तारे होटलको क्यासिनोले टेरेनन् सरकारलाई, २ अर्ब बक्यौता नतिरे जायजेथा लिलामीबाट उठाइने

काठमाडौं । नेपाल सरकारलाई ७ वटा क्यासिनोले पुरानो २ अर्ब रूपैयाँ बक्यौता तिर्न बाँकी छ । काठमाडौंको ६ वटा र पोखराको एउटा क्यासिनोले सरकारलाई बक्यौता तिर्न बाँकी छ । धेरै पटक प्रयास गर्दा पनि क्यासिनोको वक्यौता नउठेपछि सरकारले अब क्यासिनो रहेको होटेललाई क्यासिनोको दायित्वमा समेत जिम्मेवार बनाउन थालेको छ । कुमारीचोक तथा केन्द्रिय तहसिल कार्यालयले बक्यौता तिर्न बाँकी रहेको क्यासिनो सञ्चालित होेटललाई वक्यौता तिर्न ताकेता गरेको छ । क्यासिनो सञ्चालित होटलका व्यक्तिको नाम सार्वजनिक गर्दै ३५ दिन भित्र सरकारी बक्यौता तिर्न ताकेता गरेकाे हो । वक्यौता तिर्न नगए होटलको जायजेथा लिलामी गरेर भएपनि असुल उपर गरिने कुमारीचोकले बताएको छ । कार्यालयका अनुसार होटेल र क्यासिनोले सरकारले १ अर्ब ९५ करोड ६९ लाख ४३ हजार ८ सय ८१ रुपैयाँ वक्यौता तिर्न बाँकी छ । सबैभन्दा धेरै रिक्रियसन प्रालिको वक्यौता छ । कुनको कति छ वक्यौता ? होटल अन्नपूर्णको १६ करोड ८ लाख ३० हजार ४ सय ३७ रुपैयाँ र होटल सोल्टीको ८ करोड ४३ लाख ७१ हजार १ सय ४० रुपैयाँ बक्याैता छ । यस्तै, होटल याक एण्ड यतिको १६ करोड ३३ लाख ५४ हजार ४ सय ५२ रुपैयाँ, रिक्रिएसन सेन्टरकाे ७३ करोड ६० लाख १ हजार ४ सय ६५ रुपैंयाँ, हृयाप्पी आवर प्रालिको ७ करोड ५३ लाख ६८ हजार ४८ रुपैयाँ, दि फुलबारी प्रालिको ३३ करोड ९३ लाख १५ हजार ७ सय १६ रुपैयाँ र नेपाल रिक्रियसन सेन्टर प्रालिको १ करोड ८४ लाख ९ सय ९३ रुपैयाँ क्यासिनो बक्यौता छ । आर्थिक ऐनमा तोकिएको समय भित्र रोयल्टी नबुझाउने क्यासिनोलाई अवधि नाघेको तीन महिनासम्म रोयल्टीको १५ प्रतिशत थप र सो अवधिभित्र पनि रोयल्टी नबुझाए ३० प्रतिशतका दरले वाषिर्क शुल्क जोडिने प्रावधान रहेको छ । यसरी थपिएको रकमसहित गरेर क्यासिनोले सरकारलाई २ अर्बभन्दा धेरै बक्यौता तिर्नु पर्ने हुन्छ । सरकारले क्यासिनो सम्बन्धी मापदण्ड २०७० सालमा ल्याएको थियो । सरकारले क्यासिनो सम्बन्धी लिएको नीतिमा अब क्यासिनोको सरकारी दायित्वको स्वामित्व होटेलले समेत लिनुपर्छ । साे मापदण्ड आउनुअघि यस्ताे दायित्व सम्बन्धित क्यासिनाेकाे मात्रै हुने व्यवस्था थियाे । पर्यटन मन्त्रालयले क्यासिनोको बक्यौताका बारेमा अध्ययन गर्न समिति नै बनाएकाे छ । मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले याे विषयमा होटेल व्यासायीसगँ छलफल भइरहेको जानकारी दिए । यी हुन् सरकारी बक्यौता नतिर्ने क्यासिनो संचालित होटल संचालकहरु -होटल अन्नपूर्णका महाप्रबन्धक तपबहादुर विष्ट – होटल एभरेष्टका संचालक मस्कुर अहमद लारी -होटल सोल्टीका कार्यकारी अध्यक्ष दिनेश बहादुर विष्ट -होटल याक एण्ड यतिका संचालक अध्यक्ष राधेश्याम सराफ -नेपाल रिक्रियसन सेन्टरका प्रबन्ध संचालक राकेश बाधवा -ह्याप्पीआवर प्रालिका संचालक अध्यक्ष सुरेन्द्र बहादुर सिंह -दि फूलबारी लिमिटेडका संचालक अध्यक्ष पियूष बहादुर अमात्य

