कात्तिक १८ मिस टुरिजम–२०१७ आयोजना गरिने, सोमबारदेखि आवेदन खुल्ने
काठमाडौं । प्वाइन्ट मिडिया प्रालिले आगामी कात्तिक १८ गते ‘मिस टुरिजम – २०१७’ आयोजित गर्ने भएको छ । यसपटक “मिस टुरिजम–२०१७” मा सहभागी हुन चाहनेहरुका लागी भोलि भाद्र १९ गते सोमवार वाट असोज ६ गते शुक्रवार सम्म देशभर आवेदन खुल्ला गरिएको छ । “मिस टुरिजम–२०१७” का लागी १८ देखि २५ वर्ष उमेर समुहका अविवाहित नेपाली महिलाहरुले आवेदन दिन पाउनेछन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले “मिस टुरिजम–२०१७” को आयोजना गर्न लागिएको प्वाईन्ट मिडिया प्रा.लि का प्रबन्ध निर्देशक नविन काफ्लेले वताए । मिस टुरिजम–२०१७ लाई नगद पचास हजार रुपैयाँ, नेपालका स्थापित संस्था र उत्पादनको विज्ञापन खेल्ने अवसर तथा विभिन्न संस्थाका ब्राण्ड एम्बेसडर पनि नियुक्त गर्ने कम्पनीले जानकारी दिएको छ । त्यस्तै मिस टुरिजम फस्ट रनर अप–२०१७ लाई नगद ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेण्ड रनर अप–२०१७ लाई नगद २० हजार रुपैयाँ प्रदान गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसर हरु पनि प्रदान गरिने आयोजकले जनाएको छ । ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र प्रसाद रिजालले मिस टुरिजम रुपमा मात्र नभएर विचारमा पनि योग्य रहेको आँफुहरुले अघिल्लो वर्ष नै देखेको वताउँदै रुप ज्ञान दुवैमा योग्य व्यक्ति मिस टुरिजम हुनुपर्ने वताए ।
दुबै हात नभएकी पाइलट जेसिकालाई स्वागत
काठमाडौं । जन्मदेखि नै दुई हात नभएकी तर १० हजार फिटमाथि प्लेन उडाएर वल्र्ड रेकर्ड अफ द गिनिज बुकमा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका कक्सलाई काठमाडौं नयाँ वानेश्वर स्थित नर्थन लाइट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजि (नाट)ले सम्मान गरेको छ । उड्डयन क्षेत्रमा जेसिका विश्वकी एकमात्र विशाल प्रतिभासहित उत्प्रेरणाको स्रोत रहेको जनाउँदै नाटले उनलाई सम्मान गरेको छ । ह्यान्डिकेप्ट इन्टरनेशनलकी विश्व सद्भावना राजदूत जेसिकाले उड्डयन एउटा जोखिम र जनभावनाको पेशा रहेको सम्मानका क्रममा बताइन् । अमेरिकन तेक्वान्दो एशोसीएशनकी व्ल्याक बेल्ट समेत रहेकी जेसिको जन्म नै ‘कठिन’ मध्येको एक मानिन्छ । एरिजोना विश्वविद्यालयबाट साइकोलोजीमा स्नातक जेसिकाले सूचनाको विषयमा पनि अध्ययन गरेकी छिन् । उनले १४ वर्षको उमेरदेखि कृत्रिम हातको साहरा छाडेकी जेसिका खुट्टाले गाडी चलाउने, प्रति मिनेट २५ शव्द टाइप गर्ने क्षमता राख्छिन् । उनले २००५ मा प्लेन उडाएकी थिइन् । २००८ मा उनलाई पाइलटको लाइसेन्स दिइएको थियो । जेसिका विश्वका लागि उदाहरणीय पात्र रहेको बताउँदै सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा पाइलट विजय लामाले उनलाई खादा लगाएर सम्मान गरेका थिए । नाटका विद्यार्थी र सञ्चालक समुहले जेसिकालाई कलेजले सम्मान गर्न पाउनु निक्कै गर्वको अवसर रहेको बताएका थिए । नेपालमा पहिलो पल्ट कलेजका रूपमा नै उड्डयनप्रति चासो हुनेलाई सुविधा दिएकोमा लामाले नाटलाई धन्यवाद पनि दिए । ‘उड्डयन क्षेत्रको अध्ययन गर्न नेपालमा कठिन थियो । तर, नाटले यो सुविधा दिएको छ ।’, उनले भने,‘जेसिका कक्स जस्तो प्रेरणाको स्रोतलाई ल्याएर स्वागत पनि गर्नुभयो । यो सुविधा दिएकोप्रति कलेजलाई धन्यवाद दिन चहान्छु ।’
एक करोडभन्दा बढीको लगानीमा रिसोर्ट सञ्चालन
