काठमाडौं । नवलपरासीको सरावल गाउँपालिकामा एक अर्ब रुपैयाँ बढीको लगानीमा तिरुपति बालाजी एग्रो प्रालि सञ्चालनमा आएको छ । नवलपरासीका व्यवसायी गुणनिधी तिवारीको नेतृत्वमा ४ जनाको लगानीमा उक्त उद्योग सञ्चालनमा आएको हो । तिवारीसँगै प्रकाश वहादुर यादव, सम्भु अग्रवाल र भुवनेश्वर अग्रवालले संयुक्त रूपमा सो उद्योग सञ्चालनमा ल्याएका हुन् ।
जापनिज कम्पनी सटाकेको प्लान्ट ल्याएर उद्योग सञ्चालन गरिएको कम्पनीका अध्यक्ष तिवारीलले बताए । उक्त उद्योगले हाल विभिन्न चार प्रकारका चामल उत्पादन गर्दै आएको छ । सुरुवाती चरणदेखि नारायणहिटी, जीपिएस र नेपाल फिट्स स्टीम जीरा मसिनो चामल उत्पादन हुँदै आएकोमा कम्पनीले नयाँ चामल आइतबारदेखि बजारमा ल्याएको छ ।
अहिलेसम्मकै नम्बर वान चामलको नाममा कम्पनीले अवसर प्रिमियम स्टीम कतर्नी चामलको बिक्री सुरु गरेको हो । कम्पनीका अध्यक्ष गुणनिधी तिवारी एक सय करोड रूपैयाँ लगानीमा नवलपरासीमा प्लान्ट स्थापना गरिएको बताउँछन् ।
उनले जापानकै पुरानो तथा नम्बर वान प्लान्ट जडान गरेर चामल उत्पादन हुँदै आएको बताए । उनका अनुसार तिरुपतिबाट उत्पादित चामल न्यून आयदेखि उच्च आय भएका उपभोक्ताले समेत प्रयोग गर्न सक्नेछन् ।
‘हाम्रो चामल चिया खाए जस्तै हो, अहिले जो कोहीले चिया खान सक्नुहुन्छ, हाम्रो चामल पनि चिया जस्तै जुनसुकै वर्ग तथा आयस्रोत भएका उपभोक्ताले प्रयोग गर्न सक्नेछन्, ‘लंङ्गग्रेन चामल महँगो पर्छ, हामीले बिक्री गर्ने चामल न्यून वर्गका उपभोक्ताका लागि समेत सहज छ’, उनले भने ।
धान आयातमा समस्या
पछिल्लो समय भारतबाट धान आयातमा समस्या हुने गरेको उनले बताए । ‘नेपालको धान हामीलाई तीन महिनामात्र पुग्छ, अन्य समय भारतबाटै आयातित धानकै भर पर्नु पर्ने बाध्यता छ, कतर्नी धान नेपालमा उत्पादन हुँदैन’, उनले भने, ‘हामीले भारतको बिहारबाट ल्याउनुपर्छ, युपीमा पनि पाइन्छ, तर बिहारमा पाइने धानको गुणस्तर राम्रो भएर हामीले उतैबाट ल्याउँछौँ ।’
उनका अनुसार सुगर तथा अन्य उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै स्टीम जीरा मसिनो चामल उत्पादन तथा बिक्री वितरण गरिएको हो । अन्य चामल साम्बा र गोरखनाथ धानबाट प्रशोधन गर्ने गरेतापनि कोतर्नीका लागि बिहारबाट छुट्टै धान आयात गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
उनले धान आयातमा समस्या भएता पनि चामल बिक्रीका लागि बजारको समस्या नभएको बताए । ‘हामीले उत्पादन गरेका चामल बजारमा पुगेका छन्, मार्केटको समस्या छैन, अहिलेसम्म गुणस्तरमा समेत कुनै गुनासो आएको छैन् ।’
१२ टन क्षमताको प्लान्ट
जापानबाट ल्याएर जडान गरिएको प्लान्टको क्षमता पर आवर १२ टन रहेको उनको भनाइ छ । प्रतिघन्टा १२ टन क्षमताको प्लान्ट भएता पनि कम्पनीले ६० प्रतिशत क्षमतामा मात्र प्लान्ट सञ्चालन गरिएको जनाएको छ ।
‘अहिले क्षमता अनुसारको हामीले उत्पादन गरेका छैनौँ, फुल फेजमा सञ्चालन गर्न दिनमा ५० लाख रुपैयाँ बराबरको धान आवश्यक पर्छ, हामीसँग पर्याप्त मात्रामा धान नहुँदा हामीले ६० प्रतिशत क्षमतामा मात्र प्लान्ट सञ्चालन गरेका छौँ’, उनले भने ।
देशका अधिकांश जिल्लामा तिरुपतिले उत्पादन गरेको चामल पुग्ने गरेको उनको भनाइ छ ।
‘हामीले पहिला हप्ता १५ दिनसम्मको उधारो राखेर बिहारबाट धान आयात गर्ने गरेका थियौँ, अहिले भारतमा समेत धान पाइएको छैन, पर्याप्त मात्रामा धान नपाउँदा एड्भान्स दिँदा समेत भनेको समयमा धान पाउन सकेका छैनौँ’, उनले भने ।
उनका अनुसार नेपालमा उत्पादन भएको धान ३ महिनाका लागि पुग्ने हो तर, अहिले भारतमा समेत पर्याप्त मात्रामा धान नपाउँदा समस्या भएको छ । आइतबारदेखि बिक्री गरिएको २५ किलो बोराको कटारी चामलको मूल्य २ हजार २ सय रुपैयाँ तोकिएको छ । तर उनले एमआरपीभन्दा कम मूल्यमा चामल बिक्री हुने गरेको बताए ।
‘हामीले दुर्गमका जिल्लाका लागि हेरेर एमआरपी मूल्य राखेका हुन्छौँ, सगुमका जिल्लाहरुमा एमआरपीभन्दा कम मूल्यमा नै बिक्री हुने गरेको छ’, उनले भने । उक्त उद्योगले हाल ९० जनालाई रोजगारी दिएको छ भने सिजनको समयमा १०० भन्दा बढीलाई रोजगारी दिँदै आएको छ ।