चन्द्रागिरि केवलकारको परिक्षण सञ्चालन, एक जनाको ७०० रुपैयाँ
काठमाडौ । चन्द्रागिरि हिल्स प्रालिले थानकोटमा निर्माण गरेको केवलकार आज परीक्षणका रुपमा सञ्चालन भएको छ । त्यस क्षेत्रका स्थानीयवासी तथा त्यहाँ आउने आगन्तुकलाई आज निःशुल्क केवलकार चढ्नका लागि सुविधा उपलब्ध गराइएको थियो । थानकोटबाट चन्द्रागिरि पहाडसम्मको दूरी रहेको केवलकार चढ्नका लागि त्यस क्षेत्रमा अहिले ठूलो भीड लागेको छ । एउटा कारमा आठ जना सवार हुन सक्ने व्यवस्था मिलाइएको छ । उक्त दूरी जान र आउनका लागि प्रतिव्यक्ति ७०० रुपैयाँ मूल्य तय गरिएको छ । त्यसका लागि दूरी जान १४ मिनेट लाग्छ । आज निःशुल्क चढ्न पाइने आशामा सर्वसाधारणको घुइँचो लागेको छ । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई भीड व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । देशका ख्याति प्राप्त विभिन्न उद्यमीको संलग्नतामा करिब दुई वर्षदेखि निर्माण गर्न लागिएको केवलकार निर्माणको प्रक्रिया केही हप्ता अगाडि सकिएको थियो । कम्पनीका महाप्रबन्धक अभिषेक शाहले स्थानीयवासीलाई सेवा तथा सुविधा उपलब्ध गराउनका लागि आज केवरकारको सञ्चालन निःशुल्क गरिएको भए पनि स्थानीय क्षेत्रभन्दा बाहिरबाट आउनेको भीड व्यवस्थापन गर्न कठिन भएको जानकारी दिए । राजनीतिज्ञ देवेन्द्र प्रधानले उक्त स्थानमा स्थापना भएको केवलकारले त्यहाँको विकास निर्माणमा समेत सहयोग पुग्ने र पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्दै संस्थाले स्थानीयवासीलाई सक्दो सहुलियत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
२०१६ को घुम्नैपर्ने उत्कृष्ट १० देशमा नेपाल पहिलो स्थानमा, भूकम्पपछि पर्यटन अागमनमा बृद्धि
काठमाडौं २४ असार। अनलाईन मार्फत पर्यटन सम्वन्धि सूचना तथा जानकारी दिने बेलायतको ‘रफ गाइड्स’ले तयार पारेको विश्वमा घुम्नैपर्ने १० देशको सूचिमा नेपाल पहिलो स्थानमा परेको छ। लन्डनमा कार्यालय रहेको ‘रफ गाइड्स’ ले ३४ वर्षदेखि विश्वभरका पर्यटकका लागि ‘गाइड बुक’ तयार पार्ने काम गर्दै आएको छ । सन् २०१६ का लागि रफ गाइड्सले तयार पारेको उत्कृष्ट घुम्नुपर्ने देशको सूचीमा दक्षिण एसियाबाट नेपाल र श्रीलंका परेका छन् । श्रीलंकाले उत्कृष्टको १० औं स्थान ओगटेको छ । त्यसैगरी दोस्रो स्थानमा कोलम्बिया, तेस्रोमा क्युबा, चौथोमा जोर्डन र पाँचौं स्थानमा अल्बानिया परेका छन् । त्यस्तै, छैठौं स्थानमा रोमानिया, सातौंमा एल साल्भाडोर, आठौंमा वेल्स, नवौंमा केन्या र दसौंमा श्रीलंका परेको छ। ‘भूकम्पले थलिएपनि नेपालको पर्यटन उद्योग फेरि उदाएको छ’ रफ गाइड्सले भनेको छ ‘हजारौं मान्छे घरबारविहीन भए र दैनिक जीवन पूर्ण रूपमा सामान्य अवस्थामा फर्किसकेको पनि छैन।’ यहाँको ऐतिहासिक सम्पदास्थल विस्तारै पुनर्निर्माण हुँदैछन्। पदयात्रा मार्गहरू पुनः खुला भइरहेका छन्। रफ गाइड्सले भनेको छ ‘नम्र तथा मृदुभाषी नेपाली विस्तारै सामान्य अवस्थामा फर्किन थालेका छन्।’ पर्यटकले खर्च गर्ने डलर स्वतन्त्र होमस्टेमा मात्र नभई स्थानीय तहमै खर्च हुने र त्यसको लाभ सबैले पाउने नेपालका टुर तथा ट्राभल कम्पनीले आश्वस्त पार्दै आएको रफ गाइड्सको भनाइ छ । ‘विश्वको सर्वोच्च शिखर सगरमाथादेखि बाघ, हात्ती र गैंडाको बासस्थान समथर तराईसम्मका विविध भौगोलिक परिदृश्यबाट पर्यटक नलोभिने प्रश्नै आउँदैन’ रफ गाइड्सले भनेको छ ‘त्यसकारण सन् २०१६ मा घुम्न जाँदै हुनुहुन्छ भने नेपाल तपाईंको पहिलो छनोट हुनैपर्छ।’
सार्वजनिक खरिद एेन विपरित हिमालय एयरलाइन्सलाई एयरपोर्टभित्र जग्गा, विमानस्थलभित्रै कार्यालय
काठमाडौं, २२ साउन । नागरिक उड्डयन प्राधिकरणले अवैधानिक रुपमा हिमालय एयरलाइन्सलाई विमानस्थलभित्र कार्यालय खोल्ने सुविधा दिएको खुलेको छ। यो विमानस्थलभित्रको अति संवेदनशिल क्षेत्र हो। हिमालयलाई यसरी संवेदनशील स्थानमा जग्गा उपलब्ध गराइँदा विमानस्थलको सुरक्षा व्यवस्थामा प्रश्न उठ्नुका साथै सार्वजनिक खरिद ऐनसमेतको उल्लंघन भएको छ । हिमालयले विमानस्थलको सिनामंगलतर्फ नेपाल आयल निगमले हवाई इन्धन भण्डारण गर्ने ट्यांकीनजिक कार्यालयसमेत स्थापना गरिसकेको छ । पुर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटनमन्त्री आनन्द पोखरेलको निर्देशनमा प्राधिकरणले सरकारी जग्गा निजी क्षेत्रको एयरलाइन्सलाई दिएको हो। हिमालय एयरलाइन्सले कुनै प्रक्रिया पूरा नगरी सो जग्गा पाएको खुलासा भएको हो। एयरलाइन्समा तिब्बत एयरलाइन्स र यती वल्र्ड इन्भेस्टमेन्टको लगानी छ । सिनामंगलमा रहेको विमानस्थल क्षेत्रमा झन्डै १ रोपनी जग्गा थोरै भाडा तिर्ने गरी अनुमति दिइएको पाइएको छ । तत्कालीन प्रधानमन्त्री ओलीले चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको विमान प्रयोग नगरेर उडान नै सुरु नगरेको हिमालयन एयरलाइन्सको जहाज चार्टर गरेर लगेका थिए । हिमालयलाई तीन महिना अगाडि नै अनुमति दिइएको पाइएको छ । एयरलाइन्सले अनुमति पाएपछि रातारात भवन बनाएर कार्यालय सञ्चालनमा ल्याइसकेको छ ।