परिसंघले भन्यो : आइटी पार्क निजी क्षेत्रलाई बनाउन दिऔं
काठमाडौं । नेपाल उद्योग परिसंघले आइटी पार्क निजी क्षेत्रलाई बनाउन दिन आग्रह गरेको छ । परिसंघले सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटी भारत, फिलिपिन्स लगायतका मुलुकले दिए जस्तो सुविधा दिएर आइटी पार्क निजी क्षेत्रलाई बनाउन दिन आग्रह गरेको हो । सूचना प्रविधि निर्यातमा सतप्रतिशत मूल्य अभिवृद्धि (भ्यालु एडिसन) हुने भएकाले यस क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने परिसंघकाे भनाइ छ । परिसंघले सरकारले सूचना प्रविधिमा आधारित सेवा प्रवाह गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई आयमा एक प्रतिशत मात्र कर लाग्ने व्यवस्था मिलाउने गरेको घोषणा दीर्घकालसम्म हुनुपर्ने बताएको छ । उक्त भेटमा सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधि क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राख्दै आएको बताए । उनले सूचना प्रविधि क्षेत्रमा लगानी आकर्षित गर्न, रोजगारी अभिवृद्धि गर्न एवंम लगानीकर्तालाई सहज वातावरण बनाउन मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए । यस्तै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको सूचना प्रविधि क्षेत्रमा रहेको दक्ष जनशक्ति, विद्युत, मौसमलगायतका दृष्टिकोणले सूचना प्रविधिको विकासका लागि नेपाल उपयुक्त ठाउँ रहेको बताएका छन् । हाल नेपालमा भएको विदेशी मुद्रा संचिती समस्या पनि यस क्षेत्रमार्फत समाधानमा मद्दत मिल्ने उनको भनाइ छ । नेपालले तीन अर्ब ३० करोड अमेरिकी डलर बराबर सूचना प्रविधि निर्यात गर्न सक्ने सम्भावना आंकलन गरिएको छ । नेपालमा हरेक वर्ष ७ हजार ५ सय विद्यार्थी आइटी क्षेत्रमा उत्पादन भईरहेका छन् ।
अब उद्योगी र घरायसीमा प्रयोग हुने ग्यास छुट्याइने, मूल्य पनि फरक
काठमाडौं । नेपाल आयल निगमले अब उद्योगी र घरायसी प्रयोजनका लागि प्रयोग हुने ग्यास फरक–फरक रुपमा ल्याउने भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमको घाटा बढाउनका लागि ग्यासले महत्वपूर्ण भूमीका खेलेको बताउँदै अब यसको स्तरीकरण गर्ने बताएका हुन् । सोमबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उद्योगी र घरायसी प्रयोजनका लागि प्रयोग हुने ग्यासको मूल्य पनि फरक–फरक हुने बताए । उनका अनुसार दुवै ग्यासको आकार, गन्धर रङ र मूल्य पनि फरक हुनेछ । उनले उद्योगीले प्रयोग गर्ने ग्यासको मूल्य घरायसीभन्दा महँगो पर्न सक्ने बताए । यस्तै, उनले खाना पकाउन प्रयोग हुने एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने बताए । थानीले यसका लागि अहिले अध्ययन समितिले अध्ययन गरिरहेको समेत बताए । यस्तै, उनले निगमले साउनदेखि पेट्रोलियम पदार्थ परल मूल्यमा बिक्री गर्ने बताए । ‘अहिले पनि पेट्रोल, डिजल र मट्टितेलमा निगमले घाटा बेहोर्दै उपभोक्तालाई बिक्री गरिरहेको छ, साउनदेखि परल मूल्यमै बिक्री हुन्छ, उद्योगी र घरायसी प्रयोगको ग्यासको मूल्य पनि फरक हुनेछ,’ उनले भने ।
एक अर्ब लगानीमा खुल्यो तिरुपति एग्रो उद्योग, चामलको ‘नम्बरवान’ ब्राण्ड बनाउने रणनीति
