दाेस्रो आन्तरिक पर्यटन मेला काठमाडौंमा, व्यापारिक प्रयोजनका १५० स्टल

काठमाडौं । डोमेस्टिक टुरिजम मार्टले फागुन ९ र १० गते (फ्रेबु्रअरी २१,२२) मा दोस्रो आन्तरिक पर्यटन मेला गर्ने भएकाे छ । मार्टकाे आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा हुने उक्त मेलामा देशभरिका सबै पर्यटकीय स्थलको प्रदर्शन तयारी गरिएकाे हाे । पहिला देश अनि विदेश भन्ने नाराका साथ हुने उक्त मेलामा नेपाल  भित्र लुकेर रहेका पर्यटकीय गन्तव्यकाे दृश्य अवलाेकन गर्न सकिने छ । सो मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्यहरुको प्रदर्शनी, खानाको परिकार झल्किने गरी फुड स्टल समेत रहने पाइन्छ । मेलामा ग्राहकहरुले आफुले चाहेको वस्तुहरु खरिद गर्न सक्ने छन् । मेलामा लाखौ दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ । मेलामा हस्तकला सामाग्री, आफ्नै जिल्लामा उत्पादित खाद्य सामाग्री, पर्यटकीय क्षेत्रका होटल, ट्राभल, ट्रेकिङ, एयरलाइन्स, प्याकेज टुरका साथै पर्यटकीय क्षेत्रमा सक्रिय रहेका निजि कम्पनी तथा संघसंस्थाहरुले स्टल राख्ने छन् । साे मेलाको प्रमुख उद्देश्य आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने रहेको छ । साथै, ७ वटै प्रदेशबाट संयोजक बनाउने तथा सहयोगी संघ संस्थाहरुबाट १ सय ५० वटा स्टलहरुलाई मध्यनजर गर्दै डीटीएम एक्सिलेन्ट अवार्ड समेत प्रदान गरिने डोमेस्टिक टुरिजमका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।

नेपाल भ्रमण वर्ष २०२०ः एक लाख विदेशी पर्यटक भित्र्याउने कर्णाली प्रदेशको लक्ष्य

सुर्खेत । कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष सन् २०२० भित्र कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुधबार सुर्खेतमा आयोजित साक्षात्कार कार्यक्रममा पर्यटन क्षेत्रको द्रुत विकास तथा प्रवद्र्धनका क्रियाकलापमार्फत सन् २०२० भित्र एक लाख विदेशी पर्यटक भित्र्याउने योजना रहेको जानकारी दिएका हुन् । भ्रमण वर्षलाई सफल पार्न कर्णाली प्रदेशमा ३१ सदस्यीय पर्यटन प्रवद्र्धन समिति तथा विभिन्न उपसमिति गठन गरी कार्ययोजना निर्माणमा जुटिरहेको उनले बताए । मन्त्री बुढाको अध्यक्षतामा गठित समितिमा आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, पर्यटन व्यवसायीलगायतको प्रतिनिधित्व रहेको छ । कर्णालीमा पर्यटनको अथाह सम्भावना रहेको भन्दै उनले सरकार र निजी क्षेत्र मिलेर पर्यटन विकास गर्न सके प्रदेशको विकासमा टेवा पुग्ने धारणा राखेका छन् । रारा, से–फोक्सुण्डो, लिमी उपत्यका, त्रिपुरासुन्दरी, पञ्चकोशी, सिञ्जा, काँक्रेविहारलगायतका क्षेत्र विदेशी पर्यटकका लागि मुख्य गन्तव्य रहेको उनको भनाइ थियो । कार्यक्रममा भ्रमण वर्ष २०२० का सहसंयोजक राजु कार्कीले कर्णालीका पर्यटकीयस्थललाई विश्व बजारमा प्रचार–प्रसार गर्न नसकेको बताए । “सरकारले मुख्य पर्यटकीय गन्तव्यसम्म सहज यातायातको पहुँच निर्माण गरिदिएको छैन”, उनले भने, “पर्यटन क्षेत्रको भौतिक विकास जबसम्म हुँदैन, तब पर्यटनबाट समृद्धि हासिल गर्न सम्भव छैन ।” पर्यटन उद्योगमा गरिएको लगानीले तत्काल प्रतिफल आउने हुँदा यस क्षेत्रमा लगानी गर्न सरकार र निजी क्षेत्र हिच्किचाउन नहुने विचार व्यक्त गरेका छन् । कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष शुभारम्भका दिन जनवरी १ मा कर्णालीका १० वटै जिल्लाबाट मौलिक संस्कृति झल्किने झाँकी ल्याएर सुर्खेतमा प्रदर्शन गर्ने तयारी गरेको छ । भ्रमण वर्षका लागि कर्णाली प्रदेशमा सचिवालयसहित छ उपसमिति गठन गरिएको छ । जसअन्तर्गत प्रचारप्रसार उपसमिति, इभेन्ट म्यानेजमेन्ट तथा सांस्कृतिक उपसमिति, आर्थिक उपसमिति, होटल तथा ट्रेकिङ व्यवस्थापन उसमिति, मानव संशाधन तथा समन्वय उपसमिति छन् । रासस

