सार्वजनिक यातायातका साधनमा भ्रमण वर्षको लोगो राखिने

काठमाडौँ । देशभरका सार्वजनिक यातयातका साधानमा नेपाल भ्रमण वर्ष, २०२० अभियानको लोगो राखिने भएको छ । भ्रमण वर्षलाई प्रभावकारीरुपमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भएको समझदारीअनुरुप सो अभियानको शुभारम्भ गरिएको हो । सबै सार्वजनिक यातायातका साधनमा देशका विभिन्न मठ, मन्दिर तथा पशुपक्षी र वन्यजन्तुको तस्वीरसहितको नमूना लोगो बनाएर टाँसिनेछ । यस्तो लोगो चार प्रकारको हुनेछ । गाडीको अवस्थिति र प्रकृतिअनुरुपको उपयुक्त लोगो टाँसिनेछ । प्रारम्भमा पशुपतिनाथ, स्वयम्भू, लुम्बिनी तथा हात्ती, ढाँफे र हिमालको तस्बिर अङ्कित लोगो बनाइएको छ । आगामी मङ्सिर १५ गतेभित्र सबै यातायातका साधनमा लोगो टाँसिने बताइएको छ । देशभार कालो नम्बर प्लेटधारी यात्रुबाहक र मालबाहक गरी तीन लाख हाराहारीमा यातायातका साधन रहेको महासङ्घले जनाएको छ । अभियानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले यातायात क्षेत्रको ठूलो सञ्जालको रुपमा रहेको महासङ्घसँगको सहकार्यले भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भ्रमण वर्षको अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा सुदृढीकरण, यातायातका साधन व्यवस्थापन तथा चालकको व्यवहारमा परिवर्तनका लागि लागिपरेको बताए । भ्रमण वर्षको सन्दर्भ पारेर सार्वजनिक सवारीसाधनमा सचेतना अभिवृद्धिका लागि १०० स्वयंसेवक परिचालन गरिने मन्त्री भट्टराईले उल्लेख गरे । स्वयंसेवकले सवारीसाधनका यात्रु तथा चालकलाई नैतिक शिक्षा, सरसफाइलगायतबारे सचेत पार्नेछ । सवारीसाधनमा भ्रमण वर्षसम्बन्धी जानकारीमूलक ‘जिङ्गल’ प्रसारणको व्यवस्था गरिनेछ । प्रारम्भमा एक हजार चालक र सहचालकलाई तालीम दिइनेछ । मन्त्रालय, महासङ्घ र ट्रेड युनियन सङ्गठनको साझेदारितामा आगामी मङ्सिर १ गतेदेखि उपत्यकाका विभिन्न स्थान र उपत्यका बाहिरसमेत विभिन्न चरणमा तालीम सञ्चालन गरिनेछ । मन्त्री भट्टराईले विमानस्थलबाट सञ्चालन हुने सम्पूर्ण यातायातका साधनमा जिपिएस प्रणाली लागू गर्न आवश्यक तयारी भइरहेको जानकारी दिए । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सार्वजनिक यातायातलाई पर्यटकमैत्री बनाउन सेवा सुधार र व्यवहारमा परिर्वतन ल्याउन जरुरी भएको खाँचो औँल्याए । उनले पर्यटक विमानस्थलमा ओर्लेदेखि गन्तव्य सकेर फर्कंदासम्म यातायातसँग जोडिएको विषय भएकाले आतिथ्य सत्कार, शरल भाषा र शालिनता अपनाउन चालक तथा सहचालकले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक व्यवस्थापनलाई पर्यटकमैत्री बनाउन सबै पद्धत्ति अवलम्बन गरिने बताए । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यातायात क्षेत्रको सुधार गरी सेवालाई पर्यटनमैत्री बनाउन लागिपर्ने बताए ।

नेपाल भ्रमण बर्ष २०२० को प्रचारका लागि ‘ट्राभल शो’, विभिन्न देशमा प्रशारण गरिने

काठमाडौँ । भ्रमण बर्ष २०२० को प्रचार–प्रसार गर्ने उद्देश्यले भिजिट नेपाल वर्ष २०२० को सचिवालयले निजी क्षेत्रसँगको सहकार्यमा पल्सर द नेक्ट डेस्टिनेशन’ नामक पाक्षिक टेलिभिजन कार्यक्रम ‘ट्राभल सो’ निर्माण गरी प्रसारणको तयारी गरेको छ । सचिवालयमा विहीबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिइएको हो । कार्यक्रममा बोल्दै सचिवालयका संयोजक सुरज वैद्यले नेपालको प्रचारप्रसारमा सचिवालय अग्रसर रहेको बताए । द होराईजन मल्टिमिडिया प्रालि तथा भिजिट नेपाल वर्ष २०२० सचिवालयलको सहकार्यमा उक्त कार्यक्रम निर्माण गरिएको द होराईजन मल्टिमिडिया प्रालिका अध्यक्ष राधाकृष्ण धितालले जानकारी दिए । उक्त कार्यक्रममा नेपालका विभिन्न २६ वटा पर्यटकीय गन्तव्यलाई समेटिनेछ । पर्यटनको उच्च सम्भावना बोकेका तर प्रचार–प्रसारको अभावले ओझेलमा परेका गन्तव्यलाई उजागर गर्ने कार्यक्रमको लक्ष छ । कार्यक्रममा गन्तव्यको ऐतिहासिक, भाषिक, सांस्कृतिक, धार्मिक पाटासँगै त्यहाँको जीवनशैली, खानपान र कथाहरुलाई समेटिने जनाइएको छ । प्राकृतिक सुन्दरतासँगै समाजका लुकेर रहेका विविध आयामलाई पनि प्रकाश पार्नु कार्यक्रमको ध्येय रहेको कार्यक्रमका निर्देशक धितालले बताए । कार्यक्रम नेपाली भाषा सहित हिन्दी, अंग्रेजी र चिनियाँ भाषामा समेत सव टाइटल गरी विभिन्न माध्यमबाट विभिन्न देशमा समेत प्रचार–प्रसार गरिनेछ । जसले विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने विश्वास लिइएको सचिवालयले जनाएको छ ।

