नाट्टाकाे काेषाध्यक्षमा थपलियाकाे उम्मेदवारी घाेषणा
काठमाडाैं । नेपाल एसोसीएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) काे चुनावका लागि कुमारमणि थपलियाले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । प्रिसियस ट्राभल्स एण्ड टुरका संचालक थपलियाले अच्युत गुरागाईको समूहबाट कोषाध्यक्षमा उम्मेदवारी दिएका हुन् । एक दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रमा काम गरिसकेका उनी एक सफल पर्यटन व्यवसायीसमेत हुन् । कोषाध्यक्षका प्रत्यासी थपलिया वाणिज्यमा स्नातकोत्तर हुन् । पर्यटन विकासका लागि पर्यटन व्यवसायीलाई एकसाथ लिएर अगाढि बढ्ने उनको भनाइ छ । देशका जीवित सम्पदाका रुपमा रहेका चाडपर्वहरुलाई आधुनिक पर्यटनसँग जोडेर पर्यटनलाई नयाँ आयाम दिने उनले बताए । युवा जोश र जाँगरले नेपालको पर्यटन विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउन सक्नेमा आम ट्राभल तथा टुर अपरेटरहरु ढुक्क हुने उनको भनाइ छ । नेपाल गौरीशंकर लायन्स क्लबका पुर्व अध्यक्ष समेत रहेका उनी नेपाल परिवार नियोजन संघको पनि आजीवन सदस्य हुन् । नाट्टाकाे चुनाव माघ ३ गते हुँदैछ ।
लम्बियो हिउँले विदेशी पर्यटकको बसाइ
काठमाडौं । उच्च पहाडी क्षेत्रमा हिउँ परेर डाँडाहरु सेताम्मे बनेसँगै विदेशी पर्यटकको बसाइ लम्बिएको छ । नेपाल भ्रमण वर्षको शुरुवातदेखि नै परेको हिउँ अझै पनि बिलिएको छैन । हिउँ हेर्न र खेल्नकै लागि जिल्लाको तल्लो भेग र सदरमुकामलगायतका पर्यटक उच्च पहाडी क्षेत्र गएर मनोरञ्जन लिइरहेका छन् । इलामको पर्यटकीयस्थल सन्दकपुर क्षेत्र र पाँचथरको पर्यटकीयस्थल साधुटार, पौवा भञ्ज्याङ लगायतका स्थानमा हिउँ खेल्न पर्यटकको भीड लागेको छ । गत सातादेखि नै परेको हिउँ अझै पनि बिलाएको छैन । लामो समयसम्म हिउँ डाँडामा रहँदा चिसो त बढेको छ नै तर पर्यटकहरुलाई घुमफिरमा अझ हौसला बढाएको छ । हिउँ परेसँगै यतिबेला पहाडी क्षेत्रमा सडक तथा खुला क्षेत्रल तथा डाँडापाखामा सेताम्मे हिउँ जम्मा भएको छ । पाँचथरको पौवाभञ्ज्याङ आसपासका घरका छाना, रूख, बिरुवा, भिरालो जमीन, खोँच, सडक सबै हिउँले सेताम्मे बनेको छ । बढ्दो चिसोसँगै स्थानीयवासीको जनजीवन केही कष्टकर बने पनि त्यस क्षेत्रमा पुगेका पर्यटक भने हिउँसँग खुब रमाएका छन् । कोही हिउँ मानव बनाएर उसैसँग सेल्फी लिइरहेका भेटिन्छन् भने कोही हिउँको डल्लो एकअर्कालाई हिर्काउँदै रमाउँदै गरेका भेटिन्छन् । कोही हिउँ आकाशतिर फाल्दै हिउँ वर्षाको अनुभव सँगालिरहेका छन् । हिउँ नदेखेकाहरुका लागि त नयाँ नै हुने भयो तर बाक्लो हिउँमा कारण