सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीमा, भदौदेखि सञ्चालनमा आउने

बैतडी, १८ साउन । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीको पाटनमा सञ्चालन हुनेभएको छ । प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि भदौमा मध्यपहाडी लोकमार्गको पश्चिमी सहर बैतडीको पाटनमा सुरु हुने भएको हो । सुदूरपश्चिमेलीको मुख्यपर्व गौरालाई लक्षित गर्दै भदौ महिनाको पहिलो हप्तादेखि पाटनमा प्याराग्लाइडिङ सञ्चालनमा आउने भएको छ । भारतको हिमाञ्चलका धरम चन्दको नेतृत्वमा आएको एक प्राविधिक टोलीले सन् २०११ देखि सुदूरपश्चिमका विभिन्न स्थानमा प्याराग्लाइडिङ सम्भावनाबारे अध्ययन गरेको थियो । अध्ययनपश्चात् टोलीले बैतडीको पाटनमा उपयुक्त ठहर गरेको हो । प्राविधिक टोलीले पाटनका चार ठाउँबाट प्याराग्लाइडिङ उपयुक्त भएको ठहर गरेको छ । पाटन नगरपालिका–१२, दहडाँडा, वडा नं २ को जरौलीडाँडा, वडा नं १३ को अन्नाडीडाँडा र वडा नं ११ को हुरहुरे डाँडाबाट प्याराग्लाइडिङ गर्न सकिने देखिएको टोलीले ठहर गरेको हो । टोलीले डडेल्धुराको टुँडिखेल, डोटीको तिखाडाँडा लगायतका ठाउँमा समेत परीक्षण गरेको थियो । सुरुमा डडेल्धुराबाट प्याराग्लाइडिङका लागि परीक्षण गरिएपनि हावाको एकोहोरो बहावका कारण सम्भव नदेखिएको प्रविधिक टोलीका सदस्य श्यामराज भट्टले बताए । उनले भने “पाटनमा हावाको गति र दिशा उपयुक्त रहेको छ ।” प्राविधिक टोलीले सन् २०१४ मा नै प्याराग्लाइडिङको परीक्षण सफल भएपछि प्राविधिक टोली यस वर्ष पुनः पाटन पुगेर प्याराग्लाइडिङका लागि पहल सुरु गरेको बताइएको छ । सुदूरपश्चिम पर्यटन विकास केन्द्रका नामले संस्था दर्ता गरेर स्थानीय ११ जनाले व्यावसायिक रुपमा नै सञ्चालन गर्ने तयारी गरेका छन् । त्यस्तै, पाटन नगरपालिका–१३ को भिटास्थित पोखरी नजिकमा कटेज खोल्ने तयारी गरेका छन् । कटेज स्थापनापश्चात् कटेजमा स्थानीय परिकार राखिने बताइएको छ । सुदूरपश्चिमका स्थानीय परिकारमा खीर, माणा, फाणो, बटुको, डुपका, मकैको रोटीलगायतका परिकार राखिने भएका छन् । पाटनभन्दा करिब आठ किलोमिटर पश्चिममा रहेको नेपालकै गहिरो गुफा पताल भुमेश्वरको प्रवद्र्धन र प्याराग्लाइडिङलाई व्यवसायिकीकरण गर्न संस्थागतरुपमै प्रयास गर्ने केन्द्रका अध्यक्ष तथा पाटनका युवा पुष्कर भण्डारीले बताए । उनले भने “पर्यटन प्रवद्र्धनका लागि संस्था दर्ता गरेर सामूहिक रुपमा सञ्चालनको तयारी भएको छ ।” पर्यटन प्रवद्र्धन र आकर्षणका लागि भन्दै स्थानीय युवा प्याराग्लाइडिङ व्यावसायिकरुपमा नै सञ्चालन गर्न लागेका हुन् । बैतडीमा रहेका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सके यहाँको विकास हुने अध्यक्ष भण्डारीको भनाइ रहेको छ । पाटनमा प्याराग्लाइडिङ सञ्चालनमा आएपछि नेपालकै गहिरो गुफा पतालभुमेश्वर, निङलाशैनी मन्दिर, रौलाकेदार मन्दिर, त्रिपुरासुन्दरी मन्दिर, जगन्नाथ मन्दिर, ईश्वरी गङ्गाधाम, मेलौली भगवती, भिटाकेदार मन्दिर, दोगडा धाम, देउलेक केदार, सिगास धुरा, त्रिवेणी धाम, डिलासैनी मन्दिर, ग्वाल्लेक केदारलगायतको समेत प्रचारप्रसार हुनेछ । भारतीय सहर दिल्ली, लखनउ नैनीताललगायत ठाउँमा घुम्न आउने पर्यटकलाई बैतडीमा भित्र्याउने लक्ष्य केन्द्रले राखेको छ । पर्यटक भित्र्याउन भारतका विभिन्न ठाउँमा रहेका प्याराग्लाइडिङ व्यवसायीसँग समन्वय गरिने बताइएको छ । रासस

