सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई होटल डेल अन्नपूर्णमा विशेष छुट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौंस्थित होटल डेल अन्नपूर्णबीच विभिन्न सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र होटलका प्रमुख कार्यकारी अधिकृत राजु बिक्रम शाहले हस्ताक्षर गरेका हुन् । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने उद्देश्यले सम्झौता गरेको हो । सम्झौता अनुसार बैंैकका ग्राहकहरुले होटल डेल अन्नपुर्णका साथै सो होटल अन्र्तगत जगतपुर लज, चितवन तथा फिशटेल लज, पोखरामा सेञ्चुरी बैंकको क्रेडिट वा डेबिट कार्डबाट महशुल भुक्तान गर्दा बेकरी तथा अन्य खाद्य र बेभरेजमा १५५ सम्मको छुट पाउनेछन् ।

भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ अष्ट्रेलियाको सिड्नीबाट गरिँदै

काठमाडौं ।नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय शुभारम्भ अष्ट्रेलियाको सिड्नीबाट गरिँदै छ । विदेशस्थित नेपाली दूतावास तथा दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत आज भव्य शुभारम्भ गरिने नेपाल भ्रमण वर्ष सचिवालयले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ गर्न अष्ट्रेलियाको सिड्नी पुगिसकेको उनका सचिवालयले जनाएको छ । मन्त्री भट्टराईले भव्य समारोहका बीच सिड्नीमा भ्रमण वर्षको शुभारम्भ गर्नेछन् । राष्ट्रिय रूपमा भ्रमण वर्षको सन् २०२० जनवरी १ (पुस १६ गते) काठमाडौंको दशरथ रङगशालामा भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरेकी थिइन् । सातै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको सोहीदिन शुभारम्भ गरेका थिए । सरकारले भ्रमण वर्ष २०२० अभियानमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्षको देश तथा विदेशमा प्रबर्धनात्मक गतिविधि सञ्चालन भइरहेको छ ।

सीजीका विश्वव्यापी होटलमा नेपालको चन्द्र र सूर्य अंकित झण्डा फहराइयाे, २०० होटल पुर्‍याउने लक्ष्य

काठमाडौं । चौधरी ग्रुपको विदेशी कम्पनी सीजी कर्प ग्लोबलले संयुक्त अरब इमिरेट्स (यूएई) मा खोलेको पाँचतारे होटल ‘ताज जुमिरा लेक टावर्स’ मा नेपाली झण्डा फहराइएको छ।नेपालका एक्ला अर्बपति विनोद चौधरीका गैरआवासीय छोराहरूले हाँकिरहेको सीजी कर्प ग्लोबलले यूएईमा नेपालको राष्ट्रिय झन्डा फहराएको हो। होटल उद्घाटन गर्दा शुरुमा यूएईको झन्डा फहराइयो। भारतीय प्रख्यात ब्रान्ड ताजले आफ्नो देशको गौरवका लागि भारतीय झन्डा फहरायो। त्यसपछि नेपाली झण्डा पनि फहराइएको थियाे । ‘ताज जुमिरा लेक टावर्स’ मा लगानी गरेसँगै सीजी हस्पिटालिटीले मध्यपूर्व, युरोप र अफ्रिकी बजारलाई केन्द्रमा राखेर लगानी अगाडि बढाएको छ। दुबईको ‘ताज जुमिरा लेक टावर्स’ विश्वको एकमात्र त्यस्तो पाँचतारे होटल हो, जसमा नेपालको राष्ट्रिय झन्डा फहराउँछ। सीजी कर्प ग्लोबलले विज्ञप्तिमा भनेको छ, अब सीजी हस्पिटालिटीले विश्वका जुन कुनै मुलुकमा स्थापना गर्ने होटलमा चन्द्र र सूर्य अंकित झन्डा फहराउनेछ। सीजी कर्प ग्लोबल निकट भविष्यमै २०० होटल सञ्चालनको लक्ष्य भेटाउने योजना कार्यान्वयनमा प्रतिबद्ध छ । दुबईबाहेक कजाकस्तानमा स्थापित वाइवाइको प्लान्टमा पनि नेपालको झन्डा फहराइसकेका छन्।नेपाललाई विश्व बजारमा स्थापित गर्ने हाम्रो प्रयासलाई यसले ठूलो आड भरोसा दिन्छ। कुनै पनि समृद्ध मुलुकको आलिशान होटलमा नेपालको झन्डा फहराएको देख्दा नेपालीको मन गर्वले कसरी फुल्छ, मैले त्यो अनुभूत गरेको छु,’ विनोद चौधरीले भने, ‘विश्वभर खुल्ने हाम्रा होटलमा यस्ता दृश्य अब सधैं देखिने छन्।’ यो होटल शताब्दी पुरानो भारतीय पुरातात्विक महत्व र त्यसको विरासतलाई समकालीन विश्वव्यापी सेवा र सुविधासँग जोड्ने सेतु हो, सीजी कर्प ग्लोबलले भनेको छ, सीजी हस्पिटालिटीले यूएईमा विलासी होटल स्थापना मात्रै गरेको छैन, व्यावसायिक मूल्य र मान्यतालाई पनि उत्तिकै मजबुत खम्बाका रूपमा ठड्याएको छ। यो होटलले यस क्षेत्रको ‘बिजनेस लग्जरी’ लाई नयाँ उचाइमा पुर्‍याउने छ ।’ काठमाडौंमा मुख्य कार्यालय रहेको ‘सीजी कर्प ग्लोबल’ ले विश्वका २० मुलुकमा आफ्नो व्यावसायिक उपस्थिति जनाइसकेको छ। पुस्तौंदेखिको साखलाई विश्वभर स्थापित गर्न समूहले आक्रामक बजार विस्तार गरिरहेको छ। चौधरी ग्रुपलाई ‘फोर्ब्स’ ले नेपालको एकमात्र अर्ब डलरको कम्पनी भनेर सूचीकृत गरेको छ। सन् २००१ मा सीजी कर्प ग्लोबलले श्रीलंकाको ताज समुद्र र माल्दिभ्सका अन्य दुई ताज होटलमा लगानी गरेपछि सीजी हस्पिटालिटीको विधिवत यात्रा शुरू गरेको थियो। पिताको व्यावसायिक विरासतलाई कायम राख्दै छोरा राहुल चौधरीले सन् २००६ देखि सीजी कर्प ग्लोबल र सीजी हस्पिटालिटीको जिम्मेवारी सम्हाल्दै आएका छन्। सीजी कर्प ग्लोबलले १३ वर्षको अवधिमा हस्पिटालिटी क्षेत्रको विस्तार ११ मुलुकमा ४३ सय प्रतिशतले बृद्धि गरेको छ। उसले विश्वका ११ मुलुक र ८७ गन्तव्यमा १ सय ३० होटल र रिसोर्ट सञ्चालन गरिरहेको छ। तिनमा ६ हजार ५ सय ७ कोठा छन्। राहुलले यी सबै होटलको व्यवस्थापन हेर्छन्।