कर्णालीमा भ्रमण वर्ष २०२० को तयारी पूरा, बुलबुले उद्यानबाट शुभारम्भ हुने
सुर्खेत । कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बुधबार अर्थात् जनवरी १ का दिन प्रदेश राजधानीको पर्यटकीयस्थल बुलबुले उद्यानबाट भ्रमण वर्षको शुभारम्भ गर्ने जनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले बिहान ११ बजे वीरेन्द्रचोक नजिकको पिपलचौताराबाट विभिन्न समुदायका झाँकीसहितको र्याली मुख्य बजारक्षेत्र परिक्रमा गर्दै मङ्गलगढीचोक हुँदै बुलबुले उद्यानमा सभामा परिणत हुने जानकारी दिएका छन् । उनका अनुसार १० वटै जिल्लाको सांस्कृतिक पहिचान झल्किने प्रस्तुतिका साथै राउटे समुदायको नृत्य पनि देखाइनेछ । मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाद्वारा संयुक्त रूपमा आयोजित कर्णाली भ्रमण वर्ष २०२० को शुभारम्भ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्ने कार्यक्रम छ । बुलबुले उद्यानमा प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरुका पोष्टर, तस्वीर प्रदर्शनीका साथै प्रदेशको संस्कृति झल्किने झाँकीसमेत प्रस्तुत गरिनेछ । उक्त कार्यक्रममा भ्रमण वर्षलाई लक्षित गरी मन्त्रालयले बनाएको लोगो र नारालाई सार्वजनिक गरिनेछ । त्यस्तै, भर्खरै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगितामा कर्णाली प्रदेशका पदक विजेता खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्नेछ । सुर्खेत–काठमाडौँ हवाईसेवा सञ्चालन गर्ने बुद्ध एयरलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । वर्षौदेखि अवरुद्ध सुर्खेत–काठमाडौँ उडान प्रदेश सरकारको आग्रहमा बुद्ध एयरले शुरु गरेको थियो । प्रदेश सरकारले जनवरी १ का दिन कर्णाली आउने पर्यटकलाई स्वागत गर्ने भएको छ । सचिव आचार्यले सुर्खेत भित्रिने पर्यटकलाई सम्मान गरेर ‘कर्णाली पर्यटकको स्वागत सत्कार गर्न आतुर छ’ भन्ने सन्देश दिन खोजिएको बताए । “पर्यटक भित्र्याउन सरकारका साथै निजी क्षेत्रको तत्परता र सहयोग उत्तिकै रहन्छ”, उनले भने, “पर्यटन क्षेत्रकै विकास होस् भनेर प्रदेश सरकारले पर्यटन बोर्ड गठन गरेको छ, र व्यवस्थित विकासका लागि गुरुयोजना पनि बनाएको छ, गुरुयोजना पनि छिट्टै सार्वजनिक गरिँदैछ ।” प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले भ्रमण वर्षलाई सबैले साझा अभियानका रूपमा लिनुपर्ने बताए । प्रदेशका १० वटै जिल्ला समन्वय समिति, स्थानीय तहले भव्यताका साथ मनाउने तयारी गरिरहेको उनले जानकारी दिए। पर्यटकको सङ्ख्या बढ्दा त्यसको लाभ निजी क्षेत्रले नै लिने भन्दै उनले आतिथ्य सत्कार, छुट तथा सहुलियतका प्याकेज ल्याउन निजी क्षेत्रलाई आग्रह गरे । “सरकारले आवश्यक पर्यटनमैत्री नीति, कानून बनाउनुका साथै पूर्वाधारको विकास गर्ने हो, बाँकी पर्यटन प्रवद्र्धनको काम निजी क्षेत्रले गर्नुपर्छ”, उनले भने । प्रदेश सरकारले पर्यटकीयस्थलसम्म पुग्ने सडक निर्माण तथा स्तरोन्नति, पदमार्गको खोजी, घरबास व्यवस्थापन, प्रवद्र्धनलगायतका योजनालाई प्राथमिकता दिएको उनले बताए । रासस
नेपाल भ्रमण वर्ष दिगो पर्यटन विकासको आधार हो : पर्यटन मन्त्री भट्टराई
