हिमालय एयरलाइन्सले हप्तामा दुई पटक क्वालालम्पुर उडान भर्ने
काठमाडौं । हिमालय एयरलाइन्सले मलेसियास्थित क्वालालम्पुर उडान यही मंसिर २३ गतेदेखि सुरु गरेको छ । एयरलाइन्स क्वालालम्पुरको लागि आफ्नो पहिलो उडान सन् २०१७ को फेब्रअरी १० बाट सुरु गरेको थियो । वैदेशिक रोजगारीमा मलेसिया जानेहरुका लागि स्वीकृति रोकिएपछि सन् २०१८ को नोभेम्बरबाट एयरलाइन्सको मलेसियाको उडान स्थगित भएको थियो । भ्रमण वर्ष २०२० को संघारमा एयरलाइन्सले क्वालालम्पुरको उडान पुर्नसंचालन गर्दै मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षित गर्न र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । यी दुई स्थानबीचको उडानले दुवै देशका यात्रुहरुलाई व्यावसायिक अवसर प्रदान गर्ने र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठ बताएका छन् । हिमालय एयरलाइन्सकाु पुनःआरम्भ उडान H9 ८९० कुल १५० यात्रुसहित नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०१९ डिसेम्बर ९ मा स्थानीय समय २१ः३५ मा क्वालालम्पुरको लागि उडेको थियो र क्वालालम्पुर स्थित क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१९ डिसेम्बर १० मा स्थानीय समय ४ः१८ मा अवतरण गरेको थियो । हिमालय एयरलाइन्सकाे आवागमन उडान H9 ८९१ कुल ८२ यात्रुसहित क्वालालम्पुर विमानस्थलबाट सोही दिन स्थानीय समय ५ः२१ मा उडेको थियो र नेपालको त्रिभुवन विमानस्थलमा स्थानीय समय ७ः४६ मा अवतरण गरेको थियो । साप्ताहिक दुई दिने उडान तालिका उपयुक्त समयमा रहेको छ । साथै, दुवै रुटमा बिजनेश क्लासका लागि ४० किलो र इकोनोमी क्लासका लागि ३० किलोको ब्यागेजको सुविधा निःशुल्क उपलब्ध गराइएको छ । समय तालिका अनुरुपकै समयमै उडान भर्न निश्चित गर्ने उद्देश्य सहित निम्न बमोजिमको उडान तालिका सार्वजनिक गरिएको छ । उडान नं. बहिर्गमन विमानस्थल बहिर्गमन समय आवागमन विमानस्थल आवागमन समय दिन H9 ८९० काठमाडौं २१ः२० घण्टा क्वालालम्पुर ४ः३०ंं१घण्टा सोम,विही H9 ८९१ क्वालालम्पुर ५ः३० घण्टा काठमाडौं ७ः५५ घण्टा मंगल, शुक्र उल्लेखित सबै समय स्थानीय समय हुन् ।
आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्रकाे विकास : मुख्यमन्त्री पौडेल
काठमाडौं । प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई थप विकास र विस्तार गर्नुपर्ने खाँचो औल्याएका छन् । प्रदेशको दश पर्यटकीय गन्तव्य मध्ये मेघौलीलाई पहिलो र मेघौली गैँडा उद्यान (राइनो पार्क) को आज यहाँ शिलान्यास गर्दै उनले पर्यटन प्रवद्र्धन गर्न सबै जुट्नु पर्ने बताए । मेघौलीलाई रोमञ्चकारी जङ्गल यात्राका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा थप पहिचान एवं प्रवद्र्धन गर्न प्रदेश सरकारले उच्च प्राथमिकता दिएको मुख्यमन्त्री पौडेलले जानकारी दिए। उनले भने, “चितवनलाई प्रदेशको दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने छ । सबै