काठमाडौं । नेपाल उद्योग परिसंघले आउँदो शनिवार काठमाडौंमा नेपाल स्टार्टअप फेस्ट २०२२
आयोजना गर्ने भएको छ । परिसंघको युवा उद्यमी मञ्चले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्दश्यले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्न लागेको बताएको छ ।
असार ११ गते काठमाडौंको सोल्टी होटलमा हुने स्टार्टअप फेस्टमा राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदुतावासको सहयोग रहेको छ । स्टार्टअप फेस्टमा छनोट भएकामध्ये १० वटा प्रश्तावलाई प्रस्तुती गर्ने अवसरका साथै पुँजी लगानीको अवसर पनि दिने आयोजकले बताएको छ ।
यसअघि स्टार्टअपहरुलाई लगानीका लागि आवेदन पेश गर्न जेठ २७ गतेसम्मको समय अवधि दिएकोमा देशभरबाट ३ सय बढी परियोजना प्रस्ताव आएको थियो । जसमध्ये १० वटालाई प्रस्तुती गर्ने अवसरका साथै पुँजी तथा प्रविधिक सहयोग गर्ने तथा लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानीको अवसर दिने आयोजक नेपाल उद्योग परिसंघले बताएको छ ।
स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवाहरुलाई व्यवसायमा ल्याउने विश्वासका साथ आयोजना गर्न लागिएको मेलामार्फत करिब ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरिने पनि आयोजक परिसंघले बताएको छ ।
कार्यक्रममा स्वदेशी एवं विदेशी विज्ञहरुबाट स्टार्टअप विषयमा प्रश्तुती हुनुका साथै प्यानल डिस्कशन, रोबोटिक फुटबल, लाइभ म्युजिक कन्सर्ट पनि हुनेछ । यसका साथै, ४० बढी स्टार्टअप्सले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्नेछन् ।