खेल्ने र रमाउनेहरुलाई पनि नयाँ अनुभूति मिलेको छ । घुम्न आएका पर्यटक बिहानदेखि हिउँमा खेल्दै, फोटो खिच्दै रमाउने गरेका छन् । पहिलोपटक साधुटार हिउँ खेल्न पुगेका पर्यटक धेरै रमाइलो भएको भन्दै हिउँमा गुडुल्की मारिरहेका छन् । आन्तरिकमात्र हैन सन्दकपुर, साधुटार लगायतका पर्यटकीयस्थलमा हाल उत्तिकै सङ्ख्यामा विदेशी पर्यटकहरुसमेत रमाइरहेका हुन्छन् । हिउँले विदेशी पर्यटकहरुको बसाइ लम्याइदिएका एक विदेशी पर्यटकले बताए । हिउँ परेपछि सडकमा आवतजावत सवारीसाधनमा भने समस्या आएको छ तर हिउँसँग खेल्न र रमाउने पर्यटक भने बढ्दै गएका छन् । हिमपातका कारण इलामको सन्दकपुर, कालपोखरी, जौबारी, तुम्लिङलगायत सीमावर्ती पर्यटकीय बजार सेताम्मे भएका छन् । हिमपातपछि चिसो धेरै बढ्दा यहाँका व्यवसायी र पशुपालक कृषक भने समस्यामा छन् । यस क्षेत्रमा घरबाहिर निस्कने अवस्था नभएकाले धेरैले आगो तापेरै दिन बिताउने गरेका छन् । बाक्लो हिउँ जमेकाले केही दिन सवारीसाधन चल्न कठिन भएको छ । रासस
नाट्टाको अध्यक्षमा उत्रिए तीन प्रतिस्पर्धी, कसले मार्ला बाजी ?
काठमाडाैं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्डस् (नाट्टा)को आसन्न निर्वाचनले सम्बन्धित व्यवसायीबीच माहोल तताएकाे छ । २० लाख पर्यटक नेपाल भित्र्याउने महत्वाकांक्षी योजना सहित शुरू भएकाे नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन नाट्टाकाे भूमिका पनि महत्वपूर्ण हुन्छ । यसले पनि नाट्टाको नेतृत्व कसले पाउँछ भन्ने विषयले पर्यटन क्षेत्रमा महत्व पाएकाे छ । नाट्टाको अध्यक्ष पदमा तीन जनाबीच प्रतिस्प्रर्धा हुँदैछ भने उनीहरूले अलग अलग टिम बनाउने काम गरिरहेका छन् । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाई र पूर्व महासचिव भिम प्रसाद पन्त नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरिसकेका छन् भने पूर्व महासचिव तथा पर्यटन व्यवसायी मिहिका शाह धाख्वा नेतृत्वमा तेस्राे समूह बन्ने बताइएकाे छ । मिहिका शाहकाे टाेलीले आइतबार उम्मेदवारी घोषणा गर्ने तयारी गरेकाे छ । नाट्टामा वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव र सदस्य भएइसकेका अच्युत गुरागाँइ हाल अध्यक्षका उम्मेदवार बनेका छन् । गुरागाइँकाे समूहमा हेमराज बास्तोला वरिष्ठ उपाध्यक्ष, यज्ञमुर्ति आचार्य उपाध्यक्ष, महासचिवमा राकेश धमाला, सचिवमा गोविन्द दाहाल, कोषाध्यक्षमा कुमार मणि थपलिया र सह कोषाध्यक्षमा पासाङ दावा शेर्पा रहेका छन् । त्यस्तै, नाट्टाको पूर्व महासचिव शाहकाे समूहमा वरिष्ठ उपाध्यक्ष नारायण गुरुङ उपाध्यक्ष रमेश