भ्रमण वर्षलाई महाअभियानका रुपमा सञ्चालन गर्न राष्ट्रपतिकाे आग्रह
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षलाई महाअभियानका रुपमा सञ्गचालन गर्न आग्रह गरेकी छन् । बुधबार काठमाडौंको दशरथ रंगशालामा आयोजित भ्रमण वर्ष उद्घाटन समारोहमा बोल्दै उनले भ्रमण वर्ष राष्ट्रिय अभियानको रूपमा सञ्चालन गर्न बताएकी हुन् । उनले पर्यटनलाई आर्थिक समृद्धिको रूपमा अंगिकार गर्न आग्रह गरेकी छन्। भ्रमण वर्ष सफल पार्नका लागि सबै नेपाली एकजुट हुनुपर्ने राष्ट्रपतिको आग्रह थियो। संसारकै उत्कृष्ट गन्तव्यस्थल सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवन, अन्नपूर्ण लगायतका क्षेत्रमा भ्रमण गर्न उनको आग्रह थियो। उनले पर्यटन क्षेत्रको विकासका लागि योजनाबद्ध कार्यक्रम ल्याउन नसके सम्भव नहुने धारणा राखेकी थिइन्। सांस्कृतिक तथा प्राकृतिक हिसाबले विविकधीकरण भएकाले सबैखालका पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ थियो। राष्ट्रपति भण्डारीले प्रकृतिलाई बिगारेर नभई सिंगारेर पर्यटकलाई आकर्षित गर्नुपर्ने धारणा राखिन्। पर्यटन वर्षको अभियानले विश्वमा मानवता भातृत्व तथा शान्तिप्रतिको प्रतिबद्धता उजागर गर्ने उद्देश्य राखेको समेत उनले बताइन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले समृद्ध नेपाल सुखी नेपालीको आधार नै भ्रमण वर्ष रहेको बताए। उनले नेपाल संसारकै एक अद्वितीय प्राकृतिक सम्पदायुक्त मुलुक भएकाले भ्रमण गर्न आउन विश्व समुदायलाई आग्रह गरेका थिए। सांस्कृतिक सुन्दरता, धार्मिक केन्द्रको लागि नेपाल आउने सबै सिजनमा नेपाल भ्रमण गर्न सकिने छु, मन्त्री भट्टराईले भने। विश्वका सबैभन्दा बढी उचाई भएका हिमाल नेपालमा रहेको गौतमबुद्धको जन्मस्थल, विभिन्न धार्मिक मठमन्दिर, विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा हेर्न पनि नेपाल आउनुपर्ने बताए। सन् १९५१ देखि विदेशी पर्यटकका लागि नेपाल भ्रमण गर्न खुल्ला गरिएको जानकारी दिँदै मन्त्री भट्टराईले पछिल्लो समय पर्यटन क्षेत्र नै नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार बनेको बताए। सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अबको १० वर्षलाई पर्यटन दशकको अभियानको रूपमा अगाडि बढाउने आधार वर्षको रूपमा वर्ष २०२० लाई लिइएको छ।
नेपाल भ्रमण वर्षको उद्घाटन समारोह यस्तो देखियो (फोटोफिचर)
काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने गरी उद्घाटन गरेको छ । काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीसहित देशका विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो । समारोहमा नेपालको कला संस्कृति झल्कने विभिन्न झाँकीहरु पनि प्रस्तुत गरिएको थियो । उद्घाटन समारोहमा देखिएका केही दृश्यहरु यस्ता छन् ।
बिहान घामको पहिलाे झुल्कोसँगै नगरकोटमा भ्रमण वर्षको भव्य स्वागत