भारतमा पर्यटक भिसा बन्द

काठमाडौं । कोरोना भाइरस ९कोविड १९० को प्रकोपका कारण भारतले पर्यटक भिसा बन्द गरेको छ। भारतले सबै खालका पर्यटक भिसा अप्रिल १५ सम्मका लागि बन्द गरेको बताएको हो । साथै, भारतले प्रकोप रहेका विश्वका विभिन्न सातवटा देशबाट आएका नागरिकलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्ने बताएको छ।  भारत सरकारले चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट आउने पर्यटकलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राखिने पनि जनाएको छ। ती देशबाट भारत प्रवेश गर्ने नागरिकलाई कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको भारत सरकारले जनाएको छ। कूटनीतिक प्रयोजनका लागि आवश्यक, अन्तरराष्ट्रिय संस्थाहरूका भिसा, रोजगारीसम्बन्धी र आयोजनाका भिसा भने यथावत् रहने बताइएको छ।

कोरोना सन्त्रासका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प, सङ्कटमा होटल व्यवसायी

बनेपा । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएपछि यहाँका होटल व्यवसायी सङ्कटमा परेका छन् । काठमाडौँबाट नजिकैको प्राकृतिक सौन्दर्ययुक्त स्थान काभ्रेपलाञ्चोकको धुलिखेल, बल्थली, नगरकोटलगायत आसपासका होटलमा यतिबेला पर्यटकको चहलपहल स्वाट्टै घटेको छ । पर्यटकहरुको आगमन घटेपछि व्यवसाय घटेको धुलिखेल नगरपालिका–८ स्थित होटल सारथीका प्रबन्धक अनिल गोर्खालीले बताए । उनका अनुसार अनलाइन र ट्राभल एजेन्सी व्यवसायबाट सञ्चालन भइरहेको होटल धेरै सङ्कटमा परेको छ । “कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको कारण सतर्कता अपनाउन सरकारले सचेत गराएसँगै बुकिङ गरेकाले रद्द गरिरहेका छन्”, उनले भने, “लगभग ८० प्रतिशत बुकिङ रद्द भइसकेको छ ।” त्यससँगै सरकारले ठूलाठूला कार्यक्रम, सभा, गोष्ठी र ठूला जमघटका कार्यक्रम नगर्न आग्रह गरेसँगै सरकारी, गैरसरकारी सङ्घसंस्थाबाट आउने कार्यक्रमसमेत रद्द भइरहेको उनले बताए । पर्यटन प्रवद्र्धनका लागि नेपाल भ्रमण वर्ष २०२० चलिरहेकै बेलामा यसरी कोरोनाको सन्त्रास फलिएसँगै होटल व्यवसायमा ठूलो समस्या निम्तेको उनको भनाइ छ । झन पछिल्लो समयमा सरकारले विभिन्न देशका अनअराइभल भिसा बन्द गरेपछि होटल व्यवसाय थप सङ्कटमा परिरहेको उनले बताए । यस्तै अवस्था पछिसम्म रहेको खण्डमा कर्मचारीलाई नै व्यवस्थापन गर्न समस्या आउन नसक्ने उनको भनाइ छ । धुलिखेल नगरपालिका–३ धुलिखेलमा रहेको मिरावेल रिसोर्टका विष्णुगोपाल राजथलाले कोरोना भाइरसको सन्त्रासका कारण होटल पर्यटन व्यवसायमा धेरै असर पारेको बताए । ट्राभल एजेन्सिमार्फत चीन, जापान, जर्मनी, फ्रान्स, इटालीलगायतका देशबाट आउने पाहुना सबैजसो रद्द भइसकेको उनले उल्लेख गरे । “देशभित्रकै विभिन्न सङ्घसंस्थाबाट आउने सेमिनार, दिवा सेमिनारलगायत कार्यक्रमसमेत रद्द भइरहेको