ । उद्योगका अनुसार भूकम्पपछिको निर्माणलाई मजबुत बनाउने तथा गुणस्तरीय सामाग्री मात्रै प्रयोग गर्ने गराउने उद्देश्यले उक्त तालिम दिइएको हो । ललितपुरको लेलेमा अवस्थित आफ्नै चुनढुङ्गा खानीबाट गुणस्तरीय चुनढुङ्गा उत्खनन् गरी ओ.पि.सी. सिमेन्ट मात्र उत्पादन गर्दै आएको यस उद्योगको ‘यूनाइटेड सिमेन्ट’ ब्राण्डले नेपाल गुणस्तर चिन्ह प्राप्त गरी सकेको छ । “गुणस्तरिय निर्माण सामाग्री मात्र प्रयोग गरौ“ र मजबुत निर्माणमा जोड दिउ“” भन्ने नारा लिई अघि बढेको यस उद्योगले यस्तो किसिमको तालिम केही दिन अघि मात्रै भक्त्तपुरमा संचालन गरिसकेको छ । साथै, यस्ता किसिमका प्राविधिक तालिम अझै व्यापक रुपमा अन्य स्थानका निर्माणकर्मीलाई पनि प्रदान गर्दै जाने उद्योगको लक्ष्य रहेको छ ।

शिवम् सिमेन्टको “चाँदी नै चाँदी” योजना समाप्त

काठमाडौं, २६ कात्तिक, । शिवम् सिमेन्ट लिमिटेडले यस वर्षको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याएको “चाँदी नै चाँदी उपहार योजना” समाप्त भएको छ । चाडपर्वको अवसरमा थप उत्साह प्रदान गर्न ल्याइएको योजना अन्तर्गत, शिवमले आफ्नो उत्पादनका प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी(गणेश” अकिंत चाँदीको सिक्का उपहार प्रदान गरेको थियो । भदौ १५ देखि कार्तिक २६ सम्म लागू गरिएको योजनामा ग्राहक तथा विक्रेताहरुले उत्साहवर्द्धक सहभागिता जनाएका थिए । आगामी दिनहरुमा पनि उपभोक्ताहरुका लागि यस्ता विशेष योजनाहरु ल्याउने प्रतिबद्धता कम्पनीले गरेको छ । शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको ओपीसी सिमेन्टमध्ये एक हो । सन् २००९ मा हेटौँडामा स्थापित सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।