चराङ विमानस्थलको डिपिआर बनाउन सरकारी प्राविधिक टोलीद्वारा सर्वेक्षण

ठिनी मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा प्रस्तावित विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्न सर्वेक्षण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्राविधिक टोली पठाएर विमानस्थलको डिपिआर तयार पार्न सर्वेक्षण गरेको हो । परामर्शदाता कम्पनी आइएफआईडी नेपालका इञ्जिनियर नरेश शिवाकोटीको नेतृत्वमा आएको प्राविधिकको टोलीले तीन दिनसम्म प्रस्तावित विमानस्थलको सर्वेक्षण गरेको छ । समुद्री सतहदेखि तीन हजार ५०० मिटरको उचाइमा अवस्थित सिकलिङ थाङ्का र ढुथाङको फाँटमा सर्वेक्षण गरिएको गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिएका छन् । प्रस्तावित ठाउँको भौगोलिक अवस्थिति, सम्भाव्यता, क्षेत्रफल र प्राविधिक विषयमा सर्वेक्षण गरिएको हो । “यसअघि गत वर्ष पर्यटन मन्त्रालयको टोलीले प्रारम्भिक सर्वेक्षण गरेको थियो”, गाउँपालिकाका अध्यक्ष विष्टले भने “यसपालि डिपिआर बनाउने हिसाबले मन्त्रालयले अध्ययनका लागि प्राविधिक पठाएको हो ।” दुई किलोमिटरभन्दा लामो दूरीको समथर फाँट भएकाले विमानस्थलको धावन मार्गका लागि उपयुक्त हुने बताइएको छ । प्रतिवेदन तयार पार्न तीन महिनाभन्दा बढी समय लाग्ने टोलीले जनाएको छ । यही कात्तिक ११ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसहितको टोलीले चराङको निरीक्षण गरेको थियो । मन्त्रीले निरीक्षण गरेर गएको दुई हप्तामै डिपिआर बनाउन प्राविधिक टोली खटिएको हो । उपल्लो मुस्ताङका बासिन्दा तथा छोटो अवधिका लागि भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरेर चराङमा विमानस्थल बनाउन चुनावमा गरेको गरेको प्रतिबद्धताअनुसार पहल गरेको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए । “अनुकूल भूगोल र पर्याप्त जग्गा भएका आधारमा चराङमा विमानस्थल निर्माण गर्न सकिन्छ”, सांसद तुलाचनले भने“दामोदर कुण्डमा भक्तजन, उपल्लो मुस्ताङमा पर्यटक भित्र्याउन तथा जनजीवनलाई सहज बनाउन विमानस्थलले सहयोग पुर्याउने छ ।” जोमसोम हुँदै सडक मार्ग भएर उपल्लो मुस्ताङ भ्रमणमा जान धेरै समय लाग्ने र यातायातको सहज सुविधा नभएकाले पर्यटकहरुलाई समस्या भएको छ । कलात्मक पहाड, उजाड मरुभूमि जस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुफा, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङको पर्यटकीय आकर्षण हो । उपल्लो मुस्ताङको समृद्धि र विकासका लागि हवाई सेवा आवश्यक भएको गण्डकी प्रदेशका प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको भनाइ छ । सरकारले पर्यटन विकासका लागि विमानस्थल निर्माण र उत्तरी कोरला नाका खोल्न सडक विस्तार गरिरहेको बताएका छन् । रासस