थापा, महासचिव कमला गुरुङ, सचिवमा अमृत ढकाल, कोषाध्यक्षमा देवकी गुरुङ,सहकोषाध्यक्षमा फुडोमा शेर्पा रहेका छन् । पन्तको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा बिनय बस्नेत, उपाध्यक्षमा वरुण मेहता र महासचिवमा सुधीरकुमार उपाध्याय पौडेल उम्मेदवार बनेका छन् । उनकाे समूहमा सचिवमा जिस्वान तुलाधर श्रेष्ठ, कोषध्यक्षमा हरिभक्त श्रेष्ठ र सहकोषाध्यक्षमा युविका भण्डारी उम्मेदवार दिएका छन् । पन्तले यसअघि नाटामा महासचिवको भूमिका निर्वाह गरिसकेका छन । माघ ३ गते हुने निर्वाचनमा सबै समूहहरू अहिले चुनावकाे प्रचार प्रसारमा जुटिसकेका छन् । अध्यक्षका प्रत्याशीत तीन उम्मेदवारसँग हामीले तपाईको अध्यक्षको उम्मेदवारी किन र अध्यक्ष हुने तपाईका एजेण्डाहरु के-के छन् भनेर सोधेका छौं । अच्युत गुरागाई, अध्यक्षका प्रत्यासी मेरो नेतृत्वको समूहले नाट्टाका सदस्यहरुको हकमा काम गर्छ । सदस्य कम्पनीहरुलाई प्रविधीमैत्री बनाउन सोसियल मिडिया, डिजिटल मार्केटिङ लगायतका समयानुकुल तालिमहरु संचालन गर्नेछ । सदस्य कम्पनीहरुको सहज पहुँचका लागि नाट्टा सचिवालयलाई थप व्यवस्थित, प्रभावकारी र प्रविधीमैत्री बनाउने हाम्राे प्रतिवद्धता हाे । होटल तथा एयरलाइन्सहरुले एजेन्टहरुलाई भन्दा कन्जुमरहरुलाई सस्तो रेट उपलब्ध गराइरहेको वर्तमान अवस्थामा एजेन्टहरुलाई प्रतिस्पर्धात्मक रेट उपलब्ध गराउने होटल तथा एयरलाइन्सहरुको नामलाई फेवरेट होटल र एयरलाइन्सको रुपमा नाटा वेबसाइट, नाटा न्यूज लेटरलगायत विभिन्न माध्यमबाट प्रवर्धन गरिनेछ । नाट्टा सदस्यहरुलाई कुनै आपतकालीन स्थिति आइपर्दा सहयोग पुर्याउने हेतुले राहत कोष खडा गराउने छु । गैरकानुनी टुर अपरेटरलाईलाई निरुत्साहित गर्दै नो टुर विद आउट गाइड एण्ड अपरेटरको अवधारणालाई कार्यान्यवन गराउन प्रयत्न गरिनेछ । काठमाडौं तथा अन्य मुख्य पर्यटकीय नगरीहरुमा टुरिष्ट बस टर्मिनल र पार्किङ व्यवस्थापनका लागि प्रभावकारी पहल गर्न कुनै कसर बाँकी राखिने छैन । पर्यटन व्यवसायको प्रवर्द्धनका लागि बैंक तथा वित्तिय संस्थाहरुबाट कृषि क्षेत्रलाई जस्तै गरी सहुलियतपुर्ण व्याजसहित ऋण उपलब्ध गराउने नीतिगत व्यवस्था हुनका लागि पहल गर्नेछु । नेपाल भ्रमण वर्ष २०२० को सफलताका लागि सदस्य व्यवसायीहरुको सक्रिय संलग्नतामा बर्षभरी देशभित्र र बाहिर प्रबर्द्धनात्मक कार्यक्रमहरु आयोजना गर्नेछु । नेपाललाई आकर्षक गन्तव्यको रुपमा प्रचारप्रसार गर्न अन्तर्राष्ट्रिय रुपमा विशेष प्रवर्द्दनात्मक कार्यक्रमहरु संचालन गरेर युरोप, अस्ट्रेलिया, अमेरिका र एसियाका ठुला टर अपरेटरहरुलाई नेपालमा