बिराटनगर उड्नु पर्ने श्री एयरलाइन्सको बिमानमा समस्या आउँदा यात्रु रोकिए
काठमाडौं । मंगलबार ११ बजे बिराटनगरका लागि उड्नु पर्ने श्रीएयरलाइन्सको बिमानमा समस्या देखा परेको छ । बिहान ११ बजे यात्रु काठमाडौंदेखि बिराटनगरसम्मका लागि उड्न लागेकोे बिमानमा एक्कासी प्राविधिक समस्या आउँदा बिमान रोकिएको हो । एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार बिमानमा केही प्राविधिक समस्या आएको कारणले उडान समयमै गर्न नसकिएको हो । उनले केही समयपछि अर्को बिमानबाट यात्रुहरुलाई बिराटनगर लिने तयारी भइरहेको बताए उनले यात्रुको सुरक्षा र सेवालाई ध्यानमा राखी अर्को बिमानबाट जाने व्यवस्था भइरहको बताए । अबको १०/१५ मिनेटमै अर्को बिमानले यात्रुलाई पिकअप गर्ने उनको भनाइ छ ।
कोरोनाको त्राससँगै कतारवेजले ल्यायो नयाँ रणनीति
काठमाडौं । विश्वभर कोरोना भाइरस ( कोभिड १९)ले त्रास बढेसँगै कतारवेजले आफन ग्राहकहरुका लागि नयाँ रणनीतिहरु ल्याएको छ । नयाँ रणनीतिहरुमा ग्राहकहरुले अब आफुले बुक गरेको टिकट निशुल्क परिवर्तन गर्न सक्नेछन् । डोहा, कतार – कतार एयरवेजले ग्राहकहरूलाई उनीहरूको यात्रा योजना अनुकूल गर्न नयाँ व्यावसायिक नीति सुरू गरेको जनाएको छ । यात्रुहरुले जुन २० सम्मका लागि बुकिङ गरेका उडानहरु परिवर्तन गर्न सक्नेछन् । उनीहले प्रस्थान गर्नुभन्दा तीन दिनसम्म लागु हुने जनाइएको छ । कतार एयरवेज समूहका प्रमुख कार्यकारी अकबर अल बकरले यात्रु र कर्मचारीहरूको सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राखी यो योजना ल्याएको बताएका छन् । कतार एयरक्राफ्ट केटरिंग कम्पनी (क्यूएसीसी) गत वर्ष विश्वको पहिलो संगठन हो । कतारवेजले ट्राभल भाउचर भविष्यको यात्राको लागि पुनः प्रयोग गर्न सकिने जनाइएकाे छ । यो भौचर जारी मितिबाट एक वर्षको लागि मान्य हुनेछ। कतार राज्यको राष्ट्रिय वाहक कतार एयरवेजले २० भन्दा बढी यात्रा गर्ने ठाउँहरू सँगसँगै आफ्ना १६० भन्दा बढी व्यवसाय र मनोरन्जन स्थलहरूमा उडान गरिरहेकाे छ ।
पर्यटकीय गन्तव्य विकासमा तीन अर्बकाे योजना निर्माण
हेटाैंडा । वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा पर्यटन क्षेत्रको भौतिक पूर्वाधार निर्माण र प्रवद्र्धनका लागि करिब रु तीन अर्ब खर्च गर्ने योजना निर्माण गरेको छ । प्रदेश सरकारले पर्यटन पूर्वाधारको विकास निर्माण, प्रचारप्रसारलगायतका कार्यमा उक्त रकम खर्च गर्ने योजना बनाएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु दुई अर्ब ८७ करोड ९५ हजारको योजना निर्माण गरी काम अघि बढाएको जनाएको छ । मन्त्रालयले यो वर्ष पर्यटन पूर्वाधार विकास कार्यक्रमका लागि मात्र रु एक अर्ब एक करोड ५३ लाख ९५ हजार छुटा्याइएको मन्त्रालयका योजना अधिकृत हेम पाठकले जानकारी दिए । त्यस्तै, स्थानीय पर्यटन प्रवद्र्धन कार्यक्रमका लागि रु ५९ करोड ७५ लाख विनियोजन गरिएको उनले बताए। प्रदेश सरकारले प्रदेशभित्रका दश पर्यटकीय गन्तव्य स्थान तोकेरै आवश्यक भौतिक पूर्वाधार विकास प्रक्रिया अगाडि बढाएको हो । मन्त्रालयले काठमाडौँ उपत्यका बाहेक दश जिल्लाका स्थान नै तोकेर एकीकृतरुपमा भौतिक पूर्वाधारको विकास गर्दै ‘एक जिल्ला एक नमूना पर्यटन गन्तव्य’ निर्माण गर्न लागेको मन्त्रालयका अधिकृत पाठकले जानकारी दिए । उनले दोलखाको सैलुङ, सिन्धुलीको हरिहरपुर गढी, काभ्रेको वासुकी थुम्का, नुवाकोटको ककनी, सिन्धुपाल्चोकका ब्रमायणी, धादिङको रुबी भ्याली, रसुवाको सोम्दाङ, मकवानपुरको दामन–चित्लाङ, चितवनको मेघौली र रामेछापको जिरी शिवालयलाई पर्यटकीय गन्तव्य निर्धारण गरिएको बताएका छन् । मन्त्रालयले सिधैं नतोकेर जिल्लाबाट छनोट गरेर पठाएका आधारमा पर्यटकीय गन्तव्य तोकिएकाले ती स्थानको मात्र भौतिक पूर्वाधारको विकास गरिने बताइएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा मन्त्रालयले छुट्टै कार्यक्रम लागू गर्ने जनाएको छ । मन्त्रालयले स्थानीय तहहरुसँग सहकार्य गरेर उपत्यकाको लागि विशेष योजना बनाउने तयारी गरेको छ । मन्त्रालयले एउटा पर्यटकीय गन्तव्यमा रु ५० करोड खर्च गर्ने योजनाअन्तर्गत प्रत्येक गन्तव्यमा हरेक वर्ष रु पाँच करोड खर्च गरी दश वर्षमा पूर्णता दिने योजना बनाएको छ । मन्त्रालयले पर्यटकीय गन्तव्य तोकेका चितवन, रसुवा र काभ्रे गरी तीन जिल्लाका पर्यटकीय गन्तव्य बाहेक अन्य सात जिल्लाका गन्तव्य स्थानमा ‘हिल स्टेशन’ निर्माणको काम शुरु गरिसकेको जनाएको छ । प्रदेशका हेटौँडा उपमहानगरपालिकासहित नगरपालिका र गाउँपालिकाले पनि आ–आफ्ना क्षेत्रका धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्व बोकेका पर्यटकीय गन्तव्यको पूर्वाधार विकास गर्ने कार्यक्रम आगाडि बढाएका छन् । रासस