आधा दर्जन विदेशी एयरलाइन्सले नेपालमा उडान भर्ने

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा नेपालमा आधा दर्जन विदेशी वायु सेवा प्रदायक कम्पनीले उडान भर्ने तयारी गरेका छन् । नेपाल गन्तव्यमा उडान विस्तारका लागि भारतका दुई, कुवेत, फिनल्यान्ड र अष्ट्रेलियाको एक÷एक वायु सेवा प्रदायकले उडान भर्न लागेका हुन् । भारतको स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयरले नेपालमा उडान भर्नका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाइसकेको छ भने कुवेतको जजिरा एयरवेजले पनि नेपाल उडानका लागि स्वीकृति लिएको छ । स्पाइस जेटले काठमाडौँ–नयाँ दिल्ली–मुम्बई र भिस्ताराले काठमाडौँ–नयाँ दिल्ली रुटका लागि दैनिक एक–एक उडान गर्ने अनुमति पाएका छन् । जजिराले मङ्सिर १ गतेदेखि उडान भर्ने कुवेतको जजिरा एयरले अगामी मङ्सिर १ गते (नोभेम्बर १७, सन् २०१९) देखि नेपालमा उडान भर्ने भएको छ । जजिराको उडान तालिका निश्चित भएको नियामक निकाय प्राधिकरणले जनाएको छ । भारतका दुई कम्पनीले डिसेम्बर महिनाको दोस्रो सातादेखि नेपालमा उडान भर्नेछन् । “कुवेतको जजिरा एयरको उडान तालिका बनिसक्यो, भारतका दुई स्पाइस जेट र भिस्ताराको सम्बन्धमा कागजात अध्ययनको क्रममा छ, कागजी प्रक्रिया सकेर भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्लटको तालिका बनाएपछि डिसेम्बरको मध्यतिर उडान शुरु हुन्छ,” प्राधिकरणका एक उच्च अधिकारीले भने । विदेशी वायु सेवा प्रदायक कम्पनीले नेपालबाट उडान गर्नुपर्दा दुई देशीय हवाई सम्झौताबमोजिम शुरुमा पर्यटन मन्त्रालयलाई निवेदन दिनुपर्ने हुन्छ, मन्त्रालयको स्वीकृतिपछि मात्र मन्त्रालय मातहतको नियामक निकाय प्राधिकरणले उडान अनुमति दिने प्रावधान छ । विदेशी एयरलाइन्सले नेपालमा उडान विस्तार गरेसँगै भ्रमण वर्षको अवधिमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास लिइएको छ । सरकारले भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१९ मा १२ लाख हाराहारी बाह्य पर्यटक नेपाल भ्रमणमा आएका थिए । अध्यागमन विभागको पछिल्लो तथ्याङ्कअनुसार सन् २०१९ को १० महिनाको अवधिमा १० लाख पर्यटक नेपाल भित्रिएका छन् । दिल्ली–काठमाडौँ उडान गर्दै आएको जेट एयरवेजले कम्पनीमा वित्तीय समस्या आएको भन्दै गत वैशाखमा उडान बन्द गरेको थियो । उक्त एयरवेजको उडान बन्द भएपछि काठमाडौँ–दिल्ली रुटको हवाई भाडा महँगिएको थियो । थपिएका नयाँ जहाजको उडानले हवाई भाडासमेत घट्ने अपेक्षा गरिएको छ । काठमाडौँ–नयाँदिल्ली गन्तव्यमा अहिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम र भारतका दुई एयर इन्डिया र इन्डिगो एयरले उडान भर्दै आएका छन् । नेपालबाट अहिले तीन नेपालीसहित २८ वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । तीन एयरलाइन्स थपिएसँगै अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीको सङ्ख्या ३१ पुग्नेछ । फिनल्यान्डसँग हवाई सम्झौताको तयारी सरकारले युरोपेली मुलुक फिनल्यान्डसँग दुई पक्षीय हवाई सम्झौताको तयारी गरेको छ । फिनल्यान्डको सबैभन्दा ठूलो वायु सेवा प्रदायक कम्पनी फिनिस एयरले नेपालमा सिधा हवाई सेवा विस्तार गर्ने तयारी गरेको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । “फिनल्यान्ड आफैँले नेपालसँग हवाई सम्पर्क विस्तार गर्ने चासो देखाएअनुरुप ऊसँग हवाई सम्झौताको तयारी भइरहेको छ । दुवै मुलुकको आन्तरिक परामर्श र सम्झौताका लागि आवश्यक प्रक्रिया लगभग सकिएको छ, अब मात्रै सम्झौताको मिति र स्थानको टुङ्गो लाग्न बाँकी छ,” उनले भने । फिनल्यान्डको राष्ट्रिय ध्वजावाहक फिनिस एयरले नेपालमा सिधा हवाई उडान गर्ने इच्छा व्यक्त गरेको मन्त्रालयले जनाएको छ । काठमाडौँ– फिनल्यान्ड करिब साढे १० घण्टाको हवाई यात्रा तय गर्नुपर्ने हुन्छ । दुई देशबीच हवाई सेवा विस्तार भएमा भ्रमण वर्षको दौरानमा युरोपबाट बढी पर्यटक भित्र्याउन सहयोग पुग्ने सरकारी अधिकारीको विश्वास छ । अहिले नेपाल र युरोपलाई जोड्ने एक मात्र टर्किस एयरलाइन्स रहेको छ । युरोपबाट नेपाल आउने पर्यटक तथा नेपालीले टर्की या खाडी मुलुकका विमानस्थलसम्म ‘ट्रान्जिट फ्लाइट’ गरेर मात्र नेपाल आउनुपर्ने बाध्यता छ । फिनिस एयरले अहिले भारतको नयाँ दिल्लीसम्म सिधा उडान गर्छ । यस्तै रुससँग पनि पुरानो हवाई सम्झौताको पुनरावलोकनको तयारी गरिएको पर्यटन मन्त्रालयले जनाएको छ । रुससँग सन् १९८९ मा नेपालले हवाई सम्झौता गरेको थियो । त्यसयता सम्झौताको पुनरावलोकन भएको छैन । सम्झौतापछि रुसले नेपाल उडान शुरु गरे पनि बीचमा रोकिएको थियो । नेपालका लागि आकर्षक मानिएको अष्ट्रेलियासँग पनि हवाई सम्पर्क विस्तारका लागि पहल थालिएको मन्त्रालयले जनाएको छ । अष्ट्रेलियन एयरलाइन्सले नेपाल उडान गर्ने अपेक्षा गरिएको छ । नेपालले गत असोज १४ (अक्टोबर १ सन् २०१९) मा अस्ट्रेलियासँग प्रारम्भिक हवाई सम्झौता गरेको थियो । पछिल्लो पटक चीन, थाइल्यान्ड र जापानसँग हवाई सम्झौता पुनरावलोकन भइसकेको छ । सरकारले २०७५ साल मङ्सिर १४ गते कम्बोडियासँग हवाई सम्झौता गरेको थियो । नेपालसँग हवाई सम्झौता गरेको देशमध्ये कम्बोडिया ३९औँ देश हो । सम्झौतामा कम्बोडिया र नेपालका वायु सेवा कम्पनीले हप्तामा १४–१४ पटक सिधा उडान भर्नसक्ने उल्लेख छ । रासस

चीनको राजधानी बेइजिङमा हिमालय एयरको ७० प्रतिशत अकुपेन्सी

काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायु सेवा प्रदायक हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ गन्तब्यमा आशातित व्यापार भइरहेको जनाएको छ । बेइजिङ उडानमा अहिले ७० प्रतिशतसम्म अकुपेन्सी रहेकामा चीनतर्फबाट अकुपेन्सी राम्रो रहे पनि नेपालबाट चीन जाने यात्रुको सङ्ख्या भने अपेक्षितरुपमा बढ्न नसकेको एयरलाइन्सको भनाइ थियो । बेइजिङ गन्तब्यको बजारमा हिस्सा बढाउन कम्पनीले बजारीकरणलाई प्रभावकारी बनाउने कम्पनीका सेवा सुधार शाखा प्रमुख उज्जवला दलीले बताइन् । उनले भने, “बेइजिङ उडानमा अहिले ६० र ७० प्रतिशत अकुपेन्सी छ । उता (चीनतर्फ)बाट यात्रुको आगमन राम्रै छ । नेपालबाट चीन जाने यात्रुको सङ्ख्या कम छ, अकुपेन्सी बढाउन बजारीकरणको कामलाई प्राथमिकता दिन्छौँ ।” नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालयले गत कात्तिक १० देखि बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा व्यावसायिक उडान शुरु गरेको थियो । नेपाल भ्रमण वर्ष २०२० अभियानको सँघारमा काठमाडौँ र बेइजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएसँगै चीनबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्रने अपेक्षा गरिएको छ । भ्रमण वर्ष अवधिमा चीनबाट पाँच लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । सन् २०१८ मा एक लाख ६० हजार चिनियाँले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को आठ महिनाको अवधिमा अघिल्लो वर्षको सोही अवधिमा १० प्रतिशतले चिनियाँ पर्यटक बढेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । चीनबाट वार्षिक १५ करोड विश्व भ्रमणमा जाने गरेको विभिन्न तथ्याङ्कले देखाउँछ । त्यसको केही हिस्सा मात्रै नेपाल भित्र्याउनसके नेपालको पर्यटनले सकारात्मक फड्को मार्ने सरकारी अधिकारी बताउँछन् । हिमालय एयरलाइन्सले १५८ सिट क्षमताको एयर बस ३२० जहाजबाट काठमाडौँ–बेजिङ उडान गरिरहेको छ । हिमालयले सातामा तीन दिन आइतबार, मङ्गलबार र शुक्रबार उडान गर्ने तालिका छ । यो मार्गमा एकतर्फी न्यूनतम भाडा दर रु २४ हजार पर्ने जनाइएको छ । काठमाडौँ बेइजिङ मार्गमा एकतर्फी उडान समय ५ः३० घण्टा हाराहारीको हुन्छ । हिमालयले हाल बङ्गलादेशको ढाका, युएइको अबुधाबी, दुबई, साउदी अरबको दमाम र कतारको दोहामा सिधा उडान गर्दै आएको छ । बेइजिङसँगको सिधा उडान नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा सावित हुने कम्पनीले उल्लेख गरेको छ । रासस