मुलुकभरका होटल व्यवसायी सुर्खेतमाः पर्यटन प्रवद्र्धनमा टेवा

काठमाडौं । होटल व्यवसायी महासङ्घको राष्ट्रिय महाधिवेशन लागि मुलुकभरका होटल व्यवसायी आजदेखि वीरेन्द्रनगरमा भेला भएका छन् । महाधिवेशनका लागि नेपालभरका ८० हजार होटलको प्रतिनिधित्व गर्दै सात वटै प्रदेशका व्यवसायी सुर्खेत आएका हुन् । महासङ्घले दुई दिने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गर्ने कार्यक्रम छ । होटल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष अमृत भुजेलले महाधिवेशनमा सातै प्रदेशबाट एक हजार ५०० भन्दा बढी होटल व्यवसायीको सहभागिता रहने बताए । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । अध्यक्ष भुजेलले महाधिवेशन प्रतिनिधिलाई कर्णालीको अर्गानिक खानाको व्यवस्था मिलाइएको बताए । “कर्णाली प्रदेश सरकारले अर्गानिक उत्पादनलाई जोड दिएको छ, यस्तो सकारात्मक अभियानको सार्थकताका लागि हामी निजी क्षेत्रको पनि सहयोग हुनुपर्छ”, उनले भने, “कोशेलीका रुपमा स्थानीय उत्पादनलाई नै प्रयोग गर्दैछौँ ।” महासङ्घ सुर्खेतका पूर्वअध्यक्ष तर्कबहादुर शाहीले कर्णालीको पर्यटन प्रवद्र्धनमा महाधिवेशनले ठूलो टेवा पु¥याउने जानकारी दिए । रासस

भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै काठमाडौंमा आर्किटेक्चरल सम्मेलन हुँदै

काठमाडौं । नेपाल पर्यटन बर्ष मनाउने अन्तिम तयारीमा जुटिरहेका बेला काठमाडौं बृहत राष्ट्रिय सम्मेलन सुरु हुने भएको छ । सोसाईटी अफ नेप्लिज आर्किटेक्ट (सोना) को आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु हुने सम्मेलनमा देशभरका पाँचसय भन्दा बढीको सहभागिता हुँदैछ । सोनाका महासचिव सुरज खनालका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ‘आर्किटेक्चरल रेस्पोन्सेस टू टूरिजम इन नेपाल’ भन्ने एजेण्डासहितको सम्मेलन आयोजना गर्न लागिएको हो । पर्यटकीय क्षेत्र आर्किटेक्चरल हिसाबले जति मजबुत हुन्छ, त्यतिनै पर्यटकीय सम्भावना बढ्ने हुनाले यसतर्फ सरकारको ध्यानआकृष्ट गर्न सम्मेलन सहयोगी हुने आयोजकको दावी रहेको छ । सम्मेलनले आर्किटेकटहरुको विगतको भूमिकाको समीक्षा गर्दै आगामी प्रयत्नलाई थप प्रभावकारी बनाउन सहयोग पु¥याउने सोनाकी अध्यक्ष अञ्जु मल्ल प्रधानले बताइन् । सम्मेलनमा शहरको परिकल्पना, विपद्पछिको संरचना र पर्यटकीय पूर्वाधारमा नयाँ मार्गप्रसस्त गर्न छुट्टाछुट्टै छलफल हुने सोनाका महासचिव खनालले जानकारी दिए । कम लागतमा नै संरचनालाई दीगो र बहुउपयोगी बनाउन आर्किटेक्टको भूमिका महत्वपूर्ण रहने भन्दै देशको पर्यटन विकासमा टेवा पुर्याउन सम्मेलनको आयोजना गरिएको खनालको दावी छ । शुक्रबारबाट सुरु हुने सम्मेलन दुईदिनसम्म चल्नेछ । सम्मेलनमा आर्किटेक्ट, व्यवसायी, सरकारी निकायका साथै नेपालका पर्यटन र निर्माणक्षेत्रसँग जोडिएका अग्रणी संस्थाहरुको समेत सहभागिता रहनेछ ।

पाेखरा विमानस्थलबाट उडेका दुई हेलिकप्टर आकस्मिक अवतरण

कास्की ।  मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई खेल मैदानमा अवतरण गराइएको छ । पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात खराबी आउँदा आज बिहान १०ः१० बजे पोखरा महानगरपालिका–१९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिएको हो। बिहान आधार शिविरतर्फ उडानको क्रममा मौसम अनुकूल रहेपनि फर्कने क्रममा विमानस्थल हुस्सुले ढाकेपछि अवतरण हुन नसकेको हो । ‘‘पोखरा विमानस्थल हुस्सुको कारणले बन्द हुँदा टावरसँगको सम्पर्कमा दुई हेलिकप्टर खेल मैदानमा अवतरण गर्नुपरेको बताइएको छ । मौसम खुल्ने वित्तिकै उड्ने तयारीमा छन्’’ पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले ले भने । मौसम सफा नहुँदा आज पोखरा विमानस्थलबाट आज बिहान ११ बजेसम्म कुनै पनि उडान तथा अवतरण हुन सकेका छैनन् ।