पर्यटनबाट उचित लाभ लिन सभापति देउवा सुझाव, ‘मुलुकको आर्थिक समृद्धिको दरिलो आधार’

काठमाडौं ५ भदौ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आर्थिक समृद्धिको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकासमा जोड दिएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा  बोल्दै उनले प्राकृतिक, भौगोलिक र धार्मिक तथा सांस्कृतिक रुपमा नेपालको पर्यटनको प्रचुर सम्भावना रहे पनि अपेक्षित लाभ लिन नसक्नु विडम्बना भएको बताए। उनले प्राकृतिक सुन्दरता र जैविक विविधतायुक्त पर्यटकीय स्थलको वातावरण र जैविक विविधता संरक्षणलाई ध्यान दिई भौतिक पूर्वाधार विकास गरेर मात्र नयाँ पर्यटकीय गन्तव्यको विस्तार गरिनुपर्नेमा जोड दिए। नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटा, पर्यटन व्यवसायी मोहन लम्साल, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया र गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले पर्यटकीय पूर्वाधार विकासका लागि राज्यको ध्यान जानुपर्ने धारणा राखेका थिए। यसैबीच गन्तव्य नेपालले ‘टुरिजम म्यान अफ दी इयर’बाट वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्साललाई सम्मानित गरेको छ । त्यस्तै नगद रु १० हजार राशिको गन्तव्य नेपाल पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका मधुजङ पाण्डे र इमेज टेलिभिजनका प्रतीक लामिछानेलाई सम्मान गरिएको छ ।

चार वर्षपछि नेपाल वायु सेवा निगमको पुनः दुबई उड्यो राष्ट्रिय ध्वजाबाहक

जहाज अभावको कारण देखाउँदै चारवर्ष अगाडि बन्द भएको नेपाल वायुसेवा निगमको दुबई उडान बिहीबार रातिदेखि  पुनः प्रारम्भ भएको छ। निगमको नयाँ एयरबस ‘ए ३२०’ विमान मार्फत गरिएको पहिलो  उडानमा  सबै १५८ सिट भरिएका र दुबईबाट काठमाडौं आज विहान आएको जहाजमा १३७ यात्रु रहेको निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए। विमानको कमीका कारण दुवई उडान २८ अगष्ट २०१२ देखि बन्द भएको थियो। सन् २०१५ मा दुईवटा नयाँ एयरबस खरिद गरेपछि निगमले अन्तराष्ट्रिय गन्तव्यहरु थप गर्दै आएको छ। यसअघि हङकङ, क्वालालम्पुर, बैंकक, नयाँदिल्ली, बैंगलोर, मुम्वई र दोहामा उडान गर्दै आएको निगमको दुबई उडान प्रारम्भ भएसँगै आठवटा गन्तव्य भएका छन्। अन्तर्राष्ट्रिय उडानको लागि निगमसँग चारवटा विमान रहेका छन् जसमा एउटा बोइङ बिक्रि गर्ने निष्कर्षमा पगेको निगमसँग तीनवटा विमानमात्र चालु रहेका छन् ।  यी विमानबाट अधिकतम नौ वटा गन्तव्यमामात्र उडान भर्न सकिने निगमले जनाएको छ। काठमाडौंबाट आइतवार, मंगलबार, बिहीबार र दुबईबाट सोमबार, बुधबार र शुक्रवार उडान हुने निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए।   काठमाडौंबाट राती ११ः३० बजे दुवईका लागि उड्ने निगमको जहाज  भोलिपल्ट बिहान १०ः३० बजे काठमाडौंमा अवतरण गर्ने सेड्युल रहेको शार्माले जानकारी दिए।  उडान अवधि काठमाडौंबाट दुबई  ४ घण्टा ४० मिनेट र दुबई  काठमाडौं ४ घण्टा १५ मिनेटको रहेको छ। काठमाडौं दुबई काठमाडौं सिधा उडानबाट वैदेशिक रोजगारीमा जाने नेपाली र तेस्रो मुलुकबाट आउने पर्यटकहरुलाई सहज सेवा उपलब्ध भै देशको पर्यटन उद्योगमा टेवा पुग्ने विश्वास निगमले लिएको छ। काठमाडौं दुबई काठमाडौं सिधा उडानबाट एकवर्षमा ४०,५२८ यात्रुलाई सेवा दिई करिव एक अर्व आम्दानी गर्ने लक्ष्य राखेको छ ।  काठमाडौं देखि दुबईसम्मको भाडादर  एकतर्फी न्यूनतम २२ हजार रुपैयाँ रहेको छ। त्यस्तै दुबईबाट काठमाडौं आउनको लागि भने एकतर्फी भाडा ५ सय ६५ दिराम र दुइतर्फीको लागि ११ सय ३० दिराम निर्धारण गरिएको छ।  यो भाडा सुरुआतमा प्रबर्द्धनात्मक भएको र पछि नियमित भाडादर कायम गरिने शर्माले जानकारी दिए। शर्माले दिएको जानकारी अनुसार त्यस्तै निगमले दुबईबाट आउँदा ३५ किलो र काठमाडौंबाट दबई जाँदा  २० किलो निशुल्क लगेज सुविधा उपलब्ध गरएको छ।