अमेरिकामा नेपाल भ्रमण २०२० शुभारम्भ, अमेरिकी सिनेटरले गरे नेपाल आउने घोषणा

काठमाडौँ । नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेप्लिज एशोसियशन इन साउथइष्ट अमेरिका(नासा)ले औपचारिक रुपमा कार्यक्रम शुरू गरेको छ । अमेरिकाको एटलान्टामा एक बिशेष कार्यक्रमको आयोजना गरी नेपाल सरकारका न्याय तथा कानून मन्त्री भानुभक्त ढकालले कार्यक्रमको सुरुवात गरेका हुन् । उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री ढकालले प्रवासमा रहेर पनि नेपालीहरुले नेपाल सरकारको कार्यक्रमलाई सफल बनाउन लागि परेको देख्दा आफु निकै खुशी भएको र सरकारको तर्फबाट पूर्ण सहयोग गर्ने बचनबद्धता ब्यक्त गरे । उनले यस्ता कार्यक्रमहरुले सबै नेपालीहरुलाई जोड्न सहयोग पुर्याउने बताए । बिदेशमा जन्मिएका दोस्रो पुस्तालाई नेपाल चिनाउन भ्रमण बर्षले मद्तद्द पुर्याउने ढकालको भनाई थियो । कार्यक्रमको बिशेष अतिथिहरुमा जर्जिया राज्यका डेमोक्रेटिक पार्टीका सिनेटका नेता सिनेटर स्टिभ हेन्सन र सिनेटर शेख रहमान रहेका थिए । सिनेटर रहमानले आफुले नेपाल भ्रमण बर्षलाई सहयोग गर्दै २०२० मा नेपाल जाने बताउँदै नासाले संचानल गर्ने कार्यक्रमको सफलताको कामना गरे । सो कार्यक्रममा बोल्दै सिनेटर स्टिभ हेन्सनले आफु नेपालीहरुको बीचमा आएर बोल्न पाउदा खुशी ब्यक्त गरे । उनले एट्लाण्टामा नेपाल दिबस मनाउन आफुले सिनेटमा प्रस्ताब लाने बताए । नासाका अध्यक्ष विनय अर्यालको सभापतित्वमा भएको कार्यक्रममा नेप्लिज एसोसिएसन जर्जियाका अध्यक्ष कुमार केसीले सबैलाई स्वागत गर्दै भ्रमण बर्षलाई सहयोग गर्न अनुरोध गरेका थिए भने नासाका बरिष्ठ उपाध्यक्ष अम्बिका लोहनीले धन्यवाद दिएकी थिइन् । कार्यक्रममा नासाका पूर्व अध्यक्षहरू रामचन्द्र बराल र संजिव सापकोटा लगायतले शुभकामना सन्देश दिएका थिए । १९९१ मा एटलान्टाबाट नै शुरु भएको नासाको आफ्नो कार्यकालको सुरुवाति बैठक पनि एटलान्टाबाट नै शुरु गरेको बताउदै अध्यक्ष अर्यालले भ्रमण बर्षको कार्यक्रम पनि यहीबाट शुरु गरेको बताए । कार्यक्रम संयोजक पर्यटनदुत तथा नासाका पूर्व अध्यक्ष राजा घलेले एक बर्षभरि नासाले स्थानीय नेपाली सस्थाहरुसंग मिलेर बिबिध कार्यक्रम संचालन गर्ने बताए । स्थानीय बालबालिकाहरुले सांगीतिक प्रस्तुत गरेर कार्यक्रमलाई रोचक बनाएका थिए । यसैगरी भ्रमण बर्षमा संचालन गरिने बिबिध कार्यक्रम मध्ये ४ वटा कार्यक्रम सोही दिन सुरुवात गरिएको छ । बिशेष गरी भ्रमण बर्षको सन्देश जाने गरी अमेरिका मै हुलाक टिकट प्रकाशन गर्ने लक्ष्य राखिएको र एटलान्टा शहरको यातायात बिभागसंग समन्वय गरी चारवटा गाडी रोक्ने स्थल (बस चढ्ने र उत्रने सार्वजनिक स्थल) मा भ्रमण बर्षको तुलहरु राखिएको छ । सार्वजनिक स्थलमा प्रचार प्रसार सामग्री प्रदर्शन, नेपाली ब्यबसायीहरुलाई प्रचार सामाग्री हस्तान्तरण, सामाजिक संजाल (फेसबुक)मा भ्रमण बर्षको लोगो (प्रतीक चिन्ह)लाई प्रोफाइल ( परिचय)को रुपमा प्रयोग गरी र ईमेल हस्ताक्षरको रुपमा भ्रमण बर्षको सन्देश प्रयोग गर्न शुरु गरिएको छ । यसरी नै अमेरिकाका विभिन्न राज्यका शहरहरुमा प्रचार प्रसार सामग्री तथा तुलहरु राख्न सके भ्रमण बर्षको सन्देश अमेरिका भरि नै सहज तरिकाले पुग्ने नासाका अध्यक्ष अर्यालले बताए । अमेरिकामा भएका नेपालीका सबै खाले व्यवसायमा भ्रमण बर्षका प्रचार सामाग्रीहरु प्रदर्शन गर्ने कार्यक्रम अनुसार सिएनएनको मुख्यालयमा व्यवसाय रहेका संचालक रामजी पराजुलीलाई प्रचार सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।