भक्तपुर । आज सन् २०२० जनवरी १ बिहान ५ बजेदेखि नै नगरकोटको बतासे डाँडामा आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्यो । अध्याँरो मै बत्तीको उज्यालोमा नेपाल भ्रमण वर्षको भव्य स्वागत शुरु भयो । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ शुरु भएको नेपाल भ्रमण वर्षलाई सफल पार्न जिल्ला समन्वय समिति भक्तपुर र नगरकोट नाल्दुम पर्यटन विकास समितिको आयोजनामा भएको भ्रमण वर्षको उद्घाटन कार्यक्रममा झिसमिसेमै नगरकोटको बतासे डाँडा भरिएको थियो । कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहदुर विश्वकर्मा, प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत, प्रदेश नं ३ का प्रदेशसभा सदस्य सरस्वती बाटी, प्रतिमा श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख विना बास्तोला, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, काभ्रेको मण्डन देउपुर नगरपालिकाका प्रमुख टोपबहादुर वाइबा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलगायत नेपाली सेनाको टुकडी र विभिन्न निकायबाट आएका व्यक्तिले भ्रमण वर्षको भव्य स्वागत गरेका थिए । सो अवसरमा मन्त्री विश्वकर्माले नेपालको झण्डा झण्डोत्तोलन गर्दै सरकारले शुरु गरेको नेपाल भ्रमण वर्षको पहिलो स्वागत नगरकोटबाट गर्न पाउँदा खुशी लागेको बताए । उनले आज नगरकोटको पहिलो घामको झुल्कोसँगै भ्रमण वर्षको स्वागत र शुरु गरेको बताउँदै यो भ्रमण वर्षलाई भव्य रुपमा सफल पार्नुपर्ने बताए । मन्त्री विश्वकर्माले भने, “सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० आजदेखि शुरु भएको छ, हामी नगरकोटबाट स्वागत गरिरहेका छौं, देशभर भव्य प्रचारप्रसार गर्दै विदेशी अतिथिलाई स्वागत गर्न आतुर छौँ, पर्यटन व्यवसायीले पर्यटकका लागि आकर्षक प्याकेज ल्याएर सेवा दिनुपर्छ ।” नयाँनयाँ पर्यटकको गन्तव्य पहिचान गर्दै त्यसको विकास गरी पर्यटकलाई नेपालको सुन्दरता देखाउन सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उनले बताए । पूर्वउद्योगमन्त्री महेश बस्नेतले भक्तपुर अथाह पर्यटकीय सम्भावना बोकेको जिल्ला भएको बताउँदै नगरकोट, चाँगुनारायण, मूलाकोटगढी, सूर्यविनायक, रानीकोट, घ्याम्पेडाँडा लगायतका क्षेत्र पर्यटकका लागि आकर्षणको क्षेत्र भएको उल्लेख गरे । उनले भक्तपुरको भ्रमणमा आउने पर्यटकलाई चारवटै नगरपालिकाको पर्यटकीय क्षेत्रको भ्रमण गराउने गरी रुट तयार पारेर प्योकजमा पर्यटकको बसाई लम्ब्याउने कार्यक्रम अगाडि सार्नु आवश्यक रहेको जानकारी दिए । सरकारको अभियान भ्रमण वर्षलाई नगरकोटबाट स्वागत गरेको बताउँदै पर्यटक भक्तपुर आएपछि सबै नगरपालिकाको पर्यटकीय क्षेत्रको भ्रमण गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । कार्यक्रमा चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले नगरकोटमा आउने पर्यटकका लागि नगरपालिकाले गर्नुपर्ने आवश्यक सबै तयारी गरेको बताउँदै व्यवसायीले पनि विशेष प्याकेज अघि सारेको बताउँछन् । नयाँ वर्षसँगै भ्रमण वर्षको अवसरमा भएको कार्यक्रममा हिमाली दृश्यावलोकन गर्ने र सूर्योदय हेर्नेको भीड थियो भने कार्यक्रममा नेपाली सेनाले विगुल फुक्नुका साथै हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो । त्यसैगरी विभिन्न साँस्कृतिक कार्यक्रम गर्नुका साथै झण्डोत्तोलनसमेत गरिएको थियो । रासस