जिल्लाका सबै पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा काम गर्ने छौ ।” मुख्यमन्त्री पौडेलले पर्यटन प्रवद्र्धनमा स्थानीय सरकार र जनताको लगानी आवश्यक रहेकोमा जोड दिए । करिव ५५० बिघाहा क्षेत्रफलमा निर्माण हुन सो उद्यानको प्रवेशद्वारमा ३३ फिट उचाई र ४० फिट लम्बाइको दुई तले गैंँडाको मूर्ति निर्माण हुनेछ । मूर्तिकोभित्र पहिलो तल्लामा पर्यटक सूचना केन्द्र, दोस्रो तल्लामा अखेटो पाहार सङ्ग्रहालय र बहुजातीय सङ्ग्रहालय तयार हुनेछन् । सो गैँडाको मूर्ति तयार गर्न मात्र दुई करोड ८९ लाख ४४ हजार रुपैयाँ खर्च लाग्ने जनाइएको छ । उद्यान सम्पन्न गर्दा रु २३ करोड खर्च हुने विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ । उद्यानभित्र भ्यूटावर, २५ बिघाहामा ताल, ५० बिघाहामा घाँसे मैदान, टाईगर टावर, जङ्गल सफारी, असाहाय वन्यजन्तु उद्धार केन्द्र लगायतका संरचना निर्माण हुने छन् । प्रदेश सरकारको मुख्य सहयोगमा पार्क निर्माण गर्न लागिएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य कृष्ण भूर्तेलले मेघौली क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको चर्चा गर्दै राईनो उद्यानले समग्र जिल्लाको पर्यटन विकासमा सहयोगी हुने बताए । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती, भरतपुर महानगरपालिका – २७ का अध्यक्ष गोविन्द तामाङ्, वडा नं–२८ का अध्यक्ष आशबहादुर कुमाल, थारु सांस्कृतिक सङ्ग्रहालयका अध्यक्ष मायाराम चौधरी लगायतले मेघौली क्षेत्रको पर्यटनको बारेमा चर्चा गरे । सो अवसरमा भरतपुर महानगरपालिकाका पर्यटन विज्ञविश्व सुवेदीले शिलन्यास भएको मेघौली गैँडा उद्यान र यसक्षेत्रका पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिए थियो । कार्यक्रममा ब्राह्मण, थारु, गुरुङ्, कुमाल र तामाङको झाँकी एवं सारङ्गी प्रस्तुत गरिएको थियो । मेघौली चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो । रासस
नेपालगञ्ज विमानस्थल स्तरोन्नतिको गुरुयोजना अलपत्र
बाँके । सरकारले स्तरोन्नतिका लागि नेपालगञ्ज विमानस्थलको गुरुयोजना बनाएको वर्षौँ बितिसकेको छ । तर, योजनाअनुसार अहिलेसम्म कुनै काम हुनसकेको छैन । विमानस्थलमा स–साना काम नहुँदा जहाज अवतरणस्थल (रनवे)मा बेलाबखतमा समस्या आउने गरेको छ । रनवे चारैतिर घाँसले भरिएको छ । जङ्गल नजिकै भएकाले विमानस्थलको झाडीमा बँदेल, बाँदरजस्ता वन्यजन्तु बस्ने गरेकाले जहाज उडान र अवतरणका समयमा चुनौती अझ थपिएको छ । निर्माणको जिम्मेवारी लिएको पप्पु कन्स्ट्रक्शनले रनवेमा ग्रेडिङको काम पूरा नगर्दा समस्या भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल घाँसेमैदानमा समेत परिणत भएको छ । बँदेल आतङ्कले विमानस्थलमा दुर्घटनाको जोखिम पनि उस्तै बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रेमनाथ ठाकुर बताए । उनका अनुसार गत मङ्गलबार साँझ बुद्ध