छ”, उहाँले भन्नुभयो, “पहिलाको तुलनामा ४५ प्रतिशत घटेको छ ।” अहिले पर्यटकका लागि मुख्य समय फेब्रुअरी, मार्च, अप्रिल र मे महिना धेरै उपयुक्त भएको अवस्थामा नै कोरोनाको सन्त्रासले आगमन ठप्प भएपछि समस्यामा पर्दै आएको व्यवसायी बताउँछन् । क्षेत्रीय होटल एशोसिएन नेपालका उपाध्यक्ष तथा मिरावेल होटलका सञ्चालक भोला थापाले द्वन्द्वको लामो समय दलदलमा परेको होटल व्यवसाय पछिल्लो समयमा केही राम्रो हुँदै आएकामा अहिले फेरि कोरोना भाइरसको सन्त्रासले थप मारमा परेको बताए । “सरकारले नेपाल भ्रमण वर्ष २०२० को अवधारणा ल्याएपछि अब चाहिँ केही होला कि भनेर उत्साहका साथ होटल व्यवसायलाई थप व्यवस्थित गर्दै लगिरहेका अवस्थामा रहेकै बेला यो सन्त्रासले अर्को सङ्कट नित्याएको छ”, थापाले भने, “धेरै लगानी गरेर व्यवसायलाई आगाडि बढाए तर यो सन्त्रासले गर्दा ठूलो मारमा परेको छ ।” सरकारले होटल व्यवसाय गर्नेलाई कम ब्याजदरमा ऋण दिने व्यवस्था गरेअनुसार धेरै होटल खोलेको भए पनि अहिले कोरोनाको उच्च जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले सचेत गराएपछि अब लिएको ऋणको ब्याज कसरी तिर्ने भन्ने चिन्तामा होटल व्यवसायी रहेको उनले बताए । “कर्मचारीलाई तलबसमेत खुवाउन समस्या उब्जिरहेका बेलामा झन् ब्याज कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ”, उनले भने, “यसले अझै लामो समय लिएको खण्डमा होटल व्यवसायीलाई थप समस्या हुनसक्छ त्यसैले सरकारले ऋणको ब्याज तिर्ने अवस्थालाई कम गर्न आवश्यक छ ।” क्षेत्रीय होटल एशोसिएन नेपालका सचिव तथा होटल माउन्ट प्रिन्सेजका सञ्चालक ज्योत्सना सैँजुले ८० देखि ९० प्रतिशत बुकिङ रद्द भइसकेको बताए । कोरोना प्रभावका कारण एकातिर कर्मचारीलाई तबल ख्वाउन समस्या र अर्कोतिर लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले व्यवसायीलाई सताउन थालेको उनको भनाइ छ । उनका अनुसार काभ्रेपलाञ्चोकको धुलिखेलमा मात्रै साना ठूला गरी ७० वटा होटल सञ्चालन भइरहेका छन् । त्यस्तै अर्को पर्यटकीय गन्तव्य नगरकोटमा कोरोना भाइरस सन्त्रासका कारण होटलमा पर्यटकको आगमन घट्दै गएको जनाइएको छ । नगरकोट नालदुम पर्यटन विकास समितिका प्रवक्ता रोहित मोक्तानका अनुसार नगरकोटमा आउने स्वदेशी तथा विदेशी पर्यटकको आगमन स्वाट्टै घटेको छ । “अहिले पछिल्लो समयमा शुक्रबार र शनिबार आन्तरिक पर्यटक आउनेबाहेक विदेशी पर्यटक ठप्प जस्तै भएको छ”, उनले भने, “पहिला नै बुकिङ गरेका जापानी र भारतीय पर्यटकबाहेक अरु ठप्प छन् ।” सन् २०२० का लागि लामो समयदेखि बुकिङमा रहेका होटल अहिले धमाधम रद्द गरिरहेका कारण होटल व्यवसायीले ठूलो समस्या झेलिरहेको होटल व्यवसायी बताउँछन् । सन्त्रासका कारण जिल्लाका सबैजसो पर्यटकीयस्थलमा रहेका होटल, रिसोर्ट तथा रेस्टुराँ सुनसान बन्दै गएका छन् । रासस