पाँचथरमा रानीटार विमानस्थल बन्दै, लागत ५५ करोड

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पाँचथरको रानीटारमा विमानस्थल बनाउने भएको छ । क्यानले पाँच वर्षमा काम सक्ने लक्ष्य सहित फिदिम नगरपालिकामा विमानस्थल बनाउन लागेको हो । मेची पहाडी जिल्ला ताप्लेजुङको सुकेटारमा बाहेक अन्य जिल्लामा विमानस्थल छैन । प्रस्तावित विमानस्थल निर्माण भएपछि इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमवासी लाभान्वित हुनेछन् । एयरपोर्ट निर्माण भएपछि पाँचथरको रमणीयस्थल पाथिभरा, माईपोखरी, तिम्बुपोखरी, सिलौटी र कन्चनजंङघा, कुम्भकर्ण, मनास्लु हिमश्रृङला लगायत महत्वपूर्ण पर्यटकीयस्थलहरु छन् । विमानस्थल निर्माण भएपछि पाँचथरको पर्यटकीयस्थलहरुमा पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ । क्यानले करिब ८ वर्ष अगाडी विस्तृत सर्वेक्षण पुरा गरेपनि सरकारले आवश्यक बजेट विनियोजन नगर्दा विमानस्थल निर्माण हुन सकेको थिएन । २०६९ सालमा क्यानले आवश्यक भएका विभिन्न आठ स्थानमा विमानस्थल बनाउने योजना ल्याएको थियो । सोही अन्तर्गत रानीटार विमानस्थललाई पनि प्रस्ताव गरेपछि यसको काम अघि बढेको हो । आगामी असारम सान्तसम्ममा विमानस्थल निर्माणकार्य सुरु गर्नुपूर्व आवश्यक टेन्डर प्रक्रिया पुरा गर्ने ईञ्जिनियर नरविक्रम थापाले जानकारी दिए । क्यानले प्रस्तावित विमानस्थलका लागि वातावरणिय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन तयार पारेको छ ।  प्रतिवेदनमा उल्लेख भएअनुसार सो स्थानमा वन क्षेत्रसहितको १५.०९ हेक्टर क्षेत्रफलको सरकारी जग्गा, १.२ हेक्टरको निजि र अन्य गरी जम्मा १८.१९ हेक्टर जग्गामा ६७० मिटर लामो र ४० मिटर चौडा धावन मार्ग तथा विमान स्थाललाई आवश्यक पर्ने सहायक संरचना निर्माण गर्न लागिएको हो । क्यानले आवश्यक राय सुझावका लागि सो प्रतिवेदन सम्बन्धित सरोकारवाला निकायलाई पठाइएको थापाले बताए । उनले भने, ’विभिन्न सरोकारवाला निकायहरुबाट विज्ञहरुको टोली गठन भएको छ । सो टोलीले प्रतिवेदन अध्ययन गरेर दिएको राय सुझाव संकलन गर्न कम्तीमा १ महिना लाग्छ । त्यसपछि चार महिना लगाएर त्यसको विस्तृत अध्ययन प्रतिवेदन तयार पार्छौं । चालु आर्थिक वर्षको अन्तिममा सम्पूर्ण औपचारिकताका प्रक्रिया पुरा गरेपछि विमानस्थलको निर्माण काम सुरु हुन्छ ।’ विमानस्थल निर्माणमा ५५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको प्राधिकरणले जानकारी दिएको छ । ६७० मिटर लामो हवाई मैदान (रनवे) निर्माणका लागि १६ करोड ५४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रस्तावित विमानस्थलको लम्बाइ एकहजार मिटर र चौढाइ दुइ सय ५० मिटरको हुनेछ ।

गोरखा दरबारको पुननिर्माण गर्न ठेकेदार छनौट

काठमाडौं । भुकम्प गएको ३ वर्षपछि एतिहासिक गोरखा दरबारको पुनः निर्माण कार्य शुरु हुन लागेको छ । पुरातत्व विभागले दरवारको पुनः निमार्णको जिम्मा पचलि भैरव–शिभको जेभी कम्पनीलाई दिएको छ । निर्माण व्यवसायी छनौट भएकाले दरबार निर्माणले गति पाउने भएको हो । पचली भैरवले ३ करोड ८२ लाख ५६ हजार रुपैयाँमा दरवारको जिम्मेबारी पाएको हो ।

रसुवा आउने आन्तरिक पर्यटकमा वृद्धि

रसुवा । हिमाली भेगको उच्च भागमा अवस्थित प्राकृतिक छटाको अवलोकन गर्न आन्तरिक पर्यटकको समेत आगमन हुन थालेको छ । पर्यटन व्यवसायी सुब्बा लामाका अनुसार प्राकृतिक छटाको अवलोकन एवं गोसाइँकुण्ड स्नान गरी पुण्य कमाउन दैनिक ३० भन्दा बढी आन्तरिक पर्यटक आउन थालेपछि गोसाइँकुण्ड धार्मिक मार्गको रौनकता अहिले ह्वात्तै बढेको छ । यसैगरी, लाङटाङ पदमार्गमा पनि आन्तरिक पर्यटकको आगमन निकै बढेको बताउँदै लाङटाङकै पर्यटक व्यवसायी ढिण्डुप तामाङले सरदर ५० जना नेपालीको आगमन भएको जानकारी दिए । दैनिकरुपमा आन्तरिक पर्यटक सरदर ९४ जनाको आगमन हुने गरेको छ भने शरद ऋतुको आगमनसँगै हिमाली प्राकृतिक छटाको अवलोकन गर्न एक हजारभन्दा बढी विदेशी पर्यटकको आगमन भइसकेको र विदेशी पर्यटक आउने क्रम जारी रहेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । रासस