भ्रमण वर्ष सफल पार्न सबैको सहयोग आवश्यक : मन्त्री भट्टराई
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताए । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा भ्रमण वर्ष नेपालको समग्र पर्यटकीय विकासका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । भ्रमण वर्षलाई प्रभावकारी बनाउन विदेश स्थित कूटनीतिक नियोगबाट विभिन्न कार्यक्रम सञ्चालन भई रहेको उल्लेख गर्दै उहाँले पर्यटन प्रवद्र्धनका काम पनि त्यही गतिमा अघि बढेको जानकारी दिए । पर्यटन प्रवद्र्धनको महत्वपूर्ण आधारका रुपमा रहेको हवाइ सेवालाई व्यवस्थित गरिने बताउँदै उनले हाल २१ घण्टा सञ्चालनमा आएको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तनोन्नति गरी २४सै घण्टा सञ्चालन गर्ने तयारी भईरहेको जनाए । भ्रमण वर्षको पर्यटन प्रवद्र्धनका लागि सचिवालयले ६५ करोड रुपैयाँको माग गरेपनि सरकारले १० करोड छुट्याएको बताउँदै उनले आवश्यक रकम सरकारले उपलब्ध गराउने जानकारी दिए । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समय सीमाभन्दा छ महिना अगावै सम्पन्न भई सक्ने विश्वास व्यक्त गर्दै मन्त्री भट्टराईले विमानस्थल सञ्चालन हुनुपूर्व पर्यटनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी सक्नुपर्ने बताए । हालसम्म विमानस्थलको निर्माण कार्य ५२ प्रतिशत सम्पन्न भई सकेको उनको भनाइ थियो । विमानस्थलका लागि थप आवश्यक पर्ने १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको बताउँदै जग्गा धनीलाई उचित मुआब्जा दिने स्पष्ट पारे। पोखराको रत्नमन्दिर र हिमागृहलाई पर्यटकीयस्थलको रुपमा उपयोग गरिने बताउँदै उनले यो विषयमा भने पर्यटन मन्त्रालयमार्फत नभई नेपाल ट्रष्टअन्तर्गत रहेको उल्लेख गरे । रासस
सुदूरपश्चिम प्रदेशमा नेपाल भ्रमण वर्षको तयारी
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ हुने दिन यही पुस १६ गते अर्थात् जनवरी १ लाई यहाँ उत्सवको रूपमा मनाउने तयारी गरिएको छ । प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको बैठकले गरेको निर्णयअनुसार नेपाल भ्रमण वर्ष शुरु हुने आगामी जनवरी १ लाई उत्सवका रूपमा मनाउने तयारी भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन शाखाका प्रमुख भोजराज पाठकले बताए । सङ्घीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदानमा नेपाल भ्रमण वर्ष २०२० को मुख्य समारोह गर्ने गरी तयारी भइरहको छ । मुख्य समारोह अघि प्रदेशका नौवटै जिल्लाको लोकसंस्कृति झल्किने झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न लागिएको छ । पहिलो दिनलाई उत्सवका रूपमा मनाएर वर्षभरि गरिने पर्यटन गतिविधिलाई अगाडि बढाउने तयारी भएको मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले बताए । भ्रमण वर्षलाई सफल तुल्याउन प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसारलाई बढी महत्व दिइएको छ । यसका लागि भ्रमण वर्षलाई लक्षित गरेर प्रदेशमा भित्रिने पर्यटकको स्वागतका लागि चिसापानी, खक्रौला, त्रिनगर, गड्डाचौकी, झुलाघाटलगायतका सीमानाका र धनगढी विमानस्थलमा स्वागतद्वार निर्माण गर्न लागिएको छ । स्वागतद्वारमा प्रदेशका पर्यटकीय गतिविधि र पर्यटन गन्तव्य झल्किने र आवश्यक सूचना दिने खालका पोष्टर र होर्डिङ बोर्डसमेत राख्न लागिएको छ । सञ्चारमाध्यम मार्फत प्रचारप्रसार गर्ने योजना बनाइएको छ । ‘भिजिट नेपाल २०२०’ को लोगोसहित प्रदेशको पर्यटकीय गन्तव्य झल्किने लोगोसमेत अङ्कित ‘स्टीकर’ सार्वजनिक यातायातका साधनमा टाँसेर प्रचारप्रसार गर्ने योजना पनि बनाइएको छ । प्रदेशको पर्यटन झल्किने गरी तयार पारिएको लोगो पर्यटक प्रवद्र्धन समितिको बैठकले अनुमोदन गरिसकेको छ । ‘देव