भिटोफ अध्यक्षमा सापकोटा

काठमाडौं, १७ साउन । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ–नेपाल)को अध्यक्षमा कमल सापकोटा निर्वाचित भएका छन् । २० औं गाउँ पर्यटन दिवसका आयोजित भिटोफको सम्मेलनले आगामी दुई वर्षे कार्यकालको सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । भिटोफको प्रथम उपाध्यक्षमा राम घले, द्धितिय उपाध्यक्षमा दिपक दाहाल, महासचिवमा बासुदेव पाण्डे, सचिवमा जस्था पाण्डे, कोषाध्यक्षमा गगनराज न्यौपाने, सह कोषाध्यक्षमा कृष्ण बहादुर सुवेदी निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरि सदस्यहरुमा हरिचन्द्र गैरे, सञ्जिव श्रेष्ठ, कुल प्रसाद सुवेदी, जंग बहादुर लामा र प्रकाश अर्याल पनि निर्विरोध निवाचित भएका छन् । दुई जना मनोनितसदस्य भने निवाचित कार्यसमितीले गर्ने प्रावधान रहेको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले १० वर्षे पर्यटन रणानीतिलाई निरन्तरता दिने बताएका थिए । मन्त्री पोखरेलले केपी ओली नेतृत्वको सरकारले ल्याएको १० वर्षे पर्यटन रणनीतिलाई निरन्तरता दिन नयाँ बन्ने सरकारलाई आग्रह पनि गरेका थिए । १० वर्षमा कम्तीमा २३ लाख पर्यटक नेपाल भित्र्¥याउने रणनीतिका साथ सरकारले पर्यटन रणनीति सार्वजनिक गरेको भन्दै यसलाई कुनै दल र पार्टी विशेषको कार्यक्रमको रुपमा नलिई देशकै हितका लागि आएको कार्यक्रमका रुपमा बुझ्नु पर्ने उनको भनाई थियो ।

लगातार भइरहेको वर्षाले मुलुकको आन्तरिक उडानमा समस्या

काठमाडौं, १३ साउन । केही दिनयता लगातार भइरहेको वर्षाले मुलुकको आन्तरिक उडानमा समस्या देखिएको छ । मौसम बदलीसँगै मुलुकभर जारी वर्षात्ले अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या आएको छैन । तर हिमाली तथा पहाडी क्षेत्रको उडान भने प्रभावित भएको छ । मौसम खरावीले खासगरी पूर्वी पहाडी र पश्चिमका केही विमानस्थलमा उडान सामान्य प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै अन्तर्राष्ट्रिय उडान नियमित रुपमा सञ्चालन भइरहेका छन् । विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार वर्षाले आन्तरिकतर्फ नियमित उडान केही प्रभावित भएको छ । पहाडी भेगका सोलुखुम्बु, भोजपुर, ताप्लेजुङलगायतका गन्तव्यमा भने उडानमा केही समस्या आएको छ । यता मौसम पूर्वानुमान महाशाखाले पनि पूर्वी पहाडी भेगबाहेक अन्य स्थानमा भिजिबिलिटी राम्रो रहेको र उडानमा समस्या नरहेको जनाएको छ । मौसमविद् सुवास रिमालले पूर्वका ताप्लेजुङ, ओखलढुङ्गा आदि स्थानमा बदली भई बाक्लो कुहिरो लागेकाले समस्या हुनसक्ने र अन्य स्थानमा भने सामान्य रहेको बताए । विमानस्थलका अनुसार आन्तरिकतर्फ आठ र अन्तर्राष्ट्रियतर्फ २६ वटा एयरलाइन्सले उडान भर्दै आएका छन् । रासस