निषेधित क्षेत्रमा सत्र हजार विदेशी पर्यटक, सरकारले पायो एक अर्ब ७३ करोड राजस्व

काठमाडौं, ३ भदौ । सरकारले देशका विभिन्न क्षेत्रलाई सिमाना तोकी निषेधित क्षेत्र कायम गरेकामा ती क्षेत्रमा अध्यागमन विभागबाट अनुमति लिएर गत आर्थिक वर्ष २०७२/७३ मा १७ हजार ३७० विदेशी पर्यटकले पदयात्रा गरेका छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी वन्यजन्तु तथा प्राकृतिक स्रोत साधनको संरक्षणका लागि र तिब्बतसँग सीमा जोडिएका कतिपय संवेदनशील क्षेत्रलाई निषेधित क्षेत्र तोक्ने गरेको छ । त्यस्ता क्षेत्रमा जथाभावी पर्यटक प्रवेश निषेध र निगरानीका गर्न अनुमतिपत्रको व्यवस्था गरिएको हो । दर्ता भएका ४५० भन्दा बढी एजेन्सीमार्फत अध्यागमन विभाग, काठमाडौँ र पोखरा कार्यालयले ती क्षेत्रमा पदयात्रा अनुमतिपत्र जारी गर्ने गरेको विभागका महानिर्देशक केदार न्यौपानले जानकारी दिए । निषेधित क्षेत्रबाट पदयात्रा गर्ने विदेशी पर्यटकबाट राजस्वबापत आव २०७२/७३ मा रु २८ करोड, ९१ लाख ९० हजार प्राप्त भएको छ । निषेधित क्षेत्र तोकिएको हुम्लाको सिमिकोटमा सबैभन्दा बढी आठ हजार ९५ जना, मुस्ताङमा तीन हजार ४११, मनास्लुमा दुई हजार १६७, तल्लो डोल्पामा ८८०, मनाङ्को नार फुमा ७९८, कञ्चनजङ्घामा ७२२, सुम उपत्यकामा ६१४, माथिल्लो डोल्पामा ४१९, सङ्खुवासभामा ६४, मुगुमा ४९, दोलखामा १४ र अन्य क्षेत्रमा १३७ जना रहेका छन् । सिमिकोटहुँदै भारतीय नागरिक तिब्बतको मानसरोबर पुग्ने भएकोले सिमिकोट जानेहरुको सङ्ख्या बढी रहेको विभागका महानिर्देशक न्यौपानको भनाइ छ । निषेधित क्षेत्रमा पदयात्रामा जानेमा सबैभन्दा बढी भारतका सात हजार ५०५, फ्रान्सका एक हजार ७१८, जर्मनीका एक हजार ५४४, अमेरिकाका एक हजार ४५२, अस्ट्रेलियाका ९८४, बेलायतका ९०६, स्विजरल्यान्डका ८९१, नेदरल्यान्डका ५९३, क्यानडाका ३५९, चेक रिपब्लिकका ३४८, इटलीका ३३६, स्पेनका ३२९ र जापानका ३०५ जना रहेका छन् । यस्तै बेल्जियमका २७४, रुसका २४४, दक्षिण कोरियाका १३७, न्युजिल्यान्डका १२९, युक्रेनका १०८, पोल्यान्डका ९५ र चीनका ८९ जना रहेका छन् । पर्यटकबाट एक अर्ब ७३ करोड राजस्व अध्यागमन विभागले आव २०७२/७३ मा पर्यटकबाट रु एक अर्ब ७३ करोड ८५ लाख राजस्व सङ्कलन गरेको छ । विभागले प्रवेशाज्ञा दस्तुरबाट करिब रु एक अर्ब ४३ करोड, पदयात्रा दस्तुरबाट करिब रु ३० करोड १९ लाख र प्रशासनिक दस्तुरबाट रु ९४ लाख ४५ हजार सङ्कलन गरेको छ । आव २०७१/७२ मा करिब रु एक अर्ब ९७ करोड ११ लाख राजस्व सङ्कलन भएकामा गत आवमा करिब रु २३ करोड २६ लाख कम राजस्व उठेको छ । गत आवमा अघिल्लो आवभन्दा प्रवेशाज्ञा दस्तुरबाट उठ्ने रकम कम भएपनि प्रशासनिक दस्तुर र पदयात्रा दस्तुरको रकम वृद्धि भएको विभागका महानिर्देशक न्यौपानले जानकारी दिए । विभागले गत आवमा एक लाख ६३ हजार ५१८ पर्यटकलाई विभिन्न किसिमका प्रवेशाज्ञा जारी गरेको थियो । जसमध्ये पर्यटक प्रवेशाज्ञा एक लाख ५१ हजार ४३२, नाता सम्बन्ध प्रवेशाज्ञा तीन हजार ४७६, व्यापार प्रवेशाज्ञा तीन हजार १७८, विद्यार्थी प्रवेशाज्ञा एक हजार ९११ र कामदार प्रवेशाज्ञा एक हजार ३९८ रहेको छ । विभागले सबैभन्दा बढी राजस्व सङ्कलन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु ९२ करोड ३३ लाख, अध्यागमन कार्यालय कालिकास्थानबाट रु ६७ करोड २७ लाख, भैरहवा, बेलहिया कार्यालयबाट करिब रु आठ करोड ७३ लाख, पोखरा कार्यालयबाट रु तीन करोड ८३ लाख, काँकडभिट्टा कार्यालयबाट रु ८४ लाख ४४ हजार, गड्डाचौकी कार्यालयबाट रु ५७ लाख २३ हजार, वीरगन्ज कार्यालयबाट करिब रु १८ लाख, र नेपालगन्ज कार्यालयबाट रु आठ लाख ३८ हजार राजस्व उठाएको छ । अघिल्लो आवमा करिब रु एक करोड ३३ लाख राजस्व सङ्कलन भएको कोदारी कार्यालयबाट गत आवमा भूकम्पका कारण बन्द हुँदा राजस्व उठ्न सकेन । त्यस्तै अघिल्लो आव रकम नउठेको रसुवा, टिमुरेको कार्यालयबाट गत आवमा रु ११ हजार राजस्व सङ्कलन भएको बताइएको छ । रासस