सर्वप्रथम सबैलाई नयाँ वर्ष २०२० को शुभकामना व्यक्त गर्न चहान्छु । यहाँहरुलाई जानकारी नै छ, ‘नेपाल भ्रमण वर्ष–२०२० को शुभारम्भ यही १ जनवरी २०२० मा काठमाडौंको दशरथ रङ्गशालामा भव्यताका साथ हुँदैछ । ठिक त्यही दिन सातै वटा प्रदेशहरुमा पनि एक साथ ‘नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ हुनेछ । हामीले यसका लागि आवश्यक तयारी पूरा गरेका छौँ । यहाँहरुलाई थाहा छ, म गत साउन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा आएँ । त्यसयताका अधिकांश मेरो समय यही ‘नेपाल भ्रमण वर्ष २०२०’ को तयारीमा खर्चिएँ । यसबीचमा अनेकौं छलफल र बैठकहरु सम्पन्न गरेका छौँ । करिब एक सय भन्दा बढी संघ, संस्था, सरकारी तथा सरोकारवाला निकायहरुसँग छलफल गर्यौँल । निजी क्षेत्र, गैरसरकारी संस्थाहरु, अन्तराष्ट्रिय क्षेत्र, नेपालस्थित कुटनीतिक नियोग, सामाजिक क्षेत्र, स्वयमसेवी समूह–संगठनलगायतका अनेकौं क्षेत्रहरुसँग हामीले छलफल गर्यौं । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको छ । वास्तवमा देशभित्र भएका ती छलफलहरु २० लाख पर्यटक कसरी भित्र्याउने, केवल त्यसमा मात्रै केन्द्रित थिएन । राष्ट्रिय एकता कायम गरेर यो भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रुपमा कसरी मनाउन सकिन्छ रु राष्ट्रिय महाअभियानको रुपमा कसरी लैजान सकिन्छ ? के के गर्दा पर्यटनका लागि राष्ट्रिय मनोविज्ञान तयार हुन्छ ? र, हामीले पर्यटनको क्षेत्रमा राखेका दीर्घकालीन योजना र सपनाहरु कसरी पूरा गर्न सकिन्छ ? ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रमुख आधार पर्यटनलाई कसरी बनाउन सकिन्छ ? आर्थिक र सामाजिक असमानताहरुको अन्त्य गर्दै राष्ट्रिय पुँजीको बिकास गरेर समतामुलक समाज निर्माणमा पर्यटन क्षेत्रको कस्तो योगदान हुनेछ । हाम्रो ध्यान र छलफल त्यतातिर केन्द्रित थियो । र, त्यसै तर्फ केन्द्रित हुनेछ । हाम्रो प्रयास र प्रयत्न सिङ्गो मुलुकलाई उत्सवमय बनाउने हो । यो अभियानमा मुलुकलाई जुरुक्कै उठाएर विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको सन्देश दिनु हो । विश्वभरीका लगानीकर्ताहरुलाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी दिनु पनि हो । हरेक नेपालीहरुलाई यो अभियानमा जागरुक र उद्देलित बनाउने हो । यो अभियानमा मुलुकलाई जुरुक्कै उठाएर विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको सन्देश दिनु हो । नेपाल पर्यटनका लागि संसारकै एक अद्वितीय पर्यटकीय गन्तव्य हो भनेर दुनियाँलाई थाहा दिनु हो । विश्वभरीका लगानीकर्ताहरुलाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी दिनु पनि हो । हामीले विश्व समुदायमा नेपालको बारेमा दिइने सन्देश र देशभित्र पैदा गर्ने जागरण र सचेतनलाई प्रमुख मानेका छौँ । २० लाख पर्यटक आउँदै गर्दा देशलाई के फाइदा हुनेछ ? पर्यटनमा कति गुणस्तरीयता आउने छ रु पर्यटन क्षेत्रबाट राजश्व तथा रोजगारी कति बढ्ने छ रु समग्र आर्थिक वृद्धि, प्रतिव्यक्ति आय एवं कूल गार्हस्थ उत्पादन (जीडीपी) मा कस्तो योगदान दिनेछ रु पर्यटनमा गुणस्तरीयता, बजारीकरण र ब्राण्डिङ्गमा कस्तो परिवर्तन आउने छ ? यही प्रश्नहरुलाई केन्द्रमा राखेर नै हामीले अभियान चलाएका छौँ । आगामी दिनमा तपाई हाम्रो सहकार्यले यी प्रश्नहरुको वास्तविक समाधान पनि हुँदै जानेछ । आजसम्मका अनेकौं छलफलका क्रममा देखिएको सहभागिता, सक्रियता र प्रतिबद्धताले हामीलाई उत्साही नै बनाएको छ । ‘नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा कायम भएको राष्ट्रिय एकताले हामी उत्साहीत छौँ । सबै क्षेत्रले यसलाई सफल बनाउन जाहेर गर्नु भएको प्रतिबद्धताले हामीलाई थप उर्जा थपिएको छ । हामीले छलफलकै क्रममा सबै राजनीतिक दलका प्रमुखहरुसँग पनि छलफल गरेका छौँ । यसलाई राष्ट्रिय उत्सवकै रुपमा लैजानुपर्नेमा उहाँहरुको जोड छ । सरकार यो अभियानको सहजकर्ता र व्यबस्थापक मात्रै हो, सिंगो देश यो अभियानको आयोजक हो । सबै राजनीतिक दल, नीजि क्षेत्र, सामाजिक संघ संस्थाहरु, गैरसरकारी संस्थाहरु सबै आयोजक हुन् । हामीले १८ मंसिर २०७६ मा नेपालस्थित ३१ देशका राजदूत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग मन्त्रालयमा छलफल गरेका छौँ । महामहिम राजदूतहरुले साँच्चीकै नेपाल नयाँ बाटो र नयाँ क्षितिजतिर लम्किएको प्रतिक्रिया सहित खुशी व्यक्त गर्नु भएको छ । हामीले भनेको संख्या र सन्देश दुबैका लागि त्यो छलफल उपलब्धीमुलक ठानेका छौँ । राष्ट्रिय तथा अन्तराष्ट्रिय वायु सेवा सञ्चालकलगायत अन्तराष्ट्रिय क्षेत्रमा काम गरिरहेका अनेकौ संस्थाहरु पनि छलफल गरेका छौँ । सरकारले ‘नेपाल भ्रमर्ण वर्ष २०२०’ को शुभारम्भको दिन सबैलाई देशभरी दिवापली गरेर स्वागत गर्न आह्रवान गरेको छ । सबै सरकारी निकाय, नीजि क्षेत्र, गैरसरकारी क्षेत्र, विदेशस्थित कुटनीति नियोगका कार्यालहरुमा सबैले दिपवाली गर्नुहुनेछ । त्यो दिपावली, त्यो उज्यालोले हाम्रो नयाँ यात्राको संकेत गर्नेछ । अबको हाम्रो यात्रा उज्यालै उज्यालोतिर उन्मुख छ भन्ने सन्देश दिनेछ । म तपाईहरु मार्फत आम जनसमुदायलाई अपिल गर्न चहान्छु, त्यो दिन सबैले दिपावली गरौ । र, दुनियाँलाई भनौं, ‘अबको हाम्रो यात्रा उज्यालो तर्फ अघि बढेको छ ।’ ‘नेपाल भ्रमण वर्ष २०२० को तयारीदेखि शुभारम्भको पूर्व सन्ध्यामा आइपुग्दासम्म अर्को खुशीको बिषय हो । वास्तवमा यो देशको प्रतिष्ठासँग गाँसिएको कार्यक्रमको रुपमा लिएर तपाईहरुले यसको प्रचारमा गर्नुभएको सकारात्मक योगदान असाध्यै प्रशंसायोग्य छ । देशलाई भ्रमण वर्षमय मनाउनका निम्ति साँच्चीकै सञ्चार क्षेत्रको पनि अभुतपूर्व एकता र सहयोग देखिएको छ । पर्यटनलाई नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भनेका छौं, त्यसका लागि यो संख्या र कार्यक्रम पर्याप्त छैन । त्यसैले हामीले ‘२०२०’ लाई प्रस्थान बिन्दु मान्ने छौँ । २०२० देखि २०३० लाई पर्यटन दशकको रुपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा हामी छौँ । सरकारको त्यो दशक अभियानमा यहाँहरुको उस्तै सक्रियता, सहभागिता र सहयोग हुने नै छ । ‘नेपाल भ्रमर्ण वर्ष २०२०को शुभारम्भ यही १ जनवरी (पुस १६ गते बुधबार) दशरथ रंगशालामा सम्माननीय सम्माननीय राष्ट्रपतिज्यूबाट हुनेछ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुनेछ । कार्यक्रममा सम्माननीय उपराष्ट्रपति ज्यू, पूर्वप्रधानमन्त्रीज्यूहरु, राजनीतिक दलका नेताज्यूहरु, बिभिन्न देशबाट पाल्नु भएका माननीय पर्यटनमन्त्रीज्यूहरु, संघीय सरकारका माननीय मन्त्रीज्यूहरु, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका माननीयज्यूहरु, संवैधानिक निकायका प्रमुखज्यूहरु कूटनीतिक नियोगका प्रमुखज्यूहरु, विदेशी नियोगका प्रमुखज्यूहरु, विभिन्न देशबाट पाल्नु भएका प्रतिनिधिज्यूहरु उपस्थीति रहनेछ । शुभारम्भमा सरकारी निकाय, निजी क्षेत्र, पर्यटनसँग सम्बद्ध संघ संस्थाहरु, सामाजिक क्षेत्र, स्वयमसेवी समूह–संगठन, सामाजिक संघ संस्थाहरुको ब्यानर र पोशाक सहित मार्चपास रहनेछ । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको विशेष प्रस्तुती रहनेछ । नेपालको ख्यातीप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुती रहनेछ । नेपालको सांस्कृतिक विविधता झल्किने मौलक प्रस्तुतीहरु रहनेछन् । १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुदाँसम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखिएको छ । यसका लागि पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तारमा हामीले जोड दिएका छौँ । अब मु्लुक स्थायी शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढेको छ । पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधार मध्येका एक बनाउने सरकारको योजना छ । पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब ३ प्रतिशत योगदान रहेको छ । १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुदाँसम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखिएको छ । यसका लागि पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तारमा हामीले जोड दिएका छौँ । पर्यटनमा गुणस्तरता, बजारीकरण र ब्राण्डिङ्ग हाम्रो प्राथमिकता हो । मानव शंसोधनको विकास, सांस्कृति सम्पदाहरुको विकास, पर्यटनमा अध्ययन अनुसन्धानमा जोड दिदै आएका छौँ । नेपालका पर्यटकीय आकर्षण र सेवाहरूमा विविधता ल्याउन अभिप्रेरित गर्ने, पर्यटकीय सम्पदा तथा पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिको गुणस्तर र क्षमता अभिवृद्धि गर्ने, पर्यटनका माध्यमबाट गरीवी निवारण गर्ने तथा स्थानीय समुदायको सहभागिता बढाउनमा सरकारको ध्यान केन्द्रित छ । ‘नेपाल भ्रमण वर्ष २०२० सँगसँगै हामी यी कामहरुलाई अघि लैजानेछौँ । यो यात्रामा तपाई हामीसँगै र साथै रहनेछौँ । ‘नेपाल भ्रमण वर्ष २०२०’को तयारीको सन्दर्भमा सहयोग पुर्याटउने बिभिन्न मन्त्रालयका माननीय मन्त्रीज्यूहरुप्रति म आभार प्रकट गर्दछु । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालयलाई धन्यवाद भन्न चहान्छु । बिभिन्न सरकारी निकाय, पर्यटनसँग सम्बद्ध बिभिन्न संघ, संगठन, पर्यटन व्यवसायीहरु, निजी क्षेत्रसँग सम्बद्ध संघ संस्थाहरु, समग्र निजी क्षेत्र, गैरसरकारी क्षेत्र, सामाजिक संघ–संगठन, स्वंयसेवी संस्थाहरु सबैलाई धन्यवाद भन्न चहान्छु ।साथै आगामी दिनमा पनि यहाँहरुको यस्तै साथ, सहयोग र सहभागिताको अपेक्षा समेत व्यक्त गर्दछु । (पयर्टन मन्त्री योगेश कुमार भट्टराईले सार्वजनिक कार्यक्रममा राखेको वक्तव्यमा आधारित भएर तयार पारिएको)
काठमाडौं-अष्ट्रेलिया सिधा उडानको पहल हुँदै, लाखौँ नेपाली लाभान्वित हुने
क्यानबेरा । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य रहेका छन् । सिड्नी विमानस्थलले प्रकाशित गरेको तथ्याङ्कअनुसार यो वर्षमात्र काठमाडौँबाट सिड्नी आउने यात्रुको सङ्ख्या एक लाख २१ हजार २६० पुगिसकेको छ । सिड्नी विमानस्थलसँग सिधा उडान सम्पर्क नभएका देशको विमानस्थलहरुको सबैभन्दा ठूलो सङ्ख्या हो । अष्ट्रेलियाको नागरिक उड्डयन सेवा प्रदायक संस्था विगत १२ वर्षदेखि कार्यरत इञ्जिनीयर राजु अधिकारीका अनुसार यो सङ्ख्या दैनिक सिधा उडानका लागि निकै फाइदाजनक देखिन्छ । उनका अनुसार सिधा हवाई सम्पर्क भएमा सिड्नीबाहेकका सहरमा जाने यात्रुहरुलाई पनि यही बाटो प्रयोग गर्ने छन् । यसले गर्दा सिधा उडान प्रभावकारी हुने गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यसमेत रहेका उनले बताए । अष्ट्रेलियन कम्पनीहरुले भारतका सहरबाट समेत हालसम्म उडान गरेको पाइँदैन । नेपाल एयरलाइन्सले काठमाडौँ र सिड्नीबीच सिधा उडानका लागि सम्भाव्यता अध्ययन गरिएको जनाएको छ । सिड्नी काठमाडौँको दूरी लगभग १० हजार किलोमिटर रहेको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले सम्झौतापछिका प्राविधिक पक्षहरुका विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिए । अगामी जनवरी ७ तारिखमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको यहाँ भ्रमण हुने समयमा यहाँका उच्च अधिकारीसँग भेटघाटका लागि पहल आफूले गरिरहेको उनले जानकारी दिएका छन् । अष्ट्रेलियाको सिड्नी आसपासको क्षेत्रहरु क्यानवेरा, गोलवन, वागावागा, डव्वो लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली यसबाट लाभान्वित हुने गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका उपाध्यक्ष चुडामणि सापकोटा बताउँछन् । साथै, सिधा उडानले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनले जानकारी दिए । रासस