काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव गणेश प्रसाद पाण्डेयले अब आयल निगम चाँडै नाफामा जाने बताएका छन् । सोमबार नेपाल आयल निगमले मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा आफ्नो धारणा राख्दै उनले लामो समयदेखि नोक्सानमा हरेको आयल निगम अब छिट्टै नाफामा जाने बताएका हुन् ।
उनले निगम नोक्सानमा रहेकै कारण २० वर्षदेखि कर्मचारीले बोनसपनि नपाएको जानकारी दिए । ‘सञ्चारमाध्यममा निगम नोक्सानमा गएको तर, कर्मचारीले बोनस खाएको कुराहरु आउँछन्, त्यसमा कुनै सत्यता छैन, निगमका कर्मचारीले २० वर्षदेखि बोनस पाएका छैनन्, अब चाँडै नाफामा जाँन्छौं, कर्मचारीले पनि बोनस पाउँछन्,’ उनले भने ।
यस्तै, उनले निगम व्यापारिक संस्थासँगै सरकारको पूर्ण स्वामित्व रहेको संस्था भएकोले पनि सर्वासधारणको हित हेर्नु पर्ने धारणा राखे । नाफारघाटा स्वभाविक भएपनि निगमले आपुर्तिको चेन भने बन्द हुन नदिनको लागि पनि मूल्य बढाउनु पर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
‘हामी सर्वसाधारणको हितमा काम गर्छौं, ग्यासको मूल्य तत्काल बढाउँदैनौं तर, पेट्रोल र ग्यासको मूल्य स्वचालित मूल्य प्रणालीमार्फत् निर्धारण हुन्छ, आयल निगममा हिजोको भन्दा आज धेरै सुधार भएको छ,’ उनले थपे ।
यस्तै, उनले हिजोको मूल्यवृद्धिले आफुलाई पनि असहज भएको बताए । उनले सप्लाई चेन बन्द हुन नदिनु पहिलो र मूल्यवृद्धि रोक्नु सरकारको दोस्रो दायित्व भएको पनि बताए । सप्लाई चेन नरोकियोस् भन्नैका लागि मूल्य बढाउनु पर्ने बाध्यता आएको उनले धारणा राखे ।
उनले ग्यासको प्रयोग न्यनीकरण गर्न प्रतिवेदन बनिसकेको बताउँदै उद्योगी व्यवसायीलाई र घरायसी रुपमा प्रयो हुने ग्यास छुट्याइने बताए । निगमलाई निजिकरण गर्ने सरकारको सोचाई नरहेको पनि उनले स्पष्ट पारे ।
उनले पेट्रोल र डिजेलको मूल्य अझैं बढ्न सक्ने संकेत पनि गरेका छन् । उनले अब विस्तारै पेट्रोल र डिजेलको खपत कम गर्नु पर्ने धारणा राखे । उनले निगम चल्न नसक्ने अवस्था आएपछि मूल्य बढाउन बाध्य भएको बताए ।
यस्तै, कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले निगमको घाटा बढाउनका लागि ग्यासले महत्वपूर्ण भूमीका खेलेको बताउँदै अब यसको स्तरीकरण गर्ने बताएका हुन् । उनले दुवै ग्यासको आकार, गन्धर रङ र मूल्य पनि फरक हुने बताए ।
उनले उद्योगीले प्रयोग गर्ने ग्यासको मूल्य घरायसीभन्दा महँगो पर्न सक्ने बताए । यस्तै, उनले खाना पकाउन प्रयोग हुने एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने बताए । उनका अनुसार अहिलेको व्यापार घाटामा ४५ प्रतिशत भूमीका ग्यासको नै छ । हाल प्रति सिलिण्डरमा ७५३ रुपैयाँ निगमलाई घाटा रहेको उनको भनाइ छ ।
यस्तै, उनले निगमले साउनदेखि पेट्रोलियम पदार्थ परल मूल्यमा बिक्री गर्ने बताए । ‘अहिले पनि पेट्रोल, डिजल र मट्टितेलमा निगमले घाटा बेहोर्दै उपभोक्तालाई बिक्री गरिरहेको छ, साउनदेखि परल मूल्यमै बिक्री हुन्छ, उद्योगी र घरायसी प्रयोगको ग्यासको मूल्य पनि फरक हुनेछ,’ उनले भने ।
सम्बन्धित सामग्री :
अब उद्योगी र घरायसीमा प्रयोग हुने ग्यास छुट्याइने, मूल्य पनि फरक