फामट्रिप गराउने छु । पर्यटकीय सुविधाका लागि प्रमुख सम्पदा, गन्तव्यस्थल र राष्टिय राजमार्गहरूमा सार्वजनिक शौचालय निर्माण गर्न भूमिका खेल्नेछु । आगामी दुई वर्षभित्र प्रदेश नम्बर २ र ६ प्रादेशिक संघ विस्तार गर्न पहल गर्नेछु । मिहिका शाह धाख्वा, अध्यक्षका प्रत्यासी परिवर्तनका निम्ति एकता भन्ने नाराका साथ हामी चुनावमा आएका छौं । एक सक्षम र अनुभवी टिम बनाएर हामी चुनावमा उत्रिएका छौं । नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने हाम्रो प्रमुख ऐजेण्डा हो । हामी अन्तर्राष्ट्रिय बजारमा नेपाली पर्यटनको प्रचार प्रसार गरेपनि हामीले त्यसको नतिजा पाइरहेका छैनौं । यसलाई पनि हामी नतिजामुखि बनाउनो छौं । हाम्रो पर्यटकलाई दिने सुविधाहरु बढाउने छौं । राजमार्गहरुमा सुविधा सम्पन्न भौतिक पूर्वाधारहरु निर्माण गर्न विशेष पहल गर्नेछौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जनशक्तिहरु परिचालन सहयोग गर्नेछौं । टुरिष्ट बसहरु सञ्चालन गर्न भूमिका खेल्नेछौं । भिमप्रसाद पन्त, अध्यक्षका प्रत्यासी म अन्तरर्राष्ट्रिय बजार प्रबर्द्धनमा क्षेत्रीय बजार भारत, चीन, दक्षिण कोरिया, भियतनाम, श्रीलंका, बंगलादेश र मलेसिया लगायतका विभिन्न देशहरूमा पर्यटकहरूको रूचि पहिचान गरि विशेष प्रबर्द्धनात्मक अभियानको संचालनका लागि नेपाल पर्यटन बोर्ड र नेपाल सरकारसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरू संचालन गर्नेछु । साथै, विश्वका अन्य विभिन्न मुलुकहरूमा नेपालको पहिचान हुने गरी पर्यटन क्षेत्रको प्रबर्द्धन गर्नेछु । सीमा क्षेत्रमा पर्यटक आगमनमा रहेका समस्याहरू समाधान गर्नुका साथै पर्यटकहरूको सहज आवागमनको लागि सम्बन्धित निकायसँग समन्वय गरी कार्य गर्ने पहल गर्नेछु । विदेशी टूर अपरेटरहरूले नेपाल भ्रमण गराउँदा हुने गरेका भ्रामक तथा आपत्तिजनक क्रियाकलापलाई यथाशीघ्र रोक्न पहल गर्ने मेरो दायित्व रहने छ । होटल एशोसिएशनसँग समन्वय गरी स्वदेशी एजेन्सीहरूलाई प्राथमिकताका साथ प्रतिस्पर्धी दर रेट निश्चित गरी लागू गराउ प्रमुख भूमिकामा रहनेछु । यथाशीघ्र काठमाडौं र पोखरामा पर्यटक बसपार्क निमार्ण गर्न जोडदार पहल गरिने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेका सेवा, सुविधा र समस्याहरूको निराकरणका साथै विमानस्थलदेखि उपत्यकाको विभिन्न स्थानमा हवाई यात्रुका लागि मात्रै सार्वजनिक शटल बसका लागि पहल गर्नेछु । साथै, पर्यटन व्यवसायीहरुको षमता वृद्धिका लागि विशेष तालिमका कक्षाहरु सञ्चालन गरी प्रविधिमैन्त्री पर्यटन व्यवसायी बनाउन भूमिका खेल्नेछु ।