भ्रमण वर्ष २०२० मा सरकारको खर्च ६२ करोड, कुन शीर्षकमा कति हुँदैछ खर्च
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० शुरु हुन अब १ महिनामात्रै वाँकी छ । सरकारले विशेष तामझामका साथ आयोजना गर्न लागेको यो कार्यक्रमका लागि ६१ करोड ७४ लाख रुपैयाँ खर्चिने कार्यक्रम तय भएको छ । भ्रमण वर्षको संघारमै पुग्दा सरकारबाट नेपाल भ्रमण वर्ष २०२० को सचिवालयलाई २५ करोड रुपैयाँमात्रै उपलब्ध गराएको छ । नेपाल सरकार र पर्यटन बोर्डबाट प्राप्त भएको १०/१० करोड गत आवको वाँकी भएको ५ करोड गरी अहिले सचिवालयले २५ करोड रुपैयाँमा भ्रमण वर्षको तयारी शुरुवाती गरेको हो । सचिवालयले वाँकी अपुग ३६ करोड ७४ लाख रुपैयाँ अर्थ मन्त्रालयमा माग गरी पठाएको छ । स्वदेश तथा विदेशमा भ्रमण वर्ष २०२० लागि प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धन गर्न २६ करोड २५ लाख खर्च गर्ने तयारी सचिवालयले गरेको छ । नेपाल पर्यटन बोर्डसमेतको सहकार्यमा विभिन्न देशमा पर्यटकीय गतिविधि सम्बन्धि कार्यक्रम गर्ने तयारी सचिवालयले गरेको छ । भारत, चीन, युरोप, मध्यपूर्व, दक्षिण पूर्व, अस्ट्रेलिया, तथा अमेरिकामा हुने विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम तथा पर्यटन मेलामा सहभागी भएर नेपालको पर्यटन प्रवद्र्धन गर्न चार करोड रुपैयाँ खर्च गर्न लागेको छ । विभिन्न नेपाली नियोग, दुताबास तथा गैरआवासीय नेपाली संघसँगको संयुक्त सहकार्यमा हुने कार्यक्रमलाई साढे दुई करोड रुपैयाँ छुट्टयाइएको छ । त्यस्तै सरकारी, गैर सरकारी, निजी क्षेत्र तथा वायुसेवाको माध्यमबाट भ्रमण वर्षलाई प्रमोशन र ब्रान्डिङ गर्न साढे तीन करोड रुपैयाँ छुट्याएको छ । भ्रमण वर्षको प्रचार प्रसार गर्न विभिन्न २८ देशमा नेपाली दुतावास तथा नियोगमार्फत पत्र पठाइसकेको छ । भारत, बेलायत, इटली, थाइल्याण्डलगायतका देशमा यस सम्बन्धि कार्यक्रम समेत गरिसकेको छ । यस्ता कार्यक्रममा खेल पर्यटन प्रवद्र्धन, डिजिटल मार्केट, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रवद्र्धनात्मक गतिविधि, नेपालमा हुने विभिन्न सभा समारोहसहितका गतिविधि गर्ने तयारी सचिवालयले गरेको छ । वर्षभरी गरी विभिन्न पर्यटन प्रडक्ट स्तरोन्नति तथा विकासका लागि सचिवालयले १० करोड ९० लाख रुपैयाँ खर्च गर्ने गरी बजेटका कार्यक्रम तय गरेको छ । यस्तो कार्यक्रममा नयाँ कार्यक्रमका रूपमा विभिन्न २५ वटा नयाँ पर्यटकीय उपजको विकास गर्न १ करोड ५० लाख रुपैयाँको बजेट स्वीकृत भएको छ । हिन्दु तथा बुद्ध धर्मसम्बन्धि मन्दिर गुम्बासहितको कार्यक्रम प्रवद्र्धन गर्न ‘टेम्पल स्टे प्याकेज’ बनाइने भएको छ । शिवशक्ति सर्किटको अध्ययन तथा अनुसन्धान भइरहेको छ भने कालिगण्डकी गर्जमा माउन्टेन बाइक ट्रेलसहितको कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक रोहिनी खनालले जानकारी दिए । नेपालमा भएका र चलेका सीमित गन्तव्यको विकल्पमा धार्मिक, साहसिक, नयाँ गन्तव्यका विकाससहितका प्रडक्ट विकास गर्दै योजना सचिवालयले बनाएको छ । भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यकाअनुसार सन् २०२० को हरेक महिना फरक–फरक कार्यक्रम गर्ने तयारीका साथ सचिवालयले बजेट तय गरेको छ । नौ वटा शीर्षकअन्तर्गत विभिन्न उपशीर्षक बनाएर उक्त खर्च गर्ने कार्यक्रम तालिका बनेको छ । आगामी पुस १ गते दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
भक्तपुरमा पर्यटन वर्षलाई लक्षित गर्दै मेला शुरु, १० करोडको व्यापार गर्ने लक्ष्य
काठमाडौं । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै भक्तपुरमा भक्तपुर मेला २०७६ शुरु भएको छ । आगामी २३ गतेसम्म सञ्चालन हुने उक्त मेला भक्तपुरको महेश्वरी खेलमैदानमा शुरु भएको हो । ममता केन्द्र नेपालले आयोजना गरेको मेलामा पाँच लाख मानिसले अवलोकन गर्ने १० करोड रुपैयाँको व्यापार गर्ने लक्ष्य राखिएको छ । मेलामा रहेका १५० वटा कक्षमा उपभोगका सामान, लत्ताकपडा, खेलकूदका र विद्युतीय सामानलगायत रहेको ममता केन्द्रका अध्यक्ष सगम् लामाले बताए । सामानहरुमा १५ प्रतिशतसम्म छुट दिएको उनले जानकारी दिए । मेलामा विभिन्न खेलकूद तथा नृत्य प्रतियोगिता पनि हुनेछ । रासस
पर्यटक लक्षित होटल खुल्ने क्रम बढ्दो
काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु हुनैलाग्दा पर्यटकलाई लक्षित गरेर होटल तथा घरवास खुल्ने क्रम बढेको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बेला पर्यटन विभागमा चालू आर्थिक वर्षमा मात्र १८ नयाँ घरवास तथा होटल खोल्नका लागि दर्ता भएका छन् । विभागका अनुसार पाँचतारे चार, चारतारे तीन, एकतारे एक, पर्यटक स्तरका सात र होमस्टे तीन वटा बनाउनका लागि विभागमा दर्ता भएका हुन् । तीनतारे होटल भने गत आर्थिक वर्षको तुलनामा पाँच घटेका छन् भने दुईतारे होटल एक पनि दर्ता भएका छैनन् । नयाँ होटल तथा घरवास दर्ता भएसँगै अब नेपालमा पर्यटकस्तरका ९२३ होटल तथा घरवास हुनेछन् जसमा पाँचतारे १५, चारतारे १३, तीनतारे ३३, दुईतारे ४३, एकतारे ३५, पर्यटकस्तरका ५२७ र घरवास २५७ रहेका छन् । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे भ्रमण वर्षको तयारीसँगै पर्यटकीयस्तरका होटल तथा घरवासमा लगानी गर्नेको सङ्ख्या पनि बढिरहेको बताए । कतिपय होटल भने प्रदेशस्तरमा दर्ता भएर सञ्चालनमा आउने तयारी भइरहेको विभागले जनाएको छ । गत आर्थिक वर्षमा मात्र ११ लाख ७३ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए । सरकारले राखेको लक्ष्यअनुसार विदेशी पर्यटक नेपाल आए होटल अपर्याप्त हुने व्यवसायीले बताएका छन् । रासस