सौराहा आउँदै गरेको पर्यटक बस दुर्घटना हुँदा ३३ जना घाइते
चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाईते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडीबाट आउँदै गरेको बा१प ७८३ नं को पर्यटक बस बिहान ११ः१५ बजे ठक्कर दिएको थियो । ट्रकमा ठोक्किएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी पर्यटक बसमा सवार २१ जना चिनियाँसहित ३२ जना र घरमा रहेका एकजना महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पर्यटक सौराहा जान आउँदै गरेको जनाइएको छ ।
लगातारको वर्षाका कारण आन्तरिक उडान प्रभावित
काठमाडाैं । लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ आंशिक रूपमा उडान प्रभावित भएको र अन्तर्राष्ट्रिय उडान सामान्य रहेको जानकारी दिएका छन् । आन्तरिकतर्फ बिहान केही उडान भए पनि अहिले आंशिक रूपमा मात्रै उडान भइरहेको महाप्रबन्धक केसीको भनाइ छ । बिहीबार साँझदेखिको निरन्तर वर्षाले काठमाडौँसहित देशभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खासगरी उच्च हिमाली भेग तथा पहाडी क्षेत्रका उडान बढी प्रभावित भएका छन् । मौसम बदलीसँगै निरन्तरको वर्षाले कम ‘भिजिबिलिटी’ हुँदा आन्तरिक उडानमा समयस्या भएको हो । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातका कारण पनि उडान प्रभावित भएको बताइएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० तथा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित २८ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।
खत्रक्पा र फुलुङगीको धार्मिक, साँस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुन्छ: मन्त्री नेम्बाङ
इलाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले इलामको खत्रक्पा र फुलुङगी क्षेत्रलाई धार्मिक तथा साँस्कृतिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने वताएका छन् । बुधबार किरात माङहिम शिलान्यास तथा किरातीहरुको महान पर्व कक्फेवा तङनाम माघे संक्राती सत्यहाङमा शान्ति मकरमेला समापन समारोहलाई सम्बोधन गदैै उनले यस्तो वताएका हुन् । मन्त्री नेम्बाङले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द र वर्तमान गुरु आत्मनन्दले ज्ञान प्राप्त गरेका खत्रक्पा र फुलुङगी ऐतिहासिक भूमि रहेको वताए । ‘यो ऐतिहासिक भूमि पवित्र छ । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले ज्ञान प्राप्त गर्नुभएको पवित्र भूमि यही हो । वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेईङ’ले ज्ञान प्राप्त गर्नुभएको पवित्र भूमि पनि यही हो,’ मन्त्री नेम्वाङले भने । राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङ्देन र वर्तमान किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङले कठोर तपस्या गरेर प्राप्त गरेका ज्ञान र शक्तिलाई विश्व मानवहितका लागि उपयोग गर्नु पर्ने उनको भनाइ छ । यस क्षेत्रको चौतर्फी विकासका लागि माङसेबुङदेखि फुलुङगी, खत्रक्पा, राँके हुँदै किरातीहरुको धार्मिक तिर्थस्थल फक्तालुङसम्म मोेटरबाटो निर्माणको कामसमेत अघि बढाइएकोे मन्त्री नेम्बाङले जानकारी दिए । कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन ‘सेईङ’ तथा गुरुआमा साँवा पवित्रहाङमा लिङदेन, पूर्व राज्यमन्त्री बेनुप प्रसाईं, प्रतिनिधिसभाका सांसद एलपी साँवा र स्थानीय तह प्रतिनिधिहरुको समेत उपस्थिति थियो । मन्त्री नेम्बाङले बुधबार नै माई खोलामा निर्माणका अन्तिम चरणमा रहेको ५ सय ७५ मिटर लामो पक्की पुलको समेत निरीक्षण गरेका थिए ।