एयरलाइन्सको जहाज अवतरण हुने क्रममा बँदेलसँग ठोक्किएको थियो । तर, मानवीय क्षति भने भएन । बँदेलको बच्चाले भने ज्यान गुमाएको थियो । धावनमार्गमै वन्यजन्तु आउँदा समस्या निम्तिएको बुद्ध एयरलाइन्सका स्टेशन म्यानेजर विनित शाह बताउँछन् । उनले भने, “विमानस्थलमा धेरै घाँसेमैदान छ, बेलाबखतमा सफा गरिए पनि सरसफाइ कार्यक्रम नियमित नहुँदा समस्या उस्तै हुने गर्छ, त्यसका कारण विमान उडान र अवतरणका क्रममा वन्यजन्तु रनवेमै आउँदा चुनौती छ ।” पप्पुले विमानस्थलको ‘ओभरले’ (एकपटक बनाएको रनवेमाथि पुनः लेयर लगाउने काम) पूरा गरेको छ । तर, उसले गर्नुपर्ने मार्किङ, नाली, ग्रेडिङ (माटो सम्याउने काम) अलपत्र छाडेको छ । काम पूरा गर्न पटक–पटक पत्राचार गरे पनि अटेरी गरिरहेको प्राधिकरणले जनाएको छ । एक वर्षअघि सम्पन्न भइसक्नुपर्ने ठेक्का अहिलेसम्म अधुरै रहेको नागरिक उड्डयन प्राधिकरण प्रमुख ठाकुरले बताए । धावनमार्ग पक्की गर्ने, मार्किङ गर्ने, झाडी फालेर ग्रेडिङ गर्ने (सम्याउने) कार्यको ठेक्का पप्पु कन्स्ट्रक्शनले रु १३ करोडमा ठेक्का लिएको प्राधिकरण प्रमुख ठाकुर बताउँछन् । ठेक्कामध्येको रु ११ करोड ३३ लाख भुक्तानी भइसकेको छ । काम भने अझै अपुरै रहेको छ । ठेकेदारले अटेर गरेपछि प्राधिकरणले पप्पुलाई आवश्यक कारवाहीका लागि सिफारिश गरेको उनको भनाइ छ । वन्यजन्तुबाट बचाउन विमानस्थलको वरिपरि काँडेतार गरिएको छ । “सुरक्षाका लागि पर्याप्त छैन, रनवेको घाँस नफाल्दासम्म जनावरले सताइरहन्छ”, प्राधिकरण प्रमुख ठाकुरले भने, “ठेकेदार कम्पनीलाई यसअघि बारम्बार काम सक्न आग्रह गर्दा पनि सुनुवाइ गरेन, यसले उडान र अवतरण संवेदनशील बन्दै गएको छ ।” पप्पुले जिम्मेवारीले लिएकामध्ये अधिकांश काम अधुरै छन् । तोकिएको समयमा आफ्नो जिम्मेवारी बहन गर्न नसकेपछि निर्माण कम्पनी पप्पु कन्ट्रक्सनलाई कारवाहीका लागि प्रक्रिया अघि बढाइएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । उनका अनुसार धरौटीमा राखिएको रकम जफत गर्ने प्रक्रिया शुरु भएको छ । विमानस्थलको आन्तरिक पूर्वाधार निर्माणका लागि रु १२ अर्ब लगानी भइरहेको उनले बताए । गुरूयोजना अनुसार विमानस्थललाई पूर्ण बनाउन अझै १२६ बिघा जमिन अतिक्रमण गर्नुपर्ने देखिएको उनी बताउँछन् । अहिले छ ठूला जहाज अटाउने पार्किङ–वे निर्माण भइरहेको छ । हाल दुईमात्रै ‘एटीआर ७२’ ठूला जहाज पार्किङ गर्न सकिन्छ । प्रमुख ठाकुरले भने, “अब छ जहाज थप गरी पार्किङ–वे निर्माणपछि आठ ठूला जहाज ल्यान्ड गर्न सहज हुनेछ, २०० मिटरको रनवे रहेको नेपालगञ्ज विमानस्थलमा गुरुयोजनाअनुरुप पश्चिमतर्फ थपेर विमानस्थलको रनवेलाई दुई हजार ६०० मिटरसम्म बढाउने तयारी भइरहेको छ ।” विमानस्थलको पार्किङ क्षेत्रमा मात्र रु २८ करोड लगानी हुँदैछ । नयाँ टर्मिनल बनाउँदा पश्चिमतर्फको डुडुवाखोला नै अर्कोतर्फ मोड्नुपर्ने अवस्था आउने प्राधिकरण प्रमुख ठाकुरले बताए । रासस