म्याग्दी । म्याग्दी रघुगंगा गाउँपालिका–३ स्थित घुमाउने तालमा एक युवाले जिल्लामै पहिलो स्विमिङपुलसहितको रिसोर्ट सञ्चालनमा ल्याउन लागेका छन् । वडा नं– ३ पिप्ले घर भएका ३९ वर्षका हरिबहादुर चन्दले बेनी–जोमसोम सडकखण्ड अन्तर्गतपर्ने घुमाउने तालमा कालीगण्डकी रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हुन् । करिब ३० रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर चन्दले रिसोर्ट सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको कार्यलाई तीव्र दिएका छन् । सञ्चालनमा आएपछि यो जिल्लाकै पहिलो स्विमिङ पुलसहितको रिसोर्ट हुनेछ । अहिले पाहुना बस्ने कोठा, गार्डेन, पार्किङ, स्विमिङ पुललगायत पूर्वाधार निर्माणको कार्य भइरहेकोे सञ्चालक चन्दले बताए । उनकाअनुसार, अहिलेसम्म रिसोर्ट निर्माणका लागि ८० लाख रूपैयाँ बढी लगानी भइसकेको छ भने पूर्वाधार निर्माणले पूर्णता पाउँदासम्म साढे १ करोड रूपैयाँ लगानी पुग्नेछ । ‘‘मैले यहाँ सञ्चालनमा रहेको रेस्टुरेन्ट खरिद गरी त्यसमा थप सेवा सुविधा उपलब्ध गराउनका लागि पूर्वाधार निर्माण गर्न लागेको हुँ, जिल्लामा उत्कृष्ट सेवा सुविधासहितको रिसोर्ट सञ्चालन गर्ने अवधारणअनुसार काम अगाडि बढाएको छु, अब छिट्टै यसलाई सञ्चालनमा ल्याउने तयारी गरेको छु,’’–उनले भने । ‘अर्गानिक र हाईजनिक’ परिकारको केन्द्र बनाउने मुख्य लक्ष्यसहित रिसोर्ट सञ्चालन गर्न लागेका चन्दले ग्राहकलाई हाँस, माछा, कुखुरा, खसी, बँदेललगायतसँगै स्थानीय उत्पादनको स्वाद चखाउने जानकारी िदए । शुरु शुरुमा हरेक महिना एक दिनदोहोरी साँझसमेत राख्ने उनकाे याेजना छ । बेनी–जोमसोम आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सञ्चालन गर्न लागिएको यस रिसोर्टमा जिल्लामै पहिलो पटक स्विमिङ पुलको आनन्दसमेत लिनसक्ने व्यवस्था गरिनेछ । पाहुनलाई स्थानीय उत्पादनको स्वाद चखाउने लक्ष्यका साथ कुखुरा, हाँस र माछापालन व्यवसायलाईसमेत सँगसँगै अगाडि बढाएको चन्दले बताए। माछापालनका लागि तीनवटा पोखरी निर्माण गरिएका छन् । अहिले १२ हजार भुराबाट माछापालन व्यवसाय शुरु गरेका छौं, उहाँले भन्नुभयो – कमनकार्प, ग्रासकार्प र सिल्भर कार्प जातका माछापालन शुरु गरेका छौं । यसका लागि थप ४० हजार माछाको भुरा मगाएको पनि उहाँले जानकारी दिनुभयो । यसका साथै चन्दले अहिले दुईसय कुखुरा पाल्नुभएको छ भने ३०० हाँस पाल्ने योजनासहित आकर्षक खोरसमेत निर्माण गरेका छन् । चार वर्षसम्म कोरियामा बसेर फर्किएपछि आफ्नै ठाउँमा केही गरौँ भन्ने अठोटका साथ रिसोर्ट सञ्चालन गर्न लाग्नुभएका उहाँले कोरियामा हाँसको आकर्षक परिकार बनाउन सिकेको सीपलाई आफ्नो रिसोर्टमा पनि उपयोग गर्ने योजना रहेको बताए। ‘‘४० देखि ५० जनासम्म न्यूनतम रुपमा बास बस्नसक्ने गरी रिसोर्टको क्षमता विस्तार गर्दैछु, मिटिङ हल र पार्टी प्यालेससहितका सुविधा यहीबाटै प्रदान गर्ने गरी पूर्वाधार निर्माण भइरहेको छ’’– चन्दले भने । जीवनको महत्वपूर्ण समय वैदेशिक रोजगारीमा बिताउनु भएका चन्दले विदेशबाट आर्जन गरेको स्रोत, साधन र सीपलाई आफ्नै ठाउँमा रोजगारमूलक क्षेत्रमा लगानी गर्ने योजनाअुनसार रिसोर्ट सञ्चालन गर्न लागेका हुन्। वैदेशिक रोजगारीको सिलसिलामा कतार, मलेसिया, कोरियालगायतका मुलुकमा युवा अवस्थाको ऊर्जाशील समय खर्चिएका चन्दले आफ्नो रिसोर्टमा १० जनाभन्दा बढीले रोजगारी पाउने जानकारी दिएका छन् । अब दुई हप्ताभित्रै रिसोर्ट सञ्चालनमा ल्याउने तयारी गरिएको पनि उहाँले बताउनुभयो । रासस