काठमाडौं । नवलपरासीको सरावल गाउँपालिकामा एक अर्ब रुपैयाँ बढीको लगानीमा तिरुपति बालाजी एग्रो प्रालि सञ्चालनमा आएको छ । नवलपरासीका व्यवसायी गुणनिधी तिवारीको नेतृत्वमा ४ जनाको लगानीमा उक्त उद्योग सञ्चालनमा आएको हो । तिवारीसँगै प्रकाश वहादुर यादव, सम्भु अग्रवाल र भुवनेश्वर अग्रवालले संयुक्त रूपमा सो उद्योग सञ्चालनमा ल्याएका हुन् । जापनिज कम्पनी सटाकेको प्लान्ट ल्याएर उद्योग सञ्चालन गरिएको कम्पनीका अध्यक्ष तिवारीलले बताए । उक्त उद्योगले हाल विभिन्न चार प्रकारका चामल उत्पादन गर्दै आएको छ । सुरुवाती चरणदेखि नारायणहिटी, जीपिएस र नेपाल फिट्स स्टीम जीरा मसिनो चामल उत्पादन हुँदै आएकोमा कम्पनीले नयाँ चामल आइतबारदेखि बजारमा ल्याएको छ । अहिलेसम्मकै नम्बर वान चामलको नाममा कम्पनीले अवसर प्रिमियम स्टीम कतर्नी चामलको बिक्री सुरु गरेको हो । कम्पनीका अध्यक्ष गुणनिधी तिवारी एक सय करोड रूपैयाँ लगानीमा नवलपरासीमा प्लान्ट स्थापना गरिएको बताउँछन् । उनले जापानकै पुरानो तथा नम्बर वान प्लान्ट जडान गरेर चामल उत्पादन हुँदै आएको बताए । उनका अनुसार तिरुपतिबाट उत्पादित चामल न्यून आयदेखि उच्च आय भएका उपभोक्ताले समेत प्रयोग गर्न सक्नेछन् । ‘हाम्रो चामल चिया खाए जस्तै हो, अहिले जो कोहीले चिया खान सक्नुहुन्छ, हाम्रो चामल पनि चिया जस्तै जुनसुकै वर्ग तथा आयस्रोत भएका उपभोक्ताले प्रयोग गर्न सक्नेछन्, ‘लंङ्गग्रेन चामल महँगो पर्छ, हामीले बिक्री गर्ने चामल न्यून वर्गका उपभोक्ताका लागि समेत सहज छ’, उनले भने । धान आयातमा समस्या पछिल्लो समय भारतबाट धान आयातमा समस्या हुने गरेको उनले बताए । ‘नेपालको धान हामीलाई तीन महिनामात्र पुग्छ, अन्य समय भारतबाटै आयातित धानकै भर पर्नु पर्ने बाध्यता छ, कतर्नी धान नेपालमा उत्पादन हुँदैन’, उनले भने, ‘हामीले भारतको बिहारबाट ल्याउनुपर्छ, युपीमा पनि पाइन्छ, तर बिहारमा पाइने धानको गुणस्तर राम्रो भएर हामीले उतैबाट ल्याउँछौँ ।’ उनका अनुसार सुगर तथा अन्य उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै स्टीम जीरा मसिनो चामल उत्पादन तथा बिक्री वितरण गरिएको हो । अन्य चामल साम्बा र गोरखनाथ धानबाट प्रशोधन गर्ने गरेतापनि कोतर्नीका लागि बिहारबाट छुट्टै धान आयात गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । उनले धान आयातमा समस्या भएता पनि चामल बिक्रीका लागि बजारको समस्या नभएको बताए । ‘हामीले उत्पादन गरेका चामल बजारमा पुगेका छन्, मार्केटको समस्या छैन, अहिलेसम्म गुणस्तरमा समेत कुनै गुनासो आएको छैन् ।’ १२ टन क्षमताको प्लान्ट जापानबाट ल्याएर जडान गरिएको प्लान्टको क्षमता पर आवर १२ टन रहेको उनको भनाइ छ । प्रतिघन्टा १२ टन क्षमताको प्लान्ट भएता पनि कम्पनीले ६० प्रतिशत क्षमतामा मात्र प्लान्ट सञ्चालन गरिएको जनाएको छ । ‘अहिले क्षमता अनुसारको हामीले उत्पादन गरेका छैनौँ, फुल फेजमा सञ्चालन गर्न दिनमा ५० लाख रुपैयाँ बराबरको धान आवश्यक पर्छ, हामीसँग पर्याप्त मात्रामा धान नहुँदा हामीले ६० प्रतिशत क्षमतामा मात्र प्लान्ट सञ्चालन गरेका छौँ’, उनले भने । देशका अधिकांश जिल्लामा तिरुपतिले उत्पादन गरेको चामल पुग्ने गरेको उनको भनाइ छ । ‘हामीले पहिला हप्ता १५ दिनसम्मको उधारो राखेर बिहारबाट धान आयात गर्ने गरेका थियौँ, अहिले भारतमा समेत धान पाइएको छैन, पर्याप्त मात्रामा धान नपाउँदा एड्भान्स दिँदा समेत भनेको समयमा धान पाउन सकेका छैनौँ’, उनले भने । उनका अनुसार नेपालमा उत्पादन भएको धान ३ महिनाका लागि पुग्ने हो तर, अहिले भारतमा समेत पर्याप्त मात्रामा धान नपाउँदा समस्या भएको छ । आइतबारदेखि बिक्री गरिएको २५ किलो बोराको कटारी चामलको मूल्य २ हजार २ सय रुपैयाँ तोकिएको छ । तर उनले एमआरपीभन्दा कम मूल्यमा चामल बिक्री हुने गरेको बताए । ‘हामीले दुर्गमका जिल्लाका लागि हेरेर एमआरपी मूल्य राखेका हुन्छौँ, सगुमका जिल्लाहरुमा एमआरपीभन्दा कम मूल्यमा नै बिक्री हुने गरेको छ’, उनले भने । उक्त उद्योगले हाल ९० जनालाई रोजगारी दिएको छ भने सिजनको समयमा १०० भन्दा बढीलाई रोजगारी दिँदै आएको छ ।