पोखराको फूलबारी रिसोर्टले नेपाल बैंकको साढे ३ अर्ब ऋण तिर्दै, होटल सञ्चालन गर्न अघि बढे अमात्य

काठमाडौं । पोखराको फूलवारी रिसोर्टले साढे दुई दशक अघि नेपाल बैंकबाट लिएको कर्जा भुक्तान गर्ने भएको छ । बैंक र रिसोर्ट सञ्चालकबीच गत कार्तिक १ गते आगामी १० वर्षभित्र सम्पूर्ण कर्जा चुक्ता गर्ने गरी सम्झौता भएको हो । सम्झौताअनुसार रिसोर्टले १ वर्षसम्म कर्जाको ब्याजमात्रै तिरे पुग्छ । त्यसपछिका वर्षमा भने ऋणीले साँवा र ब्याज दुबै भुक्तान गर्दै जानु पर्ने गरी ऋणको पुनः संरचना गरिएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले जानकारी दिए । २०५०/५१ मा लिएको रिसोर्टको ऋणको साँवा ब्याज गरी ३ अर्ब ४६ करोड पुगेको छ । उतिबेला फूलबारीले करिब १ अर्ब ३० करोड कर्जा लिएको थियो । २ अर्ब १६ करोड ब्याज सहित अहिले सो कर्जा साढे ३ अर्ब पुगेको हो । नेपालीको गहनाको रुपमा लिएको उक्त रिसोर्टमा नेपाल बैंकको ७० प्रतिशत ऋण लगानी र सञ्चालकको ३० प्रतिशत लगानी रहेको थियो । फूलबारी रिसोर्टलाई कालोसूचीमा राखे पनि होटल र त्यसले चर्चेको जमिनलाई लिलामीमा लैजान भने सकेको छैन । यदि उक्त जमिनलाई लिलामीमा लैजाने हो भने कर्जा चुक्ता गर्न अमात्यलाई त्यति आपत पर्दैन । अहिले पेनाल ब्याज मिनाह गर्ने गरी कर्जाको पुर्नसंरचना गरिएको हो । होटल सञ्चालन भए बैंकले पेनाल ब्याज तिर्नु पर्दैन । साधारण ब्याजलाई मूल साँवामै जोडेर कर्जाको एकमुष्ट संरचना गरिएको हो,’ सीईओ अधिकारीले भने । केही वर्ष होटल राम्रै चल्यो । ब्याज र साँवा पनि तिर्यो । विदेशी खर्चालु पर्यटकलाई लक्षित गरी स्थापना भएको उक्त रिसोर्ट एक दशक लामो द्वन्द्वको चपेटामा पर्यो । त्यति नै बेला आतंककारीले इन्डियन एयरलाइन्स अपहरण गरेपछि रिसोर्टले लक्ष्य अनुरुपको आम्दानी गर्न सकेन र रिसोर्ट विस्तार संकटतिर धकेलिदै गयो । ‘वान अफ दि ग्रेटेस्ट होटल इन द वल्र्ड’ भन्ने अवधारणा साथ दरबार निकट मानिएका पियुष अमात्यले ४ सय रोपनी जमिनमा उक्त होटल स्थापना गरेका हुन् । पर्यटन वर्ष १९९८ लाई लक्षित गरी स्थापना भएको उक्त रिसोर्टलाई नेपालको मात्र नभइ दक्षिण एशियाकै ठूलो रिसोर्टको रुपमा लिइन्थ्यो । अहिले रिसोर्ट बन्द भएको २ वर्ष बितिसकेको छ । अहिले त्यहि रिसोर्ट सञ्चालन गर्न अमात्यले आफ्नो जमिन बिक्री गरेर ४० करोड रुपैयाँ नेपाल बैंकमा जम्मा गर्दैछन् । उक्त रकमबाट १० करोड रुपैयाँ कर्जाको साँवा र ब्याज भुक्तान गरिने सहमति बैक र सञ्चालकबीच भएको छ । ३० करोड रुपैयाँ खर्च गरेर होटल पुनःसंचालन गर्न लागिएको हो ।