भूमि सुन्दर भूमि’नारा लेखिएको लोगोमा प्रदेशका प्राकृतिक र मानव निर्मित पर्यटकीय क्षेत्रको तस्वीरसमेत राखिएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले भ्रमण वर्षलाई लक्षित गरी ‘भ्रमण वर्ष २०२०, हाम्रो मूल नारा राष्ट्र विकास, सबैको विकास, जुटौं हामी सारा’ भन्ने मूल नारासहित पर्यटनमैत्री गतिविधि गर्ने योजना बनाएको छ । अभियानअन्तर्गत सीमानाकामार्फत भित्रिने पर्यटकको विवरण सङ्कलनका साथै पर्यटकलाई लक्षित गरी नाकाबाट भित्रिने गाडीका चालकका लागि सचेतना कार्यक्रम शुरु गरिसकेको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । यस्तै सीमानाकाबाट भित्रिने भारतीय गाडीका चालकले रुट परमिट(सडक इजाजत) लिनका लागि झन्झट व्यहोर्नुपरेको अवस्था रहेको परिपे्रक्ष्यमा भ्रमण वर्षलाई मध्यनजर गरी सीमानाकामा नै ‘रुट परमिट’ उपलब्ध गराउने व्यवस्था गर्न लागिएको पनि उनले बताए । प्रदेश सरकारले भ्रमण वर्षलाई प्रत्यक्ष अप्रत्यक्ष सघाउ पुग्ने गरी पर्यटन व्यवसायीलाई सक्रिय बनाउने योजनासहितका कार्यक्रम सञ्चालन गर्ने योजना बनाउन लागेको छ । यसका लागि तेस्रो मुलुकका पर्यटकलाई प्रदेशका पर्यटकीय गन्तव्यस्थलमा घुमाइदिने व्यसायीलाई तोकिएको मापदण्डका आधारमा अनुदान उपलब्ध गराउने गरी तयारी भइरहेको छ । प्रदेशमा नगण्यरूपमा भित्रिने तेस्रो मुलुकका पर्यटकलाई भित्र्याउन यस्तो रणनीति बनाउन लागिएको हो । यो प्रदेशमा तेस्रो मुलकको तुलनामा भारतीय पर्यटक बढी आउने गरेका छन् । रासस
पर्यटन वर्षलाई लक्षित गर्दै ताप्लेजुङको पाथीभरा उडान शुरु
काठमाडौं । इलामबाट धार्मिक तथा पर्यटकीयस्थल ताप्लेजुङको पाथीभरा उडान शुरु गरिने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सिम्रिक एयरले सो उडान शुरु गर्ने भएको हो । इलामको सूर्योदय नगरपालिका–११ को पूर्णे डाँडाबाट ताप्लेजुङका लागि उडान शुरु गरिने बताइएको छ । पूर्वका पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उद्देश्यले इलामसहित पूर्वका तीन स्थानबाट ताप्लेजुङको पाथीभरासम्म हेलिकप्टर यात्रा गराउने उद्देश्यले उडान शुरु गरिएको सिम्रिक कम्पनीले जनाएको छ । सूर्योदय नगरपालिका–११ को पूर्णे डाँडासहित धनकुटाको भेडेटार र ताप्लेजुङको सुकेटारबाट पुसको तेस्रो साताबाट ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गराउने सिम्रिकका प्रमुख कार्यकारी अधिकृत योगेश सापकोटाले जानकारी दिए । इलाम पर्यटकीय क्षेत्र भएकाले यहाँबाट पहाडी जिल्लासहित भारतका पर्यटक लक्षित गरेर उडान शुरु गरिएको सापकोटाको भनाइ थियो । पूर्णे डाँडाबाट १५ देखि २० मिनेटमा पाथीभरा पुग्ने बताइएको छ । दर्शनार्थीले एक घण्टा पाथीभरामा बिताउने र त्यसपछि पुनः सोही स्थानमा ल्याएर छोडिने सिम्रिकका इलाम प्रतिनिधि प्रेमप्रसाद आचार्यले जानकारी दिए । पर्यटन वर्षमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि पूर्वका स्थानमा नयाँ ‘उत्पादन’ थप गरेको सापकोटाले बताए । सिम्रिकले इलामबाट २८ हजार ९९९ रुपैयाँमा पाथीभराको दर्शन गराउने छ । त्यसैगरी भेडेटारबाट २९ हजार ९९९ रुपैयाँमा र सुकेटारबाट ६ हजार ९९९ रुपैयाँमा भ्रमण गराउने बताइएको छ । गाडीमा यात्रा गर्न असहज हुने दर्शनार्थीका लागि यो नौलो अवसर भएकाले पनि प्रचार गर्न आवश्यक रहेको पर्यटनकर्मीले बताउँदै आएका छन् । यसले पर्यटन वर्षलाई सफल बनाउन मद्दत गर्ने अपेक्षा लिइएको छ । इलामबाट शुरु गरिने उडानबाट जिल्लावासी मात्र होइन तराई र भारतको दार्जिलिङ, सिक्किम, सिलिगुडीसहितका दर्शनार्थीलाई समेत सहज हुनेछ । इलाम प्रतिनिधि आचार्यका अनुसार इलामबाट बुकिङ शुरु गरिसकिएको छ । भ्रमण वर्ष मनाउन जिल्लाका स्थानीय तहले पनि तयारी थालेका छन् । रासस