भूकम्प र नाकावन्दीले थलिएको पर्यटन क्षेत्र तङ्ग्रिदै, अागमन बढ्यो

काठमाडौं, ५ साउन।  गत वर्षदेखि विविध कारणले सुस्ताएको नेपाली पर्यटन विस्तारै तङ्ग्रिँदै गएको छ । अध्यागमन कार्यालयको तथ्यांकअनुसार सन् २०१६ को पहिलो ५ महिनामा २ लाख ३५ हजार ७२४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको यही अवधिमा २ लाख ५९ हजार ६१२ पर्यटक नेपाल आएका थिए । गत वर्षको अप्रिल २५ मा भूकम्प गएपछि मे महिना पूरै प्रभावित भएको थियो । भूकम्पलगत्तै सुरु भएको मधेश आन्दोलन र भारतीय नाकाबन्दीले सन् २०१५ नेपाली पर्यटनका लागि निरासाजनक बन्यो । गएको वर्ष पर्यटक आगमन एक तिहाईले घटेको अध्यागमन विभागले जनाएको छ । नयाँ वर्षको सुरुवातसँगै पर्यटनमा आशाको किरण देखिएको पर्यटन व्यवसायीहरू बताउँछन् । सामान्य अवस्था रहेको २०१५ को जनवरीमा ३८ हजार ६१६ पर्यटक नेपाल भित्रिएका थिए । नाकाबन्दीबाट भर्खरै छुटकारा पाएको २०१६ को जनवरीमा ३३ हजार ३६२ पर्यटक नेपाल भ्रमणमा आएका छन् । फेबु्रअरीमा ४४ हजार, मार्चमा ५७ हजार र अप्रिलमा ५४ हजार पर्यटक नेपाल भित्रिएका छन् । २०१५ को फेब्रुअरी, मार्च र अप्रिलमा यो संख्या क्रमशः ५८ हजार, ७९ हजार र ६५ हजार थियो । गत वर्षको मेमा १७ हजार ५६९ पर्यटकमात्र नेपाल प्रवेश गरेका थिए । यो वर्षको मेमा भने ४५ हजार २९८ विदेशी पर्यटक नेपाल आएका छन् । यो अवधिमा भारतीय पर्यटकको आगमन बढेको तथ्यांकले देखाउँछ । सन् २०१५ को पहिलो ५ महिनामा ३४ हजार २०७ भारतीय पर्यटक भित्रिएकोमा यो वर्षको सोही अवधिमा ४८ हजार ५१२ पर्यटक भित्रिएका छन् । भूकम्पपछिको राहत वितरणमा धेरै भारतीय नेपाल आएका थिए । गत वर्षको पहिलो ५ महिनामा ४५ हजार ६४३ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएकोमा यो वर्ष यो संख्या घटेर २७ हजार २१२ मा झरेको छ । छिमेकी मुलुक चीन र भारतबाट नेपालमा सबैभन्दा बढी पर्यटक आउने गरेका छन् । महिना               सन् २०१५            सन् २०१६ जनवरी               ३८६१६                   ३३३६२ फेबु्रअरी             ५८५२३                   ४४८१० मार्च                   ७९१८७                   ५७८७४ अप्रिल                ६५७२९                   ५४३८० मे                      १७५६९                   ४५२९८ श्रोत अध्यागमन विभाग

त्रिभुवन विमानस्थल सुधार गर्न कर्मचारीको सरुवा गर्नुपर्छ – मन्त्री पोखरेल

काठमाडौँ, २ साउन । देशको एउटामात्र अन्तराष्ट्रिय विमानस्थल रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुधार नभएकोमा पर्यटनमान्त्री अानन्दप्रसाद पोखरेलले असन्तुष्टि व्यक्त गरेका छन्। विमानस्थल सुधारका लागि पटकपटक प्रयास गर्दा पनि सोचेअनुरुप सुधार हुन नसकेको उनले बताए। विमानस्थल सुधारका लागि नियमित रुपमा फलोेअप निरीक्षण गर्न आइतबार विमानस्थल पुगेका मन्त्री पोखरेलले सुधार केही मात्रामा भए पनि सोचेअनुरुप कामहरु  नभएको बताए ।   सामाजिक सञ्जालमार्फत र हेल्लो सरकारद्वारा दैनिक रुपमा उजुरी अाउन थालेपछि प्रधानमन्त्री नै विमानस्थलको अाकास्मिक निरक्षणमा पुगेका थिए। विकृतिका बारेमा गुनासो आएपछि गत जेठ ३२ गते प्रधानमन्त्री ओलीले पनि विमानस्थलको आकस्मिक निरीक्षण गरेका थिए । ‘विमानस्थल भन्ने बितिकै मूल ढोकादेखि प्रस्थान, आगमन लगायत सबै ठाउँमा सफा, व्यवस्थित र राम्रो व्यवहार हुनु आवश्यक छ,’उनले भने । कर्मचारीहरु काम नगर्ने गफ लगाएर मात्र बस्ने भएकाले यहाँका सवैलाई सरुवा नगरी विमानस्थलमा सुधार नअाउने उनले बताए। मन्त्री पोखरेलले विमानस्थलमा सुुधार भनेको कुनै एक स्थानको मात्र नभएर स्थानदेखि कर्मचारीको व्यवहारसम्म राम्रो हुनुपर्नेमा जोड दिए । मन्त्री पोखरेलले भने– ‘शौचालय मात्र होइन सबै ठाउँ सफा हुनुपर्यौ, कर्मचारीको रुखोपनमा मिठान आउनुपर्यो, चोरी नियन्त्रण हुनुपर्यो।’

‘ट्रेकिङ इन नेपाल’ नामक मोबाइल एप्स सार्वजनिक, पदयात्री पर्यटकलाई सघाउने

काठमाडौं, २ साउन । पदयात्री पर्यटकलाई ध्यानमा राखी ‘ट्रेकिङ इन नेपाल’ नामक मोबाइल एप्स सार्वजनिक गरिएको छ । हनीगाइड नामक संस्थाले विकास गरेको उक्त एप्समा पदयात्री पर्यटकलाई गन्तव्यबारे चाहिने सबै प्रकारका सूचना समेटिएको छ । हाललाई सगरमाथा आधार शिविर, अन्नपूर्ण आधार शिविर र घोरेपानी–पुन हिल पदमार्गका लागि यो एप्स प्रयोगमा ल्याइने संस्थाका सह–संस्थापक अभिषेक पाण्डेले बताए । मोबाइल एप्सले पदयात्री पर्यटकलाई सुरक्षित राख्नुका साथै सम्बन्धित पदमार्ग क्षेत्रमा पाइने प्राकृतिक तथा मानव निर्मित सबै आकर्षणबारे सूचना दिने बताइएको छ । उक्त एप्सले पदयात्री पर्यटकलाई जुन गन्तव्यमा जाँदै छन् त्यसबारे सही सूचना दिनेछ । यसबाट ती गन्तव्यमा हुन सक्ने हिम पहिरो जस्ता घटनाबारे सहज रुपमा जानकारी प्राप्त हुनेछ । “यो एप्सले पदयात्रीलाई बढी सुरक्षित राख्छ, केही मिनेटमै बाटो बिराएको वा हिम पहिरो आएको भनी चेतावनी दिन्छ” – पाण्डेले भने । एप्सले पदमार्गमा पर्ने गुम्बा, गुम्बाभित्रको चित्र, डाँफे र कस्तुरी मृग, लालीगुराँस जस्ता सबै साना ठूला आकर्षणबारे जानकारी दिनुका साथै स्थानीय समाज र संस्कृतिबारे पनि सूचना दिन्छ । पर्यटन बोर्डमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी एन्ड्रोइड र आइफोन मोबाइलका लागि उपलब्ध यो एप्स प्रयोग गर्न इन्टरनेट तथा मोबाइल नेटवर्क दुबै चाहिँदैन । एक पटक डाउनलोड गरिसकेपछि यो पूर्णरुपमा अफ लाइन पनि चल्छ । सगरमाथाका लागि १४.९९, अन्नपूर्णका लागि ९.९९ र घोरेपानीका लागि ३.९९ अमेरिकी डलर शुल्क तोकिएको र आगामी दिनमा लाङटाङ, माथिल्लो मुस्ताङलगायत क्षेत्रमा पनि एप्स विस्तार गरिने संस्थाले जनाएको छ । रासस