सबै सिमेन्ट उद्योग संचालन भए १५० अर्बको निर्यात गर्न सक्छौं : व्यवसायी
काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले सबै सिमेन्ट उद्योग संचालमा आए १५० अर्बभन्दा बढीको रकमको निर्यात गर्न सक्ने जनाएको छ । संघले बजेटमा निर्यातमा दिएको छुटबाट देशमा रहेको चुन ढुंगाको उपयोगमा उल्लेखनिय उपलब्धी हुनको साथै सबै उद्योगहरु पुर्ण संचालन भए १५० अर्बभन्दा बढीको रकमको निर्यात गर्न सकिने जनाएको हो । यस बजेले व्यापार घाटा कम गर्ने र विदेशी मुद्रा सञ्चिति गर्नमा सहयोग पुग्ने संघको धारणा छ । साथै बजेटले उत्पादनमा लाग्ने विद्युत महसुलमा उल्लेखनीय सहुलियतको घोषणाको संघले स्वागत गरेको छ । संघले यस व्यवस्थाले देशको औद्योगीकीकरणमा योगदान पुग्ने र स्वदेशमा उत्पादित विद्युतको खपत स्वदेशमा नै हुने वातावरण सिर्जना हुने बताएको छ । आर्थिक वर्ष २०७९/८० को नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले निर्यातमा नगद अनुदानलाई ८ प्रतिशत पुर्याएका थिए भने वार्षिक १० करोड रुपैयाँभन्दा बढीको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेका थिए ।
नेपाल चेम्बर एक्सपो आजदेखि सुरू
काठमाडौं । आर्थिक गतिविधिलाई चलायमान बनाउन एवं स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आजदेखि भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०२२’ सुरु हुँदैछ । पाँचौँ संस्करणका रूपमा रहेको कमर्स मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । कोभिड–१९ सङ्क्रमण जोखिमका कारण अघिल्ला दुई संस्करण भने रोकिएको थियो । पाँचौँ संस्करणमा व्यापारिक अन्तक्रिया, आयात निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणलाई जोड दिइएको चेम्बरले जनाएको छ । चेम्बर एक्सपोमा अन्तराष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न तथा नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोेग मिल्ने चेम्बरले बताएको छ । मेलामा गुणस्तरीय सामान प्रयोग गर्न एवं उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने अपेक्षा गरिएको छ । यस्तै निकासी अभिवृद्धि गर्नेमा पनि चेम्बर मेलाले सहयोग गर्ने विश्वास गरिएको छ । मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडीबुटीजन्य वस्तुहरू, इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवं टेक्स्टायल, छाला जन्य वस्तुहरु, कस्मेटिक, खाद्य तथा दुग्धजन्य सामग्रीहरूको प्रदर्शनी एवं बिक्री गरिने आयोजक चेम्बरले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजित अन्तर्राष्ट्रिय मेलामा बङ्गलादेश पार्टनर कन्ट्रीको रूपमा रहेको छ । मेलामा नेपाल, भारत, पाकिस्तानलगायत अन्य राष्ट्रका उद्योगी व्यवसायीसमेत गरी १५० बढी स्टलहरू रहेका छन् । कोभिड–१९ बाट शिथिल अर्थतन्त्रलाई क्रियाशील बनाउने उद्देश्यले विभिन्न राष्ट्रको सहभागितामा अन्तर्राष्ट्रिय एक्सपो आयोजना गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । अन्तर्राष्ट्रिय मेलाले नेपाली उत्पादनको बजारीकरण गर्न तथा अन्तर्राष्ट्रिय व्यापारिक समुदायलाई सहभागी गराई गतिशील आर्थिक वातावरण निर्माण गर्ने मुख्य उद्देश्य रहेको छ ।
गणपति वनस्पतिले काठमाडाैं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई दियाे एक कराेड
काठमाडाैं । गणपति वनस्पति कम्पनीले काठमाडाैं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक कराेड ११ लाख ११ हजार १०० रुपैयाँ सहयाेग गरेकाे छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई आर्थिक सहयाेग गरेकाे हाे । लक्की ग्रुपका अध्यक्ष सतिस कुमार माेरले अस्पतालका अध्यक्ष डा. भगवान् काेइरालालाई रकम हस्तान्तरण गरेका छन् । गणपति वनस्पति लक्की ग्रुप अन्तर्गतकाे उद्याेग हाे । लक्की ग्रुपले व्यवसाय, बीमा, बैंकिङ पुर्वाधर विकास लगायतकाे कम्पनीहरुकाे